मुसा मार्ने विष खाएर आत्महत्या गरूँ कि ? जनयुद्धमा दुबै आँखा गुमाएर प्रचण्डबाट उपचारको पर्खाइँमा

दिलनिशानी मगर

खोकु छिन्ताङ दुख्यो कि, अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा
वसन्तको पालुवामा शहीदहरू फूल्छन्
सल्लेरीको सुसाइमा हावा भई डुल्छन्

किशोर थुलुङले गाएको यो गीत स्मरण गर्दै आजको स्तम्भको थालनी गरेको छु । दक्षिण पश्चिममा सुसाउँदै बगेको अरुण नदी अनि पूर्व दक्षिणमा अवस्थित तमोर नदीको काख ‘खोकु छिन्ताङ’, जहाँ २०३६ साल कार्तिक अन्तिम साता तत्कालीन पञ्चायती शासकहरूले खटाइएका सुरक्षाकर्मीबाट निर्मम तवरले १६ जनाको हत्या गरिएको थियो ।

बलिदानका तिनै किस्साहरू केवल आक्कलझुक्कल एकथान दस्तावेजमा मात्र हैनन्, कालजयी गीतहरूमा पनि दस्तावेजीकरण हुन्छन् । र हरेक परिवर्तनका मोडमा सांस्कृतिक आन्दोलन नै अन्ततः मुख्य बन्छ । आज केही फरक किस्साहरू लेख्दैछु । ती किस्साहरू नमीठा लागेमा, अव्यावहारिक अनि अपरिपक्व लागेका, अथवा यसो भनौं परिवर्तनविरोधी लागेमा माफी चाहन्छु । तर पनि चिन्ता छ, किशोर थुलुङको गीतजस्तै, ‘मन सबको रुन्छ कि दुःख बिसाउँदा ?’

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १२ वर्षे जनयुद्धमा पनि यस्ता थुप्रै ऐतिहासिक गीतहरू जन्मे । जस्तो कि, ‘अरुण तरेर नाना तमोर तरेर, आयौ हामी वीरताको गाथा कोरेर’ । त्यस्तै, ‘तिमी झन् आगो बन्नू लक्ष्य नपुग्दै म ढलेछु भने, तिमी झन् चट्टान बन्नू बाजको पञ्जामा म परेछु भने’ । अनि अर्को गीत ‘टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर’ । कुनै गीत यति धेरै मार्मिक हुन पुगे जुन गीत सुनेर दशवर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बाबुरामहरू नै धरधरी रोए ।

अप्ठ्यारा डाँडापाखामा मुक्तिका गीत गाउँदै, जनता जगाउँदै, लडाईंको मनोबल माथि उठाउँदै, निदाइरहेको समाजमा सांस्कृतिक क्रान्तिको राप जलाउँदै, कहिले भोकै कहिले अनिदो अनि कहिले आफ्नो घाइते शरीर बोकेर, कहिले सहयोद्धाहरूको रगताम्मे अंगभंग शरीर उचालेर, कहिले रगतको आहालहरूमा स्वयं आफू पौडी खेलेर, जीतको र हारको लडाईंका गाथा कोर्दै कहिले जलजला पहाड र त्यही पहाडमा फूलमायोका राता लालिगुराँसहरूको महिमामा भाका हाल्दै सपनाको एउटा मोर्चामा लडिरहरको थियो, एकजना सांस्कृतिक योद्धा ।

रात ढल्यो बिहान फूलमायायो भयो झलमल
जाग ब्युँझ ए नेता नगरी अलमल
बिहानी ऊषा छायो उठ, चन्द्र सूर्य लहरायो ।

डाँडावारि डाँडापारि हाम्रा बाले भन्ने गर्छन्
ए माइला, ए साँइला नबस है अब झुकेर
मान्छे आफंै अछुत हैन, म त त्यसै मर्ने छैन
जातिप्रथा निर्मूल नपारी ।

यी गीतहरू कुनै भव्य थिएटरमा गाइएका थिएनन् । कुनै मनोरञ्जनका समारोहहरूमा गाइएका पनि थिएनन् । यस्तो पनि हुन सक्थ्यो कि गीत गाउँदा गाउँदै टाउकोमाथि बमको वर्षा हुन सक्थ्यो आकाशबाट । यस्तो पनि हुन सक्थ्यो कि गीतका बोलहरू संगीतमा मिसाउन खोज्दै गर्दा दोहोरो भिडन्तमा परी ज्यान जान पनि सक्थ्यो । यस्तो पनि हुन सक्थ्यो कि गाउन बाँकी गीतका अन्तराहरू सधैंका लागि गाउन बाँकी हुन सक्थ्यो । मानौं कि, ती गीतहरू ज्यानको बाजी थापेर गाइएका थिए । संसारमा यस्ता गीतहरू कमै छन् दोस्त जो ज्यानको बाजी थापेर गाइएका हुन् ।

यसरी ज्यानको बाजी थापेर लडाईंको मोर्चामा गीत गाउने एक गायिका हुन् फूलमाया दर्जी ‘प्रगति हिङ्ममाङ’ । माथि उल्लेखित गीतका बोलहरूमा फूलमायाकै आवाजहरू भरिएका छन् । के त्यो फूल जस्तो जीवन आज काँडा भयो त ? वा काँडा जस्तो जीवन आखिरीमा फूल भयो ? उनको जीवनका उतारचढावहरू जो उनैको मनबाट निस्किए, उनैका संस्मरणहरूबाट झल्किए, उनैका कठिन संघर्षका जीवनहरूको बिम्बबाट प्रतिबिम्बित भए, तिनै किस्साहरूलाई गठजोड गर्नेछु ।

आफ्नै अगाडि मृत्युको दृश्य नाचिरहेको हुन्छ । तर एउटा जनकलाकार मृत्युको ठीक एक सेकेन्डअघि पनि जनताको गीत गाउँदै बाँचिरहेको हुन्छ । म समीक्षक त हैन कुनै गीतको, कुनै कलाकारको । तर दर्शक पक्कै हुँ । दृश्यमा देखिएका भावहरू जब दर्शकको भावनामा जोडिन्छ, कतै न कतै चीजहरू भावुक बनेर निस्किन्छन् । फूलमाया त्यस्तै भावुक चीजको एक प्रतिनिधि पात्र हुन् जसका संसार चिहाउने दुई आँखाका ज्योतिहरू क्षणभरमै बमका छिर्काहरूले उडाएर लगे ।

जसले उज्यालो संसारको गीत गायो, ऊ आफैं भौतिक रूपमा अँध्यारो रह्यो । जसले जनताका आँखाहरू खोल्न, ब्युझाउँन गीत गाउँदै हिँड्यो, उसैका आँखा अचानक बन्द भए । तर यो बन्द आँखा यतिबेला केवल भौतिक शरिरको मात्र भएन । उनले अंगालेको सिङ्गो राजनीतिक, सांस्कृतिक जीवनको अँध्यारो हिस्सा जस्तो भयो यो क्षण । जतिखेर उनी आँखाको उपचारमा भांैतारिएर हिँडिन्, त्यतिखेर औषधि किन्ने पैसा नभएर दुःखी गरीब जनताको गीतमा धुन भरिदिने हार्मोनियम नै बेच्नुपर्‍यो ।

त्यो फगत हार्मोनियम मात्र थिएन । त्यो हार्मोनियमले जनताको महान् सपनाको धुन बोकिरहेको थियो । आज त्यही हार्मोनियम बेचिन् उनले । गरीबका झुपडीको अँगेनामा बिहानबेलुकी आगो बलोस् बनेर गीत गाउने फूलमाया आज आफ्नै अँगेनामा बल्ने आगोमा भरोसा गर्दिनन् । त्यो पापी आगो बिहान बल्दा बेलुकी नबल्न सक्छ । बेलुकी बल्दा बिहान नबल्न सक्छ । घुँडानजिकै फाटेर पुरानो पाइन्ट लगाउने किसान दाइको जीवनमा खुशियाली ल्याउन भरोसाका गीत गाउने फूलमायामायाले नयाँ लुगा नकिनेको कति वर्ष भयो होला, थाहा छैन ।

कतिपय मानिसहरू भन्छन्, ‘यत्तिका वर्षको बीचमा खोलामा धेरै पानी बगिसक्यो । ती संघर्षका गाथाहरू पुराना भइसके । यस्ता मान्छेहरू कति छन् कति । हो, मलाई लाग्छ यस्तो भन्ने मानिसहरू बरू मुट्ठीभर छन् । नयाँ परिवेश, नयाँ शासन, नयाँ व्यवस्थामा रमाएका गौरवशाली कमरेडहरूलाई थाहा छ कि छैन, यहाँ हजार सपनाहरू पुराना नै छन् । फूलमायाको संसार चिहाउने सपना कुनै नयाँ सपना हैन । जनयुद्धका घाइतेहरूको घाउमा मलमपट्टी नदिने यो शासनसँग कसरी गर्व गर्ने होला र खै ?

भन्न त भन्नुहोला – यसबीचमा खोलामा धेरै पानी बग्यो । बग्न न खोलामा रगत पनि बगेकै हो । तर त्यो रगत बर्षातमा जमीनबाट मूल फुटेर बग्ने पानी जस्तो पक्कै थिएन । त्यो योद्धाहरूको टाउको, मुटु कलेजो र पेट फुटेर बगेको खोला थियो । मर्नेहरू त मरेर गए । ति शहीद बने । शहीदहरू जुरुक्कै उठेर आउने कुरा त भएन तर यहाँ जो ज्युँदै शहीद जस्ता भएका छन्, बनाइएका छन्, ती आफ्नो गच्छेअनुसार उठ्छन् उठ्छन् । हेर्दै जानुहोला ।

युद्धमा हार्मोनियम बजाएर महान् सपनाका गीतहरू गाइरहेका बेला यहाँ ससाना सपनाहरू ध्वस्त भएका छन् । फूलमाया जस्ता हजारौं ध्वस्त भएका छन् । यसरी ध्वस्त भएका छन् कि ती खरानी बनेर उडिसकेका छन् । जो छन्, ती खरानी बन्न बाँकी छन् । कोही गितार र सारङ्गीको तार चुँडिए जस्तो जीवनको लय भुलेर बाँचिरहेका छन् । कोही लय भुलेको पुरानो तबला जस्तो भएका छन् । जो बज्न त बज्छ तर जीवन्त बज्दैन । औषधि किन्नका लागि हार्मोनियम बिक्री गर्नुपरेपछि आजभोलि फूलमायाको मुहार सयपत्री जस्तै मुस्कुराउन भुलेको छ ।

तिनै दुःख, संघर्षका पिरामिडहरूको एक महान् प्रतिनिधिपात्र फूलमायाको महान इतिहासलाई यो पंक्तिकारले लिपिबद्ध गर्न खोजेको मात्र हो ताकि महान् कमरेडहरूले महलको कुनै चिल्लो सोफामा बसेर अनुभूत गर्न सकून् । तिनले याद गर्न सकून् । र बुझून् जनयुद्धमा घाइते भएका संस्कृतिकर्मीहरूको महान् पीडा । इतिहास मात्र महान् हुँदैन, पीडा पनि महान् हुन्छ । महान् पीडासँग लडाईं गर्दैछिन् फूलमाया र उनीजस्ता फूलमायाहरू । अनि यो कुनै अतिरञ्जनाको भाष्य हैन । कसैका प्रति अनावश्यक दबाब पनि हैन ।

यही साताको मंगलवार सातदोबाटोमा झरी परेको थियो । बादल रोएको सुनिरहेको थिएँ । त्यही बखत यो पनि सुनें, एकजना संस्कृतिकर्मी जो जनयुद्धमा सहभागी भइन् र युद्धको दौरान तिनले गीत गाउँदै हिँड्दा दुवै आँखा गुमाउन पुगिन् । आज औषधि किन्न नसकेर त्यही हार्मोनियम बेच्नुपर्‍यो, जुन हार्मोनियमले जनताको समानताको गीतमा संगीत भरेको थियो, नैसर्गिक अधिकारका भाकाहरूमा, लयहरूमा धुन मिलाएको थियो । आज यस्तो दिन आयो कि त्यही हार्मोनियम बेचेर औषधि खानुपरेको छ ।

प्रस्तुत छ, तिनै महान् घाइते संस्कृतिकर्मीको युद्धको बकपत्र :

मेरो नाम फूलमाया दर्जी हो । तर पार्टीमा ‘प्रगति हिङ्ममाङ’ भनेर चिन्छन् । युद्धको समयमा नाम परिवर्तन गरेर उपनाम राख्ने चलन थियो । त्यसैले म फूलमायाबाट प्रगति हिङ्ममाङ भएँ । मेरो जन्म हात्तीखर्क–१, धनकुटामा भएको हो । अहिले जोरपाटी गाउँपालिका भएको छ त्यो । बिहे गरेपछि हालको ठेगाना चाहिँ कालिकोट खडाचक्र नगरपालिका हो । मेरो बिहे निकै ठूलो पीडाको घडीमा भयो । त्यो पनि म सुनाउनेछु ।

म दुवै आँखा देख्न सक्दिनँ । एउटा आँखालाई बमको छर्राले उडाएर लग्यो, अर्को आँखाको रेटिना नै गयो । जे भयो सबै बमका कारणले भयो । २०५९ साल पुस १७ गतेदेखि गुमेको हो यो आँखाको ज्योति । त्यस दिनयता यो संसारलाई चिहाउन सकेको छैन । धनकुटामा लेउटी खोला भन्ने छ । हामी कार्यक्रमको लागि तयारी गरेर हिँडिरहेका थियौं । सबैजना संस्कृतिकर्मी साथीहरू सँगै थियौं । हार्मोनियम, मादल, गितार थिए साथमा । अचानक ठूलो आवाज गरेर बम पड्कियो । तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर हामीतर्फ बमका डल्लाहरू बर्साउन थाले ।

कति साथीहरू त्यहीँ लडे, कति उछिट्टिएर परपर पुगे । हेर्दाहेर्दै हाम्रा गीतका भाकाहरू चिच्याहटमा परिवर्तन भए । हाम्रा बाजागाजा पनि रगतमा लत्पत्तिए । मधुरो–मधुरो आँखा बोकेर खै म कसरी फुत्किएँ त्यो रणभूमिबाट आफैंलाई थाहा छैन । घाइते हुँदा पनि नहुँदा पनि फेरि जनताकै गीत गाएर निरन्तर हिडिँ नै रहें । अझ भनौं, आँखा देख्न नसकेपनि गीत गाउन छाडिनँ । सहाराको भरमा यात्रा गरें, सामना सांस्कृतिक परिवार अनि कञ्चनजंघा जनकलाकार संघमा योगदान गरें ।

तर मलाई त्यो महान् योगदानसँग पूरै गर्व छ । एकचिम्टी पनि पश्चात्ताप छैन । तर दुःख छ केही कुरामा छ, म त्यो भन्नेछु । मेरा आँखाहरू गुमेका छन् तर चेतनाहरू गुमेका छैनन् । आज मेरा हार्मोनियमहरू गुमेका छन् तर शब्द, लय अनि भाकाहरू गुमेका छैनन् । तपाईं मेरो अगाडि बसिरहनुभएको छ तर म तपाईं कस्तो हुनुहुन्छ देख्न सकिरहेकी छैन । म आज मेरो श्रीमानको सहारामा यहाँ आएँ, जो आफैं घाइते हुनुहुन्छ । तपार्इंलाई देख्न नसकेपनि मप्रतिको चिन्ता महसूस गरें ।

पार्टी शान्ति प्रक्रियामा आयो । सरकारमा गयो । घाइतेहरूलाई उपचार गर्ने, सम्मान गर्ने नीति छ भनिन्थ्यो । अहिले देशमा जे परिवर्तन भएको छ, यो सबै परिवर्तनको एक हिस्सा यो प्रगति हिङ्ममाङ पनि हो । अहिले पनि म जनकलाकार संघको केन्द्रीय सदस्य छु । यो यात्राबाट म थाकेको छैन । २०५८ सालबाट भूमिगत भएर लडार्इंका मोर्चाहरूमा पुगेको छु । र अहिलेसम्म यो यात्रामा छु । फरक यत्ति हो, लडाईंको सार मात्र फरक भयो मेरो जीवनमा ।

घाइते भएँ । स्वाभाविक थियो त्यो किनभने म बलिदानको लागि तयार भएर पार्टीमा लागेको हुँ । खतरा मोलेर पनि जनताको मुक्तिका लागि भनेर लागिपरेको हुँ । तर पार्टी सरकारमा गयो । घाइतेहरूलाई बिर्सियो । म आज पनि पार्टीमा नै छु । पार्टीको नीतिप्रति बफादार छु । तर हेर्नुस्, उपचार गरिपाऊँ भन्ने निवेदन बोकेर म तीनचोटिसम्म कहाँकहाँ पुगिनँ होला । त्यतिबेलाको हाम्रो पार्टीको संसदीय दलको सचेतकको आँगनमा पुगें, अध्यक्ष कमरेड प्रचण्डलाई भेट्न पुगें, पार्टी कार्यालय पेरिसडाँडा पुगें ।

तीलगंगामा देखाइरहेकी छु यो आँखा । डाक्टरले ९ लाख खर्च गर्नसके एउटा आँखा देख्नसकिने भनेका छन् । कसलाई मन होला, सुन्दर संसारका अगाडि अन्धकारमा बस्न ? फेरि यो मेरो व्यक्तिगत कारणले गुमेको आँखा हैन । आन्दोलनकै क्रममा गुमेको आँखा हो, देशका निम्ति गुमेको आँखा हो । तर मलाई यहाँ गाडीभाडाको समेत समस्या छ । कसले दिन्छ ९ लाख ? सरकारले दिन सकेन, आफ्नै मर्म बुझ्न सक्ने आफ्नै भनिएको सरकारले त दिन सकेन । अरू कसले देला ? यो गाह्रो विषय भयो ।

एकपटक अध्यक्ष कमरेड प्रचण्डलाई मेरो पीडा सुनाएँ । उहाँले हुन्छ हुन्छ म गर्छु भन्नुभयो । तर अहिलेसम्म केही गर्नुभएको छैन । हुन त उहाँलाई ठूलाठूला चीजको चिन्ता होला, यो त सामान्य भयो । फेरि म जस्ता घाइतेहरू कति छन् कति । तर हामीले उहाँको व्यक्तिगत सहयोग मागेको हैन, राज्यले पोलिसी बनाएर केही गरोस् भन्ने अपेक्षा हो । र मेरो अपेक्षा बिल्कुल जायज छ । आज नेताहरू पेट दुख्दा विदेश उपचार गर्न जान्छन् । नेताको के कुरा, नेताको सिफारिशमा तिनका आफन्तहरूले पनि सरकारी उपचार खर्च पाउने रहेछन् ।

यति ठूलो राजनीतिक परिवर्तनमा जसको कुनै योगदान नै छैन, जसको आन्दोलनप्रति कुनै साइनो नै थिएन, उनीहरूले अनेक सुविधा लिएका छन् । शान्तिकालमा झन् चिन्ता थपियो । युद्धमा त कम्तीमा घाइतेहरूको स्याहार हुन्थ्यो, सम्मान हुन्थ्यो । शान्तिकालमा म इलामको घोरेटारमा २८ दिन भोकै बसेको थिएँ । मुसा मार्ने विष खाएर आत्महत्या गरूँ कि जस्तो पनि लागेको थियो ।

म आँखा नदेख्ने । साथीहरू कता गए कता ? आफ्नो बाटो लागे । त्यो स्वाभाविक पनि थियो भन्ने लाग्छ । विराटनगरमा हुनुहुन्थ्यो हाम्रो कमान्डर । उहाँको नाम अञ्जु खालिङ हो । उहाँ पनि काठमाडौं आउनुभयो । सबैजना काठमाडौं आए, जो सँगै यात्रामा थियौं, एउटै थालमा खान्थ्यौं, एउटै ओछ्यानमा निदाउँथ्यौं । तर म घाइते, त्यो पनि दुवै आँखा देख्न नसक्ने । कसरी आउने हो यो काठमाडौं ? अलमलमा परें । मैले के सोचेको थिएँ भने काठमाडौंसम्म जान सके पशुपतिनाथको वरिपरि गीत गाएर बसौंला ।

नचिनेका मानिसको सहारामा म काठमाडौं आएँ । यहाँ आएपछि केही चिनेका मित्रहरूले दया देखाए । त्यो पनि किन भने मैले गीत गाउन सक्थें, त्यसैले दया देखाएका हुन सक्छन् । गीत गाउने कर्ममा बिहानी विकजीसँग भेट भयो । पुतलीसडकमा रहेको परिवेश रेकर्डिङ स्टुडियोमा भएको थियो हाम्रो भेट । उहाँ पनि युद्धमा घाइते भएको कलाकार हुनुहुँदो रहेछ । २०६१ पुसमा मैले उहाँसँग बिहे गरें ।

विवाह पनि निकै पीदाडायी रूपमा भयो हाम्रो । त्यो कसरी भने, ‘फूलमाया, अब घर जाऊ, यहाँ नबस’ भन्दै एकजना नेताले मलाई १० हजार रुपैयाँ हातमा दिएका थिए । तपाईं आफंै भन्नुहोस्, १० हजार रुपैयाँ लगेर घर जाँदा के गर्न सकिन्छ ? हामी त देशको मुहार परिवर्तन गर्न हिँडेका मान्छे, तर त्यो दिन मेरो मुहार यसरी उदास भयो कि अहिले सम्झँदा पनि चित्त दुख्छ ।

सोचको थिएँ, दुवै आँखा नदेखेपनि पक्कै एक हिसाबको त व्यवस्थापन होला नि भन्ने । तर दुःखका साथ भन्नुपर्छ, त्यसो हुन सकेन । मेरो जीवनमा फेरि अर्को लडाईं शुरू भयो । काठमाडौंको भीडभाडमा जीवनमरणको लडाईं । कता जाऊँ, के गरूँ, म धेरै रोएँ । यस्तो किसिमको मेरो जीवनमरणको दोसाँध देखेर बिहानी विकज्यूले सहाराको काँध थाप्नुभयो । जीवनको नयाँ बाटो देखाउने प्रण गर्नुभयो । हातमा हात थाम्नुभयो । अनि हाम्रो बिहे भयो ।

बिहानीजी आफैंमा घाइते हुनुहुन्छ । तर मजस्तो आँखै नदेख्ने हैन । उहाँसँग शुरूमा खन्ना गार्मेन्टमा बस्यौं । खालि थियो त्यो । निकै दुःखका साथ जीवन चलायौं । आम्दानी नभए, काम नभए कस्तो हुन्छ त्यो म के भनूँ । तर पम्फा दिदीको पहलमा प्रगतिशील मञ्च बेल्जियमले १ लाख २५ हजार सहयोग उपलब्ध गराएको थियो । त्यो आँखाको प्रारम्भिक चेकजाँचमा नै सकियो । यति महंगो उपचार कि आँखा निको हुने कि नहुने पत्ता लगाउन मात्रै २ लाख सकियो ।

मणि दाइले मेरा श्रीमानलाई जागिर लगाइदिनुभएको छ रेडियो नेपालमा । हप्ताको २५ सय रुपैयाँ पाउनुहुन्छ तलब । महिनाको १० हजार जति । त्यही १० हजारले खाने, कोठाभाडा तिर्ने, भइपरी सबै गर्ने हो । अहिले सन्तान पनि भएको छ हाम्रो । खर्च झन् बढेको छ । महंगी उस्तै छ । आँखाको उपचारको क्रममा औषधि किन्नका लागि हार्मोनियम ३१ हजारमा बेच्नुपर्‍यो । महान् सपना, समानता, अनि मुक्तिको गीतहरूमा संगीत दिने, धुन दिने मेरो त्यो प्यारो हार्मोनियम केवल एक झोला औषधिका खातिर बेचियो ।

मलाई यस्तो लाग्यो, त्यो हार्मोनियम बेचिएको हैन । मेरा रहर, सपना, आस्था, विश्वास र मायाका प्रतिबिम्बहरू एकसाथ बेचिए । शायद यो अवस्थाको परिकल्पना कम्तीमा मैले गरेको थिइनँ । तर पार्टीको मूल मर्ममा म समाहित छु । अझै पनि आशा छ कि हामीजस्ता जनयुद्धका घाइतेहरूलाई राज्यले हेर्नेछ । तर फेरि शंका लाग्छ, दुःख लाग्छ अनि रुन मन लाग्छ ।

मलाई यो सुन्दर संसारलाई एउटा आँखाले भएपनि चिहाउने रहर छ । यात्रामा लौरी बनेर बिहानीज्यू उपस्थित हुनुभयो मेरो जीवनमा । कम्तीमा बाटोमा दोहोर्‍याउने त कोही छ । उहाँको साथ, माया नपाएको भए शायद म बाँच्दिनथिएँ होला । म मरेको भए तपाईसँग पनि भेट नहुने रहेछ । दुःखहरूको पहाडमा यो पीरको भारी म कसलाई बिसाऊँ, अक्षर लेख्न सक्दिनँ । आज तपार्इं मेरो अक्षर बनिदिनू, यसका लागि धेरै धेरै धन्यवाद । मेरा जीवनका उतारचढावहरू पढेर पाठकहरूले मेरो जीवनको दुःख हटाउन सहयोग गर्नुभएमा मेरो आँखाको ज्योति फर्किनेछ ।

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार