प्रधानमन्त्रीज्यू ! मैले हार स्वकारें, तर…?

गएको २०७४ पुस २७ गते काठमाडौंमा ए.वी.सी. टेलिभिजनमा प्रस्तोता महेन्द्र भट्टराइले संवादका लागि यस पक्तिकार र उस वेलाका माओवादी सुरेस आले मगरलाई बडामहाराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन बोलाएका थिए । आलेजीसंग भेट होला भन्ने सोचेकै थिइनँ । सायद उनलाई पनि म त्यहाँ आउने बारे थाहा थिएन होला ।

कार्यक्रमको बहस गर्ने मुख्य एजेन्डा भनेको–“प्रधानमंत्री शेरबहादुर देउवाको सरकारले पृथ्वी जन्मजयन्तीलाई एकता दिवस मानेर राष्ट्रिय विदा दिनु ठीक थियो वा गल्ती थियो ? पंक्तिकारले ठीक हो र आलेजीले गल्ती हो भन्ने पक्षमा वकालत गरियो । पक्ष र विपक्षको सम्बाद–प्रतिवाद झन्डै झगडा पर्न लागेको पो हो कि जस्तै देखियो, पछि टेलिभिजनमा हेर्दा ।

आलेजीले बोलेका धेरै बुँदाहरु मध्ये उनले ठोकुवा गरेरै भनेका थिए कि ‘‘यो देउवा सरकारले पृथ्वी जयन्तीमा दिएको विदा हाम्रो माओवादी सरकार बनेको दिनको पहिलो निर्णय भै खारेज गर्ने छौं ।’’ “पंक्तिकारले प्रतिबाद गर्दै ‘‘हेरौंला ? यत्रा नेपालीको अगाडि कसरी खारेज हुँदो रहेछ ? मेरो फुर्ति चाहिं युरोपियन युनियनका पैसा नखाने करोडौं नेपाली र पृथ्वी नारायणको फोटो भित्तामा झुन्ड्याउने नेपाली सेनाको भरोसामाथि अडेको थियो, अनि माओवादी द्वन्द्व अगाडिका इतिहास लेख्ने, प्रा.डा.हरुमाथि रहेको थियो ।

त्यसको मतलब पृथ्वीनारायण शाह खोटा मोहर भएर पंक्तिकारले उनीहरुको भरोसा गरेको थिएन । उनी नेपाली कोहिनुर हीरा हुन, अमर सिपाही हुन अनि यो देश एकीकरण गर्ने अगुवा हुन् । त्योभन्दा ठूलो एकीकृत नेपालको पहिलो राजा हुन् । भन्न खोजेको कुरो के हो भने नम्बरी सुनलाई कसी लगाउनै पर्दैन । तर, पश्चिमाको पैसाका हरुवा–चरुवाहरुले पृथ्वी जयन्ती खारेज गर्दा पनि र माथि उल्लेख गरिएका जनता, संस्था र इतिहासकार कोही बोलेनन् । यो देशको लागि अशुभ हो ।

नेपालले राष्ट्रिय एकताको प्रतीक व्यक्तित्वलाई गुमाउनु र जातीय, क्षेत्रीय र स्वतन्त्र मधेस राज्यको परिकल्पनाकारहरुको बर्चस्व बढ्न सायद नेपाल वि.सं.१८०१ साल अर्थात् बाइसे–चाबीसे राज्यकालमै फर्किन लागेको सूचक देखिन्छ । प्रष्टै थाहा छ, नेपालका शाह वंशीय हिन्दू राजाहरु त्यसमा पनि अंग्रेज र क्रिस्चीयनहरुका विरोधी चट्टान जस्ता पृथ्वी नारायण शाहको इतिहास माटो मुनी नपुरी अनि उनका सालिकहरु ढालेर खरानी नबनाइकन पश्चिमाहरुले नेपालमा जातीय र धार्मिक लडाई सुरु गर्न असम्भव नै छ ।

त्यसका लागि (केही बाहेक) नेपाली सांसद, न्यायाधीश, नेता, विज्ञ, प्राज्ञ, मंत्री, प्रधानमंत्री र तिनका परिवारलाई सजिलै संग पश्चिमाले लगानी गरेका छन् । बन्दुक र गोली नवोकेका तर जातिय क्षेत्रीय र धार्मिक लडाई लडाउने घातक पश्चिममा नाइकेहरु आइएनजीओ, यूनडीपी, नेपालस्थित राज दूतावासका नाममा छद्मभेषमा नेपालमा शासन गर्दैछन् । तिनकै नेपाली हरुवा–चरुवाहरुले देशको भाषा, संस्कार, संस्कृति र इतिहासलाई माटोमुनि हालिरहेका छन् ।

अर्को शब्दमा भन्नु पर्दा पंक्तिकार नेपालका राजाहरुको वकिल होइन । तर, नेपालको इतिहासको जानाकार पक्कै हो । यो देशका इञ्चइञ्च माटोमा देशका लागि को नेपाली मरे, कसरी र कसको नेतृत्वमा यो नेपाल बन्यो र बच्यो भन्ने विषयमा दुविधा छैन । हरेक देशको राष्ट्र पिता–राष्ट्र माता हुन्छन् नै । त्यो ेदेशको एकताका लागि हो । नेपालका केही नेताहरुले पार्टी कार्यालय र घरघरमा कार्लमार्कस, लेनिन, स्टालिन, माओ जस्ता विदेशीको फोटो राखेर पूजा गर्छन् । ती विदेशीले नेपालमा के गरेको थिए त ? अनि ती राजनैतिक दल र नेतालाई के दिएका थिए त ? नेपाली भएर ती विदेशीका फोटा झुन्ड्याउनु देशको अपमान भएको ठान्दछु ।

किन लाज मान्ने पृथ्वीनारायण, काजी भीम मल्ल, जय प्रकाश मल्ल, विसे दमाई (नगर्ची) भेषा सिंह, महमद टाकी, शिवराम सिंह बस्न्यात, भक्ति थापा, अमर सिंह थापा, रन्जित थारुलगायतका अज्ञात अन्य बीरहरुको फोटो झुन्ड्याउन र सालिक राख्न ? सोझा नेपालीलाई झुक्याउने जात्रा बन्द गरे बेस हुनेछ ।

त्यही मार्कस, लेनिन, माओको फोटो झुन्ड्याएर नै नेपालमा १७ हजार भन्दा नेपाली मारिए । अर्को शब्दमा भन्नु पर्दा यो देश बगैंचा हो । बगैंचाको जोहो गर्ने जति सबै चोर । ऐले बगैंचामा राम्रा नराम्रा पूmल रोप्ने मात्र यो माटोको ठेकेदार हुने ? देशको लागि गुन गर्ने राजा, सेना, जनता, व्यापारी, धर्म गुरु, राजनीतिज्ञ सवैलाई नेपाली भएर सम्मान गरौं ।

अहिलेको गतिमा नेपाल गुड्ने हो भने काठमाडौंको टुँडिंखेलमा पूmलपाती, घोडे जात्रा र शिवरात्रीको बढाई रोकिने छ र त्यहाँ भ्याटिकनबाट पोप महोदयको सवारी हुनेछ । पश्चिमाको ग्य्रान्ड डिजाइनमा वि.सं.१८०१ साल अगाडि कै नेपाल हुनेछ । अनि यहाँका स्वघोषित शोषित जनजाति भन्नेहरुले गाउँ–गाउँ टोल–टोलमा राजा भएर राज्य गर्न पाउनेछन् । घरैपिच्छे मानव अधिकार र आइएलओको धाराहरु पानीको धारा जस्तै बग्नेछन् ।

त्यो बखत पश्चिमाका हरुवा–चरुवाहरुको जीत हुनेछ । तर, सिंगो नेपालको हार हुनेछ । उदाहरणका लागि घर बनाउन वर्षदिन लाग्यो भने घर डढाउन र खरानी पार्न २÷४ घण्टा मात्र लाग्दछ । नेपालमा पृथ्वी नारायणलाई मात्र होइन २०६२÷६३ साल अगाडिका नेपालका ऐतिहासिक पात्र तथा इतिहासलाई समेत कालो मोसो दलिइएको छ ।

ती मिति पछाडिका राजनैतिक नेताका बोली नै इतिहास, उनीहरुनै नेपालका ठेकेदार बनेका छन् । दुःखको कुरो इतिहास विग्रदा पनि नेपालका इतिहासकार भन्नेहरुको मुखमा बुजो लागेको छ । अनि सही इतिहास लेख्ने कलम भाँचिएको छ । यी राजनैतिक दलका झोले प्राज्ञ भएका छन् । काल्पनिक कहानीमा राष्ट्रिय विभूति र शहीद बनाइएका छन् । प्रायजसो नेता र नेतृका सन्तान लखनौका नवाव बनेका छन् । उनकै श्रीमती र श्रीमानको नाममा राष्ट्रको धनवाट सालिक, अध्ययन प्रतिष्ठान र बाटोघाटो बन्दैछन् । लुटको धनमा फूपूको श्राद्ध गरें पनि यो देशको इतिहास नमेटियोस् ।

हो, यो देशमा हाम्रो इतिहास हाम्रो गौरव भन्ने पुस्ता सकिनै लागे । नक्कली इतिहास सुनेका र सुनाउने नेता, प्राज्ञ, विज्ञले देश भरिएको छ । अरुको त के कुरा नेपाली सेनाबाट रिटायर्ड प्रधान सेनापतिहरु, जर्नेलहरु, अधिकृतहरु, अनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनय राष्ट्र सेवक रिटायर्ड कर्मचारीहरु समेत चुप छन् ।

उस बेला देश र नरेश भनेर तिग्रा पिट्ने र छाति ठोक्ने ऐले किन बोल्दैनन् । नरेश पाखा लागे पनि देश त छ नि ! देशको इतिहास मासिदा यी पात्रहरु चुप छन् । अर्को आश्चर्य त नेपाल एकीकरण र नेपाली सेनाको संस्थापक पृथ्वीनारायण शाह हुन् भनेर गाना बजना गर्ने नेपाली सेनासमेत पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस खारेजी हुँदा मौन रहनु यो शुभ संकेत पक्कै होइन ।

यसको मतलब संवैधानिक सरकार ढाल्नु पर्छ र सेनाले राज गरोस् भन्ने अर्थ नलागोस् । सैनिक इतिहास र अन्ततः नेपालको इतिहास मासिंदा रमिते बन्नु दुःखको कुरो हो । सैनिक अंगहरुमा रहेका र राज्य सत्ताले हेलाहा गरेका पृथ्वीनारायणको तस्बिरहरुलाई हटाइ दिएमा बरु उनको आत्माले शान्ति पाउने छ भन्ने पंक्तिकारको विश्वास छ । त्योभन्दा संगीन कुरो त राष्ट्र, राष्ट्रिय र सार्वभौमिकताको बारेमा वकालत गर्ने हिजोको नेकपा (एमाले)ले कथनी र करणीमा फरक गरेको छ ।

अस्तिका चुनावमा जनताको भोट पाएर पहिलो दल बनेपछि भने त्यही पार्टीका प्रधानमंत्री र मंत्रिमंडलले माओवादीहरुको बुई चढेर पृथ्वी जयन्तीलाई खारेज गरेको छ । आफ्नो राजनैतिक दललाई आर्थिक लाभ दिने आइएनजीओहरुलाई खुसी बनाएको छ । सत्ता र कुर्सी क्षणिक हुन । तर, इतिहास अमर रहनेछ । एमालेको लागि यो काम अशोभनीय बनेको छ ।

अबको दिनमा एमालेमा यस्ता काम बाध्यताबस अझै बढ्ने छन्, बढिरहेका छन् । त्यसमा पनि के.पी.शर्मा ओलीजीले लगाउनु भएको राष्ट्रवादको खोल विस्तारै “बादशाहका नयाँ लुगा अर्थात् इम्परर्स न्यू क्लथ” बन्दैछ । हो अस्ति गएको पृथ्वी जयन्तीमा सुरेश आलेजीसंग गरेका प्रतिवादमा उनको जीत भएको छ ।

पृथ्वी जयन्तीको विदा खारेज भएको छ । मैले हार स्वीकारेको छु । तर, यो विदा खारेजी गरेर मेरोभन्दा हिजोको एमाले पार्टीको ठूलो हार भएको छ । निबुवा र कागतीको कलमीबाट न त खाठी निबुवा न त कागती नै फल्दछ । हिजोको एमाले आज त्यस्तै कलमी गरेको बोट भएको छ । जनताले विश्वास गरेर मत दिएको हिजोको एमाले जनताको मन रुवाउने काम गरेर झालेमाले चाहिं नबनोस् । यही शुभ कामना

(Dr Basnyat is Brigedier General ( Retd) and Guest professor of Leshan Normal University, China )

शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार