छोरी जन्माएको भन्दै घर निकाला : घर फिर्ता हुन् दश लाख मागियो

इनरुवा, ३ साउन (रासस) : सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छिन् ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन् । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताइन् ।

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन् । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताइन् । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउदै साहले घर फिर्ता आएर रु १० लाख लिएर जानुपर्ने माग श्रीमानले गरेको बताइन् ।

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताइन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो पनि गरिन् ।

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरिन् । उनले श्रीमानसहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए रु १० लाख ल्याउन पटक पटक दबाब दिएको बताइन् । पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गरिन् ।

बिहिबार, साउन ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार