नेकपाले २२० सदस्यीय सल्लाहकार परिषद् बनाउने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले २२० सदस्यसम्मको सल्लाहकार परिषद् बनाउने भएको छ । केन्द्रीय कमिटीमा काम गरिसकेका अनुभवी नेतालाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् बनाउने गरी नेकपाले विधान तयार पारेको हो ।

केन्द्रीय कमिटीको ५० प्रतिशत नबढ्ने गरी अध्यक्ष, सचिव र सदस्य रहेको परिषद् बनाउने विधानमा उल्लेख छ ।

विधानको धारा–२५ मा भनिएको छ–‘केन्द्रीय कमिटीले आफ्नो कूल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी अध्यक्ष, सचिव र सदस्यसहित आफ्नो तहको सल्लाहकार परिषद् गठन गर्न सक्नेछ ।’ नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ ।

परिषद्ले केन्द्रीय कमिटीलाई विभिन्न विषयमा सल्लाह, सुझाब दिने अधिकार विधानमा प्रस्ताव गरिएको छ । प्रदेश र जिल्ला कमिटीमा पनि केन्द्रकै जस्तो सल्लाहकार परिषद् बनाउन सक्नेछन् ।

यस्तो छ अध्यक्ष र सचिवको मर्यादा नेकपाले सल्लाहकार परिषद्का अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्यसरह हुने गरी विधान बनाएको छ ।

त्यस्तै, सचिवको मर्यादा पोलिटब्युरो सदस्य र सदस्यको मर्यादा केन्द्रीय सदस्यसरहको हुनेछ । अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकमा भाग लिन पाउनेछन् ।

सल्लाहकार कमिटीमा पनि एकीकरण

तत्कालीन एमाले र माओवादी केन्द्रको सल्लाहकार कमिटीलाई पनि एकीकरण गरेरै नयाँ केन्द्रीय सल्लाहकार परिषद् बनाउने नेकपाको तयारी छ । तत्कालीन एमालेले ६० जनाभन्दा बढीको सल्लाहकार परिषद् बनाएको थियो ।

परिषद्मा केशव बडाल अध्यक्ष छन् । माओवादी केन्द्रमा १ सयभन्दा माथिको सल्लाहकार कमिटी छ । नन्दकुमार प्रसाईं अध्यक्ष छन् । नेकपाले केन्द्रीय कमिटी बैठकबाट सल्लाहकार मिलाएर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने विधानमा उल्लेख छ ।

‘केन्द्रीय कमिटीमा नपर्नुभएका तर, सल्लाहकार रहनुभएका साथीहरूलाई मिलाएर विधानले व्यवस्था गरेबमोजिमको कमिटी बन्नेछ,’ तत्कालीन एमाले सल्लाहकार परिषद्का अध्यक्ष बडालले भने, ‘नियमावली प्रकाशन भइसकेपछि केन्द्रीय कमिटीको निर्णयअनुसार सल्लाहकार परिषद्मा पनि एकीकरण हुनेछ ।’

बुढा नेताहरुको जेष्ठ मञ्च बनाइने

नेकपाले विधानको धारा २६ मा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीले अध्यक्ष, सचिव र आवश्यक संख्यामा सदस्यसहित ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विधानमा उल्लेख छ ।

मञ्चका पदाधिकारी एवं सदस्यलाई आफ्ना अनुभवद्वारा युवा पुस्तालाई प्रशिक्षित र उत्प्रेरित गर्ने अधिकार दिइएको छ । मञ्चका अध्यक्षको मर्यादा पोलिटब्युरो सदस्यसरह र सचिव तथा सदस्यहरूको मर्यादा केन्द्रीय कमिटी सदस्यसरह हुने भनिएको छ ।

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार