गंगामायाका छोरा हत्या आरोपित छविलाल पौडेलले गरे आत्मसमर्पण

काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका अभियुक्त छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। आत्मसमर्पणपछि पौडेललाई सर्वोच्चले कानुनी प्रक्रिया पुर्‍याएर सदरखोर डिल्लिबजार चलान गरेको छ।
सर्वोच्चको २०७२ साल पुस ६ गते पौडेललाई थुना आदेश भएको हो। त्यसपछि उनी फरार थिए। आफ्ना छोरा अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी यतिबेला वीर अस्पतालमा निराहार आमरण अनसनमा छन्।एसएलसी दिएर चितवनमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न गएका १८ वर्षीय कृष्णप्रसादलाई २०६१ जेठ २४ गते माओवादीले हत्या गरेको थियो। अभियोगपत्रमा मुख्य योजनाकार भनिएका अर्का अभियुक्त रुद्र आचार्यलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी भएको छ। उनी बेलायतमा लुकेर बसेका छन्। आत्मसमर्पण गरेका पौडेलले अब थुनामा रहेर उनीविरुद्ध चलेको मुद्दाको पुर्पक्ष गर्ने छन्।

आइतवार, असार २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार