कांग्रेसको नेकपा विलयन वर्तमान सरकारविरुद्ध कुन सैद्धान्तिक आडमा प्रतिपक्ष हुँ भन्न मिल्छ ?

साैरभ कांग्रेस पार्टी अनौपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले–माओवादी)मा विलयन भइसकेको अर्को कम्युनिस्ट घटक हो । यसले वर्तमान सरकारविरुद्ध कुन सैद्धान्तिक आडमा प्रतिपक्ष हुँ भन्न मिल्छ ?

पहिलो अनुच्छेद
विश्वेश्वरप्रसाद कोइरालालाई फाँसी दिनुपर्छ भनेका थिए, सुर्यबहादुर थापाले । तर, थापालाई नै प्रधानमन्त्री बनाएर कांग्रेसले आफ्ना पार्टी संस्थापक कोइरालालाई परोक्षतः फाँसी दियो । दिल्ली सम्झौता भयो भनेर केआई सिंहहरूले विद्रोहसमेत गरे । कोइरालाले त्यस्तो सम्झौता केही थिएनसमेत भन्नुप-यो । तर, रोल्पामा माओवादीले राजनीतिक वार्ता र सम्झौता गरौँ भन्दाभन्दै पुनः दिल्लीमा १२ बुँदे सम्झौता गरियो, गिरिजाप्रसाद कोइरालाकै अडानमा ।

स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुसार हरिप्रसाद प्रधानलाई झिकाएर कोइरालाले सर्वोच्च अदातलको प्रधानन्यायाधीश बनाएका थिए । तर, प्रधानन्यायाधीश रहेकै अवस्थामा खिलराज रेग्मीलाई प्रधानमन्त्रीसमेत बनाएर शक्ति पृथकीकरण भन्ने आफ्नो मूल्य र मान्यतालाई यो पार्टीले कुल्चियो । त्यति मात्र होइन, कोइरालापुत्र र पार्टी महासचिव शशांकले न्यायालयलाई संसद्को अधीनमा ल्याउनुपर्छसमेत भने ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइराला भनेर नथाक्ने पार्टी, जसले जनप्रतिनिधि भनेको निर्वाचित नै मात्र हुनुपर्छ भनिरह्यो, राजाले छानेका प्रधानमन्त्रीलाई टीके भनिरह्यो, उसले दुई ठाउँबाट हारेका माधव नेपाललाई प्रधानमन्त्री बनाउनमा पूरै सघायो । रामचन्द्र पौडेलले त्यो राजनीतिक निर्णय होसमेत भने ।

जुन पार्टीका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पूर्ण बहुमत संसद्मा हुँदाहुँदै पनि संसद् भंग गरे । पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुहुँदैन भन्ने विषयमाथि मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबीच विवाद भएर एक पद एक व्यक्ति भन्ने नीति बनेको थियो । तर, उनीहरूकै भाइ गिरिजाप्रसाद कोइराला स्वयंले भने, ‘त्यो उतिवेलाको कुरा हो, अहिले मलाई दुईवटै चाहिएको छ ।’ भयो पनि त्यही ।

नेपाली मूलका मानिस भुटानबाट खेदिएपछि त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणा गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै अगाडिबाट नेपाली मूलका शरणार्थी पश्चिमा देशमा मजदुर बनाउन लगिए । यो मुद्दाको अन्तर्राष्ट्रियकरण होइन, स्थानीयकरण पनि हुन सकेन ।

सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष रहँदारहँदै यसका सभापति शेरबहादुर देउवा प्रोग्रेसिभ सोसलिस्ट इन्टरनेसलनको कार्यक्रममा आसीन हुन तयार भए । जसलाई तराईका रामलक्ष्मण दाजुभाइ, नख्खु जेल सारका क्रममा भाग्न लाग्दा मारिएका भनिएका लीला दाहाल, ठगी दाहाललगायत ४ जना, टिम्बुरबोटे काण्डका यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलगायतलाई मराएको, सरोज कोइराला मारिएपछि उनको कोठाका सम्पूर्ण कागजपत्र बोरामा हालेर लगेको आरोप छ, उसैलाई आफ्नो सबैभन्दा ठूलो बुद्धिजीवी मानेर टिकट दिइरहन्छ, अर्थात् आफ्ना सहिदको निरन्तर अपमान गरिरहन्छ । विश्वेश्वरप्रसाद कोइरालाले नै असुरक्षित महसुस गरेर आफ्नो सुरक्षा गरिदिन आग्रह गरेपछि जसलाई कुट्दा बिएचयूबाट खुमबहादुर खड्काले निष्काशित हुनुपर्यो ।

आफैँले बनाएको वि.सं. २०४७ को संविधान त्यागेर नितान्त वामपन्थी अन्तरिम संविधान २०६३ र जनविद्रोह र क्रान्ति लेखिएको माओवादी संविधान २०७२ लाई यसले स्वीकार ग-यो । यसैले माक्र्सवादीले कुनै ‘आइडियोलोजी’ नभएको पार्टी भनेर आरोप लगाउने गरे पनि कांग्रेस आइडियोलोजी त परको कुरा कुनै दिमागसमेत नभएको पार्टी हो भनेर ऐतिहासिक रूपमै स्वयंसिद्ध भइसकेको छ ।

दोस्रो अनुच्छेद
अंग्रेजीमा लेखिएको ‘डेमोक्रेसी’ शब्दको अनुवाद गणतन्त्र र हाउस अफ ‘रिप्रिजेन्टेटिभ’ शब्दको अनुवाद संविधानसभा हुन पुगेको र त्यही अनुदित भाषण त्रिभुवनले पढ्न पुगे भन्ने कुरा बारम्बार बाहिर आइसक्दा पनि संविधानसभा भन्ने भारतीय मुद्दा लिएर गोरखपुर र दिल्लीमा खडा भएको मोहनविक्रम सिंहको पार्टीको एजेन्डा कांग्रेसले समात्नुहुन्थ्यो ? प्रवक्ता अर्जुननरसिंह केसीले त्यतिवेलै भने संविधानसभा त हाम्रै एजेन्डा हो ।

१ पुस २०१७ का मितिमा महेन्द्रले निर्वाचित प्रधानमन्त्री अपदस्थ गरेको र १८ असोज ०५९ का मितिमा ज्ञानेन्द्रले निर्वाचित संसद् भंग गरेको आक्रोशमा कांग्रेसले गणतन्त्रवादी कित्ता समात्नु गलत देखिँदैन । तर, उसले आफ्नै नेतृत्वमा बनेको वि.सं. ०४७ को बहुदलीय संविधानलाई बाँकी यावत् मुद्दाको सन्दर्भमा त्यागेर वि.सं. ०६३ को माओवादी अन्तरिम संविधानलाई स्विकार्नु हुन्थ्यो ?

समाजवाद शब्द आफैँमा पाखण्ड हो, पक्का राजनीतिशास्त्रीका निम्ति । ऐतिहासिक राजनीतिशास्त्रले भन्छ, मार्क्स र लेनिनको कम्युनिस्टतन्त्रको बाढीलाई रोक्न पश्चिमा संसारप्रेरित आन्दोलन हो समाजवाद । भारतमै पनि नेहरूसँगको व्यक्तित्व टक्करमा मात्र जयप्रकाश र लोहियाले समातेको धार हो, समाजवाद । अर्थात् विश्वमा कि पुँजीवाद छ कि साम्यवाद छ । समाजवादको आफुखुसी व्याख्या हुने गरेबाटै थाहा हुन्छ, यो राजनीतिक भूत हो । भूतको मात्रै आफुखुसी व्याख्या हुन्छ । अब यो भूतलाई कांग्रेसले संविधानमै स्थापित गर्नु हुन्छ पुँजीवादी आर्थिक मोडेल खुला बजार अर्थतन्त्रलाई अंगीकार गरिसकेपछि ?

भूमण्डलीकरणका नाममा मार्क्सवादीले पश्चिमा नवउपनिवेशवादलाई स्वागत गरेका छन् । साम्राज्यवाद शब्दकै वैकल्पिक पर्यायवाची शब्द हो, भूमण्डलीकरण– जो मार्क्सवादीलाई पचाउन सजिलो होस् भनेर पश्चिमले जन्मायो । अन्तर्राष्ट्रियतावादी हौँ भन्छन्, मार्क्सवादीहरू । यसैले इन्टरनेसनल भन्ने गीत नै गाउँछन् । उनीहरूले अर्को देशसँग भोलिदेखि हाम्रो सीमा छैन भनेमा आश्चर्य मान्नुपर्दैन । तर, झन्डामै एउटा तारा राष्ट्रियताका लागि समर्पण गरेको कांग्रेसले यो भूमण्डलीकरणको नारामा आफूलाई समर्पण गर्नु हुन्थ्यो ?

पश्चिमको नवीनतम नवऔपनिवेशिक हतियार भनेको जातीयतावाद र नश्लीयतालाई उराल्नु हो । त्यसैमा फसेर कम्युनिस्ट शब्द नेपालमा कम्युनल भएको छ । नश्लवादी साम्प्रदायिकहरू कुनै न कुनै रूपमा कम्युनिस्ट पार्टी र पश्चिमा आइएनजिओसम्बद्ध छन् । अब तिनले तर्जुमा गरेको नश्लवादी, जातिवादी संविधान २०७२ मा कांग्रेसले सही गर्नु हुन्थ्यो ?

संघीयता खासमा धर्मनिरपेक्षताको मुद्दाबाट ध्यान हटाउन माओवादीमार्फत पश्चिमले लादेको एउटा एजेन्डा हो– अन्त्यन्त सुनियोजित । १२ वैशाख ०७२ को भुइँचालोपछि सहयोगका वचन जति दिए पनि मानवीय संवेदनाका नाममा समेत त्यो वचन पूरा नगरेको पश्चिमले अर्थहीन संघीयतालाई सघाउने कुरै भएन, ओठे आश्वासनबाहेक । अर्थात्, मध्यमवर्गीय नागरिकको ढाडमा टेकेर ‘मासबेस्ड’ पार्टी हुन पुगेको कांग्रेसले संघीयताको भार माक्र्सले मन नपराएको मध्यम वर्ग नामको आफ्नै ‘पार्टी–बेस’का लागि भारी हुनेछ भनेर बुझ्न सक्नुपर्दैनथ्यो ? समाजवादी हुँ भनेर स्वाङ गरिरहने अब पनि ?

कांग्रेसको इतिहास पाँच खण्डमा लेखेका राजेश गौतमले एउटा अन्तर्वार्तामा भनेका छन्– विश्वेश्वरप्रसाद कोइरालामा आफ्ना समकालीन राजनीतिज्ञलाई गन्ने बानी थिएन । अर्थात्, अर्को प्रकारले अहं थियो । त्यो अहंबाट परिचालित कांग्रेसले संघीयताले सबै गरी एक लाख मानिसलाई प्रत्यक्ष राजनीतिमा होमेर समाज र देशलाई यति राजनीतीकरण गर्छ कि राजनीति अब कांग्रेसको मनोपोलीको विषय रहँदैन, आफ्नै बोली अब सर्वोपरी बन्दैन भन्नेसमेत बुझेन । न देशका समस्या अब उसले चाहेर पनि समालिसक्नु हुँदैन भन्ने नै बुझ्यो । योभन्दा राजनीतिक मूर्खता अर्को के होला ?

अर्थात्, कांग्रेस पार्टी अनौपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले–माओवादी)मा विलयन भइसकेको अर्को कम्युनिस्ट घटक हो । यसले वर्तमान सरकारविरुद्ध कुन सैद्धान्तिक आडमा प्रतिपक्ष हुँ भन्न मिल्छ ? कांग्रेस आफ्नै सहीले बनेको संविधानमा खडा वर्तमान कम्युनिस्ट सरकारलाई नैतिक समर्थन गर्न बाध्य छ । उसको के हैसियत र नैतिकता छ अधिनायकवादी भन्न ?

फुटबल टिम ‘क’ ले ‘ख’ लाई १२ गोल दियो र ‘ख’ ले ‘ग’ लाई १२ गोल दियो भने त्यो स्वाभाविक हुन्छ । तर जब ‘ग’ ले फेरि ‘क’ लाई १२ गोल दिन्छ, खेलको मूल्यांकन कसरी गर्ने ? नरमपन्थी मार्क्सवादी एमालेलाई टाङमुनिबाट छिराएको कांग्रेस स्वयं उग्रपन्थी माक्र्सवादी भनिएको माओवादीको टाङमुनिबाट छिरेको छ ।

तेस्रो अनुच्छेद
२५ मंसिर ०५७ मा पंक्तिकारले देशान्तर साप्ताहिकमा एउटा लेख लेखेको थियो– कांग्रेसको कुमिन्ताङ लक्ष्य । त्यो लेखपछि कांग्रेसका मझौला स्तरका नेताहरू डरलाग्दो गरी बुर्लुक्कै उफ्रिए ।
त्यो लेख ०५५ मै लेखिएको थियो । तर, बहालवाला सम्पादकले पाएदेखि अर्को लेख छापौँ भनेकाले थन्किन पुग्यो । दुई वर्षपछि आएका पछिल्ला सम्पादकले भने अघिल्लो पृष्ठभूमि बताउँदा पनि छाप्ने आँट गरे । छाप्नु के थियो, चितवनदेखि देशान्तरका प्रकाशकले सम्पादकलाई राजीनामा गराउन मानिस पठाए । सम्पादक धरापमै पुगे । अन्तिम समयमा मात्रै उनको पद चेतावनीपछि जोगियो ।

आज स्थिति के छ भने कुमिन्ताङ त कता हो कता, उल्टै कांग्रेस (सिद्धान्तरहित कम्युनिस्ट घटक)को जन्म भएको छ । पूर्व भारतीय राजदूत नेपाल आएर कांग्रेस हाम्रै खल्तीको पार्टी हो भनेर अन्तर्वार्ता दिँदा पनि चुइँक्क नबोल्ने पार्टीले यो लेख छाप्दा नारायण वाग्ले/हरिबहादुर थापा कसको जागिर खान लैनचौर उचाल्ने हो ? भनेर त्यता पठाउन मन लागेन ।

मङ्लबार, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार