अब प्रधानमन्त्री ओलीले सीधै केसीसँग वार्ता गर्ने ?

काठमाडौं,सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन । केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए ।

यसअघि गत सोमबार र मंगलबार सरकार र केसी पक्षका वार्ताटोलीबीच तीन चरण वार्ता भए पनि कुनै सहमति हुन सकेन । सरकारले शिक्षासचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली बनाएको थियो ।

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता
सरकारले केसीको स्वास्थ्य अवस्था सहज भएपछि वार्ता गर्ने जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालका अनुसार सरकारको पहिलो प्रयास केसीको जीवन बचाउनु हो । ‘स्वास्थ्य ठीक भएपछि केसीसँग सरकारले वार्ता थाल्नेछ,’ उनले भने ।

जुम्लामा अनशन बसेका केसीको स्वास्थ्य जटिल भएपछि २०औँ दिनमा बिहीबार सरकारले बल प्रयोग गरी काठमाडौं ल्याएको थियो ।

बीचका व्यक्तिमा अविश्वास
केसीको नाममा वार्तामा बस्न आउनेहरूलाई विश्वास गर्ने आधार नदेखिएको सरकारको ठम्याइ छ । अर्यालले भने, ‘केसीका मान्छे कोही देखिएनन् । त्यसैले उनको नाम लिएर उफ्रिनेहरूमा विश्वास गर्ने आधार भएन । सरकारले केसी केही ठीक भएपछि उनीसँगै वार्तामा बसेर निकास निकाल्छ ।’

वार्ता अनिश्चित
केसीका सहयोगी डा. जीवन क्षेत्रीले सरकार र केसीबीचको वार्ता थप अन्योलमा परेको बताए । दुई दिनदेखि वार्ताको विषयमा कुरासमेत नउठेको उनले बताए । उनले भने, ‘अहिले वार्ताको विषयमा कुरै नगरम् । हामीले गरेर मात्रै हुन्न, डा. केसीले पनि यसलाई स्वीकार गर्नुपर्छ ।’

वार्ता समिति गठन भएको दुई दिनपछि डा. केसीले सचिवस्तरीय टोलीसँग वार्ता नगर्ने अडान लिएपछि अन्योलमा परेको हो । सरकारले पनि केसीको जीवनरक्षा पहिलो प्राथमिकता भन्दै वार्ताभन्दा पहिला उपचारमा जोड दिएको छ । तर, केसीले भने बिहीबारदेखि नै स्वास्थ्य जाँच गराउन मानेका छैनन् । उनले स्वास्थ्य जाँच नगर्ने र औषधि पनि नलिने बताएपछि चिकित्सकहरूले जाँच गरेका छैनन् ।

केसीलाई उचाल्ने कांग्रेस होइन

शेरबहादुर देउवा सभापति, कांग्रेस
अनशनरत डा. गोविन्द केसी कसैले उचालेर उचालिने व्यक्ति होइनन् । उनी अरूले उचालेको आधारमा अनशन बस्ने व्यक्ति होइनन् । उनले उठाएका माग देश र जनताको हितमा छ । त्यसैले डा. केसीको माग सरकारले तत्काल पूरा गर्नुपर्छ । मैले केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पनि भनेको छु । हाम्रो पार्टी र आमनागरिक केसीको पक्षमा उभिएका छौँ । यसअघि मेरो सरकारको पालामा तयार पारेको अध्यादेश जस्ताको तस्तै विधेयकका रूपमा ल्याए उनको माग सम्बोधन हुन्छ ।

अस्पतालका निमित्त निर्देशकद्वारा राजीनामा
शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा. दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा. महराले पदबाट राजीनामा दिएको बताएका हुन् । केही दिनअघि चारवर्षे कार्यकाल सकिएका महरालाई सरकारले अर्को व्यवस्था नहुँदासम्म भन्दै तीन महिना म्याद थपेको थियो । तर, डा. केसीले शिक्षण अस्पतालमा पुनः अनशन सुरु गरेपछि उनले राजीनामा दिएका हुन् ।

आन्दोलनका कारण स्वास्थ्य संस्था धराशायी बन्ने भएपछि उनले राजीनामा दिएको जानकारहरू बताउँछन् । डा. महराले भने पारिवारिक कारणले राजीनामा दिएको बताएका छन् । तर, महराले विगतदेखि नै स्वास्थ्य संस्थामा आन्दोलन गर्न नहुने भन्दै केसीको अनशनप्रति फरक मत राख्दै आएका थिए ।

शनिबार, साउन ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार