प्रधानमन्त्री ओलीले स्वीकारेको घेराबन्दी ! अब तोड्ने कसरी ?

विश्वमा तानाशाही प्रवृत्ति दुई किसिमले बढ्ने रहेछन् । सैद्धान्तिकरुपले नै एकदलीय पद्दती, खासगरी कम्युनिष्टहरुले अपनाउँदै आएका छन् ।

एकदलीय पद्दतिमा मान्छेहरुले सजिलै सत्ताको आलोचना गर्न सक्दैनन् । सबैभन्दा बढी यो प्रवृत्ति रुसमा स्टालिनका पालामा आयो । अरुतिर पनि कम्युनिष्ट शासनमा यस्तो धेरथोर मात्रामा छ । चीनमा एकदलीय भए पनि अलि उदार आएको छ । तर, नेपालको बहुदलीय पद्दतिजस्तो चीनमा जे मन लाग्यो त्यो भन्न पाइँदैन । यो एउटा सैद्धान्तिक पद्दतिको अधिनायकवाद एक किसिमले आउने रहेछ ।

मैले अर्को के देखेको छु भने लोकतान्त्रिक काइदामै चलेका मान्छेहरु निजी महत्वाकांक्षा बढ्दै गएपछि अधिनायकवादतर्फ जाँदारहेछन् ।

अधिनायकवादको स्रोतः ओलीको महत्वाकांक्षा

एमाले कम्युनिष्ट पार्टी हुँदाहुँदै पनि बहुदलीय पद्दतिमा आयो, अहिले माओवादीसँग एकता भएको छ र देशको सबैभन्दा ठूलो पार्टी भयो । तर, केपी ओली र प्रचण्डहरुमा महत्वाकांक्षा बढ्दै आएको छ ।

उनीहरुमा महत्वाकांक्षा चरमचुलीमा बढेको हुनाले आफूभन्दा बाहिरका त परै छाडौं, आफ्नै पार्टीभित्रका सहयात्री पनि अलिकति आलोचनात्मक सोच राख्नेहरुप्रति सहमतै नहुने प्रवृति देखिएको छ ।

सहमति कोसँग हुने भन्दाखेरि आफ्नो स्तुति गाउने जुनियर टीम, जो आफूले जे भन्यो, त्यही मान्छ । त्यस्ताहरुसँग लाडप्यार हुने तर आफ्नो आलोचना गर्नेसँग आन्तरिकरुपमै असहमति राख्ने नेकपाभित्र प्रवृत्ति बनेको छ । खासगरी ओलीजीमा यो प्रवृत्ति बढ्दै आएको छ ।

सैद्धान्तिकरुपले पनि ओलीजीलाई तानाशाही बन्न अलि सजिलो छ । अरु कम्युनिष्ट देशजस्तै त होइन, तर अलि सजिलो छ । त्यसमा पनि उनको व्यक्तिगत महत्वाकांक्षा बढेर आएको छ । उनले जे मन लाग्यो, त्यही बोल्न थालेका छन् ।

जस्तो- संसदबाटै पुस १६ गते पानीजहाजमा चढ्ने निम्तो दिए । त्यो सम्भव छ कि छैन ? यसमा कसले प्रश्न गर्ने ? पुस १५ गते पानीजहाज चलाउने योजना कसले बनायो ? प्राविधिक कसले त्यसलाई पुष्टि गर्‍यो ? काम के-के सुरु भयो ? यो प्रश्न त कसैले गर्नैसक्दैन । यसरी मनमा जे लाग्यो, त्यो भन्दै जाँदा महत्वाकांक्षा चरमचुलीमा पुगेको छ ।

अहिले जुन चिकित्सा विधेयक आएको छ, यदि पहिलेको अध्यादेशमा गल्ती नै थियो भने, त्यसलाई किन ‘रिपिट’ गरेको ? त्यसलाई रिपिट नै गर्नु हुँदैनथ्यो, ‘क्यान्सिल’ गर्नुपथ्र्यो । आफैंले रिपिट गर्ने अनि आफैंले संशोधन गरेर हिजोका मूलभूत कुराहरुलाई छाडेर अगाडि जाने जुन विधेयक ल्याइयो, त्यसले समस्या लिएर आयो ।

जस्तो- निशेधित क्षेत्र तोक्ने । निशेधित क्षेत्र तोक्नु राम्रो हो । तर, यही विषयमा प्रतिपक्ष नेपाली कांग्रेसलाई बोलाएर निशेधित क्षेत्र कहाँ राखौं, कहाँ नराखौं भनेर सल्लाह गरेको भए के हुन्थ्यो ? त्यो पनि यो वषर्ायामको बेला, कुनै आन्दोलनै थिएन ।

यसरी ओलीजीमा महत्वाकांक्षा बढ्दै आएको छ र त्यही महत्वाकांक्षाका कारण अधिनायकवादी सोच बढ्दै आएको छ । अहिले नेकपाका नेताहरुमा, खासगरी ओलीजीमा यो प्रवृत्ति अति बढेको छ ।

तपाई देख्नुहुन्छ, मन्त्रिमण्डलमा उहाँले सप्पै जुनियर मान्छेहरुलाई राखिएको छ । ती जुनियर पनि प्रखरखालका छैनन् । लागेका कुरा भनिहाल्ने योगेश भट्टराई, घनश्याम भुसाल, यसखालका मान्छे त त्यहाँ परेनन् ।

त्यहाँ विरोध भए पनि चुप लाग्ने अथवा थाहै नपाउनेखालको मण्डली बनाइसकेपछि त्यसबाट पार्टीभित्रकै अधिनायकवाद सुरु भएको छ । यसले बाहिर पनि प्रभाव पार्छ ।

पार्टीमा हिजो केपी ओली निकै निरीह थिए । स्वाट्टै माथि आएपछि उनलाई के लाग्यो भने हर व्यक्तिले मलाई हेप्छ । केपी ओलीमा यसप्रकारको हीनतावोध छ । यही हीनतावोधले उनलाई महत्वाकांक्षी बनायो ।

ओलीजीको निजी कुरो भन्ने हो भने उनीभित्र हीनतावोधको यति ठूलो पेटारो छ, त्यसले उनलाई महत्वाकांक्षी बनाएको छ । किनभने हर मान्छेले मलाई हेप्छ भन्ने उनलाई लाग्छ । आफूसँगका समकक्षी र आफूभन्दा सिनियर नेताहरुले हेप्छन् भन्ने भइसकेपछि त्यसलाई हेप्ने नहुनका निम्ति त त्यो भन्दा अजंग हुनुपर्‍यो । यो मेरो साथी हो भन्नुको साटो यसले मलाई हेप्छ भन्ने ठानिसकेपछि यसलाई दबाउनुपर्‍यो । यो प्रवृत्ति ओलीजीमा अगाडि आयो ।

केपीले अंगालेको पार्टीको सिद्धान्तले त्यति धेरै निरंकुश हुने बाटो दिँदैन । तर, उनको निजी हीनतावोधले गर्दा उनमा दिनदिनै निरंकुशता बढ्दै आएको छ ।

प्रधानमन्त्रीले स्वीकारेको ‘घेराबन्दी’

अहिले १५/२० दिनयता सरकार घेराबन्दीमा पर्दैछ । केपी ओली आफैंले पनि स्वीकारे । यसरी सरकार घेराबन्दीमा पर्दैछ भनेर उनी आफैंले स्वीकारेपछि घेराबन्दी तोड्न के गर्नुपर्छ त ? यसको योजना चाहियो नि । घेराबन्दीमा परेको ओलीले स्वीकारे । उनी घेराबन्दीमै छन् ।

एकपछि अर्को नचाहिने-नचाहिने इस्यु प्रधानमन्त्री आफैंले उठाउँदै आएका छन् । उनका विकासका अभियानहरु ५/१० वर्ष पछाडिका छन् । उनले पानीजहाजको कुरा गरुन् या रेलको कुरो गरुन्, ती पाँच वर्ष यता धेरै जनताले बुझ्ने गरी आउने ठाउँमा छैनन् ।

अहिलेको समस्या भनेको बाटोको हिलोदेखि लिएर जनजिविकाका समस्या हुन् । अस्ति भाषण गरेे, अब बाढीमा कोही मान्छे बग्ने छैनन् । चिसोमा कठांगि्रएर मर्ने छैनन् ।

तर, अहिले बाढीले मान्छे बगाएको बगाएकै छ ।

होला, बाढी प्रधानमन्त्रीकै कन्ट्रोलमा हुँदैन । तर, नचाहिँने-नचाहिँने फुटानी किन लाउनु ? यसले त मान्छेमा आश्वासन दिने अनि निराश बनाउने काम गर्छ । ठूला कुरा गरेपछि मान्छेमा आश्वासन भरिन्छ अनि पूरा नभएपछि निराशा हुन्छ । त्यो निराशाले विरोध सुरु गर्छ ।

यही भएर म के देख्छु भने प्रधानमन्त्रीले आफैं आफ्नो विरोधको स्वर चर्को बनाउँदै आएका छन् । यो. कुरा उनले म घेराबन्दीमा परेको छु भनेर बालुवाटार बैठकमा रियलाइज गरेको देखिन्छ । तर, रियलाइज गरिसकेपछि र त्यो घेराबन्दी तोड्ने उपाय खोज्नुपर्‍यो नि । तर, उपाय खोज्दैनन् । यसो गर्दा झन ठूलो घेराबन्दीमा परिन्छ ।

अहिले हेर्नुस् त निशेधित क्षेत्रका बारेमा उनले एउटा कुरा बोले, अदालतले अर्को कुरा बोल्दियो । यसले गर्दा साना-साना कुराले पनि ओली अप्ठ्यारोमा पर्ने स्थिति आयो । यो सबै उनमा बढेको अहमको परिणाम हो । अहमले नै उनलाई दिनदिनै अप्ठ्यारोमा पार्दैछ ।

घेराबन्दी तोडने उपायः कांग्रेससँग सहकार्य

म त के देख्छु भने अहिले कांग्रेस र कम्युनिष्ट मिलेर उनीहरुले विगतमा ल्याएका विकृतिहरु हटाउन लाग्नुपर्छ । एक्लै वामपन्थीले मात्रै विकृति हटाउँछु भन्यो भने कांग्रेस त्यसको विरोधमा जान्छ । अनि तनाव सुरु हुन्छ । त्यसैले कांग्रेस र कम्युनिष्ट दुईटैले हातेमालो गरेर अगाडि जाने वातावरण बनाउनुपर्‍यो । सबै समस्याहरुलाई कांग्रेस कम्युनिष्ट दुबैले हातेमालो गरेर हटाउनुपर्‍यो ।

किनभने, अहिले आएका जतिपनि विकृतिहरु छन्, कांग्रेस र कम्युनिष्ट दुईटैले अभियानका रुपमा भित्र्याएका हुन् । हिजो कांग्रेस र कम्युनिष्ट दुईवटै पक्ष भएर बिगारेको स्थिति छ । कर्मचारीतन्त्रमा राजनीतिकरण गर्नेदेखि लिएर सारा कुराहरु कांग्रेस र कम्युनिष्ट दुईवटै मिलेर बिगारेका हुन् । आज त्यसलाई सुधार्न पनि दुईटैको सहमति चाहिन्छ । एक्लै सुधार्न खोज्यो भने अर्कोले निरंकुशता भन्छ ।

जस्तो- अहिले शिक्षामा जुन राजनीतिक बहाव छ, त्यसलाई कम्युनिष्टले मात्रै रोक्न खोज्यो भने त्यहाँ पनि समस्या हुन्छ । त्यो हिजो दुईवटै पार्टी मिलेर शिक्षाको परिवेश बिगारेका हुन् । कर्मचारीको परिवेश बिगारेका हुन् । त्यसैले यस्ता कुराहरु सच्याउन दुबै पक्ष मिल्नुपर्छ, सरकारले प्रतिपक्षलाई पनि मौन समर्थन गर्न बाध्य बनाउनुपर्छ । यसो गरेको भए यो निरंकुशता हाबी हुने प्रश्नै उठ्दैनथ्यो ।

पार्टीभित्रै पनि यसबारे छलफल गरेर आफ्ना सहयात्रीहरुसँग हातेमालो गरेर अगाडि जान सक्नुपथ्र्यो । त्यसदेखि बाहेक प्रतिपक्षसँग पनि खास मुद्दाहरुमा सहमति बनाएर अगाडि जानुपर्ने हुन्छ । यसो नगर्दा परिस्थिति भड्किन्छ भन्ने कुरा बुझ्नुपर्छ । तर, यसो नगरी मैले जे भन्छु, त्यही हुन्छ भनेपछि त त्यो त एक किसिमको निरंकुशतै भो नि ।

अहिले नेकपासँग जुन बहुमत छ, यो त शासनको एउटा विधि र प्रक्रिया हो । आम मानिसलाई सहमतिमा नलिई सरकार सफल हुन सक्दैन । जस्तो- अहिले कर्मचारीकै कन्ट्रोल गर्ने कुरा सत्ताले उठायो भने सक्दैन । यसबाट विरोधमा जाने मान्छेहरुलाई सजिलो हुन्छ ।

त्यसैले हिजो २०/२२ वर्ष बहुदल लागेपछि कांग्रेस र कम्युनिष्ट दुईवटै पक्षले धेरथोर विकृति समाजमा ल्याएका छन्, त्यसलाई हटाउन जसको बहुमत आए पनिप्रतिपक्षसँग हातेमालो गरिएन भने देशका समस्या सजिलै समाधान हुँदैनन् ।

मेरो दुई तिहाई भन्ने अहम र म एशियाकै नेता हुँ भन्ने फुटानीले सरकार अगाडि जान सक्दैन ।

नेकपाभित्र ओली भर्सेस प्रचण्ड

अब नेकपाभित्र झगडा सुरु हुन्छ । अब त्यहाँ दुईवटा रेखाहरु कोरिन्छन् । एउटा ओलीपक्षीय र अर्को ओली विपक्षको रेखा कोरिन्छ । त्यहाँ अब पश्चिमीहरुले प्रभावित पारेको एउटा ब्लक बन्छ । युरोपियनहरु र क्रिश्चियनहरुको प्रभावमा परेको एउटा टीम बन्छ । त्यसको खिलाफमा अर्को टीम बन्छ ।

अनेकौं कारणले केपी ओली इण्डियाको नजिकमा गएर पश्चिमाको पर जान खोज्छन् । इण्डियाले पनि उनलाई कति पत्याउला थाहा छैन । तर, पश्चिमा र नन पश्चिमाको वीचमा नेकपाभित्र अब एउटा रेखा कोरिँदैछ ।

पश्चिमाहरुको नेतृत्व भनेको त्यहाँ प्रचण्डले नै गर्ने हो । माधव नेपालजी त प्रचण्डको पछि नै हिँड्ने हुन् । माधवजी कता गएर आफूलाई फाइदा हुन्छ भनेर कहिले यता, कहिले उता गरेर अवसर खोज्दै हिँडेका छन् । अन्ततः उनको ठाउँ भनेको प्रचण्डकै कित्तामा हो । वामदेव गौतमजीको मलाई लाग्छ, त्यतिमाथिको पोजिसन हुँदैन । तर, जहाँ माधव त्यहीँ वामदेव हो ।

केपी ओलीको अहिले पार्टीमा तलदेखि माथिसम्म जुन पकड बनेको छ, माथिका नेताहरु केपीसँग अहिले तीन/चारजना मात्रै छन् । अब सुवास नेम्वाङ नै कहाँ आँप फल्ने हो, त्यो टिप्न कुदेका कुद्यै छन् ।

मलाई लाग्छ बाहिर हेर्दा जति सजिलो छ, स्थिति त्यति सजिलो छैन ।

(पूर्वएमाले नेता मैनालीसँग कुराकानीमा आधारित)

आइतवार, असार २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार