वामदेवका लागि राजिनामा दिन दैलेख–१ का सांसद शर्मा तयार

काठमाडौं, ३१ भदौ । सांसद बन्ने दौडमा रहेका नेकपाका नेता वामदेव गौतमका लागि दैलेख–१ का सांसद रवीन्द्रराज शर्मा राजिनामा दिन तयार भएका छन् ।

दैलेख–१ बाट तत्कालीन एमालेबाट निर्वाचित सांसद शर्माले वामदेवका लागि निर्वाचन क्षेत्र छाड्न तयार रहेको प्रस्ताव आफैंले राखेका छन् । गत बुधबार भैँसेपाटीस्थित वामदेव निवासमै पुगेर शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

स्रोतका अनुसार वामदेवले आफ्नो व्यक्तिगत रोजाइभन्दा पनि पार्टीले छलफल गरेर निर्णय लिने भन्दै सचिवालय बैठकमा औपचारिक कुरा राख्ने जवाफ दिएका थिए । उक्त निर्वाचन क्षेत्र तत्कालीन एमालेको पकड क्षेत्र भएको र करिब ६ हजारको मतान्तरमा जितेको अवगत गराउँदै शर्माले जित सुनिश्चित रहेकाले सकारात्मक निर्णय लिनसमेत ध्यानाकर्षण गराएका थिए ।

डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा नदिने बताएपछि वामदेवले अन्य क्षेत्रमा चुनाव लड्न पहल थालेका छन् । वामदेवको पछिल्लो रोजाईमा बाँके– ३ छ । नेकपाका महासचिव विष्णु पौडेलले बाँके–३ का सांसद नन्दलाल रोकायासँग यस विषयमा छलफल गरिसकेका छन् ।

‘कसैले छाडिदिए संसद्मा आउन पाए हुन्थ्यो भन्ने वामदेव कमरेडको इच्छा हुन सक्ला, तर अहिलेसम्म उहाँले मसँग त्यस्तो कुराकानी गर्नुभएको छैन,’ रोकायले भन्छन् ‘महासचिवले बुझ्न खोज्नुभएको रहेछ, मैले राष्ट्रिय आवश्यकता ठानेर पार्टीले नै औपचारिक निर्णय गर्छ भने मान्ने कुरा हुन्छ, तर व्यक्तिगत रूपमा चाहिँ कसैका लागि छाड्ने कुरामा सहमत हुन सकिँदैन भन्ने कुरा राखेको छु ।’(दृष्टिन्युजबाट

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार