नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य कार्यबिभाजनको अन्तिम सूची जिम्मेवारीसहित फिल्डमा खटिदै

काठमाडौ, साउन २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भदौ दोस्रो साताभित्र ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य सबैलाई काममा खटाउने गरी कार्यविभाजन गर्ने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला तहमा एकीकरण टुंग्याएर दोस्रो साताभित्र सबै केन्द्रीय तहका नेतालाई काममा खटाउनेगरी नेकपाले कार्यविभाजनको गृहकार्य अघि बढाएको हो ।

नेकपाले केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि नियमावली प्रकाशन गरिसकेको छ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबैलाई काममा खटाउने गरी तयार गरिएको नियमावलीअनुसार ३२ ओटा केन्द्रीय विभाग बनेका छन् । ती विभाग प्रमुख केन्द्रीय सदस्य हुनेछन् । तर कतिपय विभागमा भने उपप्रमुख पनि बनाउने तयारी छ । सचिवालयकै केही नेताहरुलाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिने तयारी नेकपाले गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनको एकीकरण सकेलगत्तै ८ र ९ गते बस्ने स्थायी समिति बैठकमा कार्यविभाजन प्रस्तावमाथि छलफल गरिने छ। श्रेष्ठका अनुसार १५ भदौभित्र ४ सय ४१ जनाकै कार्यविभाजन सकेर सबैलाई फिल्डमा खटाइनेछ ।

गृहकार्यअनुसार ७ ओटा प्रदेशको संयोजक र सहसंयोजक केन्द्रीय तहबाट स्थायी समिति या पोलिटब्यूरो सदस्य भइसकेका प्रभावशाली नेतालाई जिम्मेवारी दिइने योजना छ । त्यस्तै, ७७ ओटा भूगोल जिल्ला, ४ ओटा विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी अन्तर्गत ७ ओटा प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठानमा केन्द्रीय सदस्यहरुलाई ईन्चार्जका रुपमा जिम्मेवारी दिने तयारी छ ।

पार्टी एकीकरणको स्प्रिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहईन्चार्जको व्यबस्था गर्नेगरी छलफल चलिरहेको एक सचिवालय सदस्यले बताए । त्यस्तै, मोर्चा फाँट अन्तर्गत २२ ओटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई ईन्चार्जको जिम्मेवारीसहित खटाउने तयारी छ । आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमासमेत केन्द्रीय तहका नेतालाई नै ईन्चार्ज खटाउने कि नखटाउने विषयमासमेत परामर्श भइरहेको एक नेताले जानकारी दिए ।

केन्द्रीय सल्लाहकार र विभाग सदस्य यसरी छानिदैछन्

नेकपाले भदौ दोस्रो साताभित्र कार्यविभाजन सकेलगत्तै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग, जेष्ठ कम्युनिष्ट मञ्च गठन र केन्द्रीय विभागलाई पूर्णता दिनेगरी गृहकार्य सुरु गरेको छ । विहिबारको सचिवालय बैठकले केन्द्रीय निकाय, आयोग र केन्द्रीय विभागमा रहने सदस्य सिफारिशका लागि एकीकरण कार्यदललाई जिम्मेवारी दिएको छ ।

यसअनुसार सातओटै प्रदेशमा गठित एकीकरण कार्यदलले नै केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय, मञ्च र विभागमा रहने सदस्यहरुको नाम केन्द्रीय सचिवालयमा सिफारिश गर्नेछन् ।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार