राप्रपा फेरि फुट्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा अलगै भेला

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुट्ने खतरा देखिएको छ । अध्यक्ष थापासँग असन्तुष्ट समुहले राजधानीस्थित होटल एलो–पगोडामा गोप्य भेला गर्दै पार्टी फुटाउने संकेत देखाएको हो ।

राप्रपाको उक्त भेलाको नेतृत्व वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले गरेका थिए । अध्यक्ष थापालाई धक्का दिने गरी भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

गोप्य भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए । यो समूहमा राप्रपाका २१ नेता रहेको उनीहरु बताउँछन् ।

बाहिरी वातावरण अनुकुल हुँदाहुँदै पनि गत निर्वाचनमा राष्ट्रिय पार्टी पनि बन्न नसकेको असन्तुष्ट पक्षको निश्कर्ष छ । २०७० को संविधानसभामा राप्रपा चौथो शक्ति थियो । तर, गत वर्षको आमनिर्वाचनबाट मात्र एक सिट जित्यो र राष्ट्रिय पार्टी बन्न सकेन ।

समानुपातिकतर्फ थापा नेतृत्वको राप्रपाले एक लाख ९६ हजार ७८२, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र लोहनीको एराप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पाएको थियो ।
पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका थिए । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएका छन् ।

एक नेताका अनुसार असन्तुष्ट समूह अझैपनि कमल थापा सच्चिएर आए स्वीकार गर्ने मुडमा देखिन्छ । नभए पशुपतिशम्शेरसँग एकता गर्ने वा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अर्को पार्टी बनाउने विकल्पबारे समेत छलफल भइरहेको नेताहरु बताउँछन् ।

बुधबार, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार