नेपालका थप २५ स्थानमा केबुलकार निर्माण प्रस्ताव, यी ठाउँमा बन्दैछन केबुलकार

काठमाडौं, कात्तिक २८ पर्यटकीय तथा धार्मिक महत्वका थप स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गरी केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका हुन ।

यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुई वटा आवेदन परेको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।

मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शनलगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी, मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकारलगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मनकामना र चन्द्र्रागिरि केबुलकार मात्रै सञ्चालनमा छन् । नेपालमा मनकामना केबुलकार सञ्चालमा आएको डेढ दशकपछि चन्द्रागिरि केबुलकारले सञ्चालनका लागि स्वीकृति पाएको थियो । त्यस्तै, पोखरामा अन्नपूर्ण केबुलकार, ताप्लेजुुङमा पाथिभरा केबुलकार सञ्चानलका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ भने दोलखामा कालिञ्चोक दर्शन सञ्चालनमा आइसकेको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेर्ने भए पनि अबदेखि केबुलकार (रज्जुमार्ग) को जिम्मेवारी संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई दिइएको छ ।

नेपालमा केबुलकार सञ्चालनको प्रशस्त सम्भावना भए पनि सञ्चालनसम्बन्धी कार्यविधि भने अहिलेसम्म छैन । कार्यविधि नबनेका कारण सरकाले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन अनुमति रोकेको छ । जसका कारण अनुमतिको पर्खाइमा रहेका लगभग दुई दर्जन केबुलकार सञ्चालनका लागि अन्योल बनेको छ । नेपालको भूबनोटअनुसार केबुलकार सञ्चालन हुनु सकारात्मक भए पनि एउटै स्थानमा धेरैवटा खुल्नु भनेको अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्न पनि कार्यविधि आवश्यक भएको मन्त्रालयको भनाइ छ ।

अनुमतिको पर्खाइमा बसेका केबुलकार कम्पनीले कहिलेसम्म अनुमति पाउने हुन् भन्ने कुनै टुंगो छैन । सहसचिव सिग्देलका अनुसार केबुलकार सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको भए पनि अझै स्वीकृति पाएको छैन । केबुलकार सञ्चालनसम्बन्धी ऐन बनाएरै जाने तयारी भइरहेको सिग्देलले बताउनु भयो । ऐन कानुन बनाएर जाँदा राजस्व कसले कति उठाउनेदेखि विभिन्न विषयमा स्पष्ट हुन्छ । जसले केबुलकारलाई निर्वाध रूपमा सञ्चालन गर्न सकिने मन्त्रालयको भनाइ छ ।

यता, संघीय सरकारले कानुनी आधारलाई कारण देखाउँदै केबुलकार अनुमति रोके पनि स्थानीय निकायले भने धमाधम अनुमति दिन थालेका छन् । संघीय सरकारले स्थानीय तहमा सञ्चालन हुने केबुलकार सञ्चालनको शुल्क तोक्ने र रोयल्टी लिने अधिकार स्थानीय सरकारलाई दिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय निकायले पर्यटकीय र नवीन गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्न केबुलकार सञ्चालनको अनुमति दिइरहेका छन् । केबुलकार सञ्चालनका लागि मन्त्रालयले वातावरणीय प्रभाव मूल्याकन गर्ने गर्छ ।

बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार