गुनासोप्रति सरकार र पार्टीमा गम्भीर समीक्षा भइरहेको छ, सम्बोधन हुन्छ : प्रचण्ड

चितवन, साउन २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनु भएको छ । चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले सो जानकारी दिनुभएको हो ।

उहाँले गुनासोलाई सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको अध्यक्ष दाहालको भनाई थियो ।

‘चाहे करको विषयमा होस या मूल्यवृद्धि, जनताको चिन्ता र चासो हामीले सुनेका छौं, त्यसलाई सम्बोधन गर्ने उपायको खोजी भइरहेको छ,’ दाहालले भन्नुभयो, ‘सरकार गम्भीर छ, पार्टी नेतृत्व पनि जनता र सांसदको गुनासो एवं चिन्ताप्रति गम्भीररूपले समीक्षा गरिरहेका छौ ।’ उहाँले देश संघीयतामा गएको जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउनका लागि भएको जिकिर गर्दै यसप्रति पार्टी चिन्तित रहेको पनि प्रष्ट पार्नुभयो ।

करवृद्धिको विषयमा संघीयता समस्यामा पर्न गयो भन्ने कुरा आफूले कहीँ पनि नबोलेको जिकिर गर्दै अध्यक्ष दाहालले बाइसे–चौबिसे जस्तो बनाउन खोज्ने र अलोकप्रिय बनाउन खोज्ने कतैबाट प्रयास भइरहेको त छैन भनेर आफूले बोलेको स्पष्ट पार्नुभयो । अहिलेको काम कारबाही हेर्दा व्यवसायी र जनताको पनि प्रश्न हेर्दा अब स्थानीय कर प्रादेशिक कर र केन्द्रीय कर भनेर करैकर थोपर्न थालियो भने त्यसले संघीयता कार्यान्वयन गर्न अप्ठ्यारो पर्छ भनेर आफूले बोलेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

नेपालमा अहिले नयाँ राजनीतिक प्रयोग भएकाले पनि केही अप्ठ्यारो स्वभाविक देखिएको उहाँले बताउनुभयो । केही पुरानो सोच र मान्यताले प्रादेशिक सरकारलाई अधिकार सम्पन्न र गतिशील बनाउनुपर्नेमा हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । विप्लव नेतृत्वको नेकपाप्रति सरकार आक्रामक भएको भन्ने कुरा गलत भएको हो भन्दै अध्यक्ष प्रचण्डले सबैसँग सहकार्य र संवादबाट निकास निकाल्न चाहेको उल्लेख गर्नुभयो ।

‘बितन्डा मच्चाएर, मान्छेलाई आतंकित पारेर अहिलेको बदलिँदो परिस्थितिमा केही हुन्छ भनेर सोच्नु साह्रै ठूलो अज्ञानताबाहेक केही होइन,’ दाहालले भन्नुभयो । छिमेकी देशको भ्रमणका क्रममा दुई देशबीच सकारात्मक वातावरण बनाउने र सहयोग जुटाउने आफ्नो प्रयत्न रहने उहाँले जानकारी दिनुभयो ।

उहाँले प्रधानन्यायाधीशको विषयमा संसद्को सर्वोच्चतालाई स्थापित गर्न संसदीय सुनुवाइ समितिमा उजुरी पर्नु बढी लोकतान्त्रिक भएको दावी गर्दै पहिलाको परम्परा अधिनायकदावी हो भन्नुभयो ।

पत्रकार भेटघाटमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई चुस्त बनाउन मन्त्रालय गम्भीर रूपमा लागेको बताउनु भयो ।

शनिबार, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार