फेरीएकाे परिचय – पहिले कुलमान अहिले सारा नेपाललाई उज्यालाे बनाउने ‘पहलमान’

काठमाडौं/ डेढ बर्ष भन्दा लामो समयदेखि सर्वसाधारणले लोडसेडिङको पीडा खेप्न परेको छैन । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङको नियुक्तिपछि यो सम्भव भयो ।

एक हिसाबले कुलमान नेपालका सेलिब्रिटी बनिसकेका छन् । उनका प्रशंशकमात्र छन्, विरोधी त अँध्यारो नेपाल चहानेमात्र हुन् । उनै कुलमानको यो क्रियाशीलता कसरी सम्भव भयो ?

रामेछापको बेथान गाउँको एउटा सामान्य परिवारमा जन्मिएका कुलमानको बाल्यकाल अभावमै गुज्रियो ।

पढाइमा भने उनी बाल्यकालदेखि नै तेज थिए । प्रायःजसो उनी प्रथम हुन्थे। त्यसैकारण पनि होला कक्षा एक र दुई एकै वर्षमा उनले पूरा गरे। र, कक्षा तीन नपढी उनी चारमा उक्लिए ।

त्यसपछि उनी काठमाडौं आए । कक्षा छ नपढी उनी सातमा भर्ना भए । र, पनि नतिजामा कुनै भिन्नता देखिएन अर्थात् फेरि पनि उनी प्रथम नै भए ।

पढाइप्रति उनको लगाव र क्षमताका कारण शिक्षकहरूले निजी विद्यालयमा भर्ना हुन प्रेरित गरे । निजी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराइने हुँदा कक्षा पाँचमा भर्ना हुन उनलाई सुझाइयो ।

‘तर मैले मानिनँ। पुरानै विद्यालयमा फर्कन्छु भनेपछि कक्षा आठमा भर्ना भएँ,’ कुलमानले भने, ‘यहाँ पनि प्रथम नै भएँ ।’एसएलसी परीक्षामा ‘उत्कृष्ट १०’ मा पर्न झिनो अन्तरले उनी वञ्चित भए ।

अमृत साइन्स क्याम्पसमा अध्ययन सकेर उनी भारतमा इन्जिनियरिङ पढ्न गए । पुल्चोक इन्जिनियरिङ क्यामपसमा ‘ऊर्जा व्यवस्थापन’ मा उनले स्नातकोत्तर गरे । पछि एस इन्स्टिट्यूट अफ म्यानेजमेन्टबाट उनले इएमबीए पनि गरे ।लोकसेवा आयोग र नेपाल वायु सेवा निगममा समेत नाम निकाले पनि उनले कर्मथलोको रूपमा प्राधिकरण नै छाने ।

र, २०५१ सालमा सरकारी सेवामा उनी प्रवेश गरे। प्राधिकरणमा पनि उनले पढाइको क्रममा मारे जस्तै छलाङ मार्न सफल भए जसका कारण आफूभन्दा अग्रजलाई समेत पछि पार्दै प्राधिकरणको शीर्षस्थ नेतृत्वमा उक्लन उनी सफल भए ।

विद्यार्थी जीवनदेखि नै एकपछि अर्को फड्को मार्न सफल कुलमानले प्राधिकरणमा काम गर्दा मारेको महत्वपूर्ण छलाङ भनेको २०६७ सालमा पाएको चिलिमे जलविद्युत् आयोजनाका प्रमुखको जिम्मेवारी रहेको उनीबारे जानकार बताउँछन् ।

चिलिमेमा उनले देशमै पहिलोपटक जलविद्युतको सेयर सर्वसाधारणका लागि जारी गर्ने काम गरे जसले उनलाई चर्चामा पुराएको थियो ।

शेयर मात्र नभएर उनले स्थानीयवासीबाट बटुल्न सफल भरोसा र विना ढिलासुस्ती आयोजनासम्बन्धी काम बढाएका कारण पनि उनको चिलिमे कार्यकाल निकै सफल रहेको भनाइमा जानकारहरूको एकमत छ ।

रसुवा जिल्लास्थित आयोजनामा शुरूमा बोर्ड डाइरेक्टरका रूपमा प्रवेश गरेका कुलमानपछि आयोजनाका कार्यकारी निर्देशक नै बन्न सफल भए ।
चिलिमेमा कुलमानले प्राप्त गरेको ख्याति यस्तो थियो कि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमेबाट केन्द्रमा फिर्ता बोलाउँदा स्थानीयवासी आन्दोलनमै उत्रेका थिए ।

मन्त्री ज्ञवालीले उनलाई केन्द्रमा तानेपछि केही समय ओझेलमा परेको ’करियर’ लयमा आउन धेरै समय लागेन । उनले भने, ‘समयको उचित व्यवस्थापन गर्न सकिएन भने केही गर्न सकिँदैन। यो सबैभन्दा महत्वपूर्ण काम हो ।’

कुलमान हरेक दिन बिहान ९ बजेभन्दा अघि कार्यालय पुगिसकेका हुन्छन् । हरेक दिन ३ बजेपछि मात्रै सर्वसाधारण तथा आगन्तुकलाई भेट्छन् ।
कुनै पनि बेला उनको खोजी गर्दै आउन सक्ने सांसद लगायत अन्य विशिष्ट व्यक्तिलाई उनी चलाखीका साथ सम्हाल्छन् ।

कार्यालय समयपश्चात् सदर गर्नुपर्ने काजजाततर्फ उनको ध्यान जान्छ। कुनै एउटा दिन ३० देखि ४० वटा दस्तावेजमा हस्ताक्षर गरेको सम्झँदै उनी भन्छन्, ‘साँझ ८–९ बजेसम्म म लगायत टोली कार्यालयमै हुन्छौँ ।’

कार्यालयमा भेटघाटका लागि आउने जो कोहीलाई उनको कार्यकक्षसम्म पुग्न सम्भव छैन । पहिलो तलामा रहेको ‘हेल्प डेस्क’का कर्मचारीले बायोमेट्रिक प्रविधिबाट खुल्ने ढोका खोलेपछि बल्ल पहिलो तलामा रहेको उनको कार्यकक्ष पुग्न सकिन्छ ।

‘ढोका खोल्ना साथ लाम लागेका आगन्तुकहरूलाई पन्छ्याउन गाह्रो भएपछि तल्लो तलामै रोक्नुपरेको हो । भेटघाटका लागि धेरै समय छुट्याउँदा गाह्रो पर्ने हुँदा यस्तो गर्नुपरेको हो,’ उनले भने।

सफलताको शिखरमा रहेका कुलमानका अगाडि चुनौतीको कमी भने छैन । उनको कार्यकाल सकिन लगभग दुई वर्ष बाँकी रहँदा कामको थुप्रो बढ्ने क्रममा छ । कुलमानको आफ्नै भनाइमा उनले पालेको महत्वाकाक्षाकै कारण चुनौतीको चाङ्ग अझै थपिने क्रम जारी छ।

आगामी दिनमा मुलुकका लागि सबैभन्दा महत्वपूर्ण कार्य र प्राधिकरणका लागि चुनौती भनेको मुलुकभित्र उत्पादित ऊर्जाको खपत बढाउनु हो ।

आगामी पाँच वर्षमा मुलुकभित्र ऊर्जा खपत प्रतिव्यक्ति इकाई ७०० र १० वर्षमा प्रतिव्यक्ति इकाई १,५०० पुराउने लक्ष्य सरकारले लिएको छ ।
हालका दिनमा प्रतिव्यक्ति इकाई करिब २०० को हाराहारीमा रहेकाले ऊर्जा खपत बढाउन सहज भने छैन।

उनको कार्यकालमा थुप्रै उपलब्धि हासिल भए पनि प्रसारणलाइन लगायतका पूर्वाधार विकासका कार्यमा भने सोचे अनुरूप प्रगति हासिल हुन सकेको छैन ।
त्यस्तै आफ्नो कार्यकालमा प्राधिकरणलाई एउटा स्तरमा ल्याएका कुलमानका लागि उनले गरेको काम र भावी योजना कार्यान्वयन गर्नका लागि संस्था भित्रैबाट योग्य उत्तराधिकारीको विकास गर्नुपर्ने चुनौती समेत छ ।

सफलताको शिखरमा रहेका कुलमानले नेपाल विद्युत् प्राधिकरणमा कायापलट गर्न सफल भएको र एक चरणको चुनौती पार गरे पनि आगामी दिनमा चाहिने पूर्वाधारका बारेमा भने उचित रणनीति सार्वजनिक गर्न नसकेको जानकारहरू बताउँछन् ।

उनका अनुसार कुलमानमाथि सानो टोलीको नेतृत्व गर्ने र आफ्ना निकटका अधिकारीहरूबाहेक अरूको कुरा नसुन्ने जस्ता आरोप पनि छन् ।‘एक पछि अर्को सफलता प्राप्त गरेकाले होला, पछिल्ला दिनमा उहाँले अरूको कुरा सुन्न कम गर्नुभएको महसुस हुन्छ,’ उनले भने ।

नेपाल र भारतबीच गत हप्ता सम्पन्न इनर्जी ब्याङ्किङसम्बन्धी प्रारम्भिक सम्झौता लगत्तै ‘स्टोरेज टाइप प्रोजेक्ट’ अर्थात् जलाशययुक्त परियोजनाको अभावमा हुने लोडशेडिङबाट अब मुलुकले मुक्ति पाउने कामको अगुवाई कुलमानले नै गरे ।

उक्त विकासक्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन पुगेको जानकारहरूको दावी छ ।

वर्षौँदेखि नेपालले भारतसँग गर्दै आएको उक्त सम्झौताको मागको विषयमा भारतीय पक्ष कसरी एकाएक तयार भयो भन्ने कुरा धेरैको रुचिको विषय बन्न पुग्यो । यसकारण पनि उज्यालो नेपाल बनाउन पहलकदमी लिने कुलमान एक पहलमान जस्तै ठान्छन् सर्वसाधारण ।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार