भन्सारकै सेटिङमा नक्कली कागजातबाट तस्करी राजस्व अनुसन्धानले समात्यो नक्कली कारोबारका प्रमुख योजनाकार

काठमाडौं, असार ३२ भन्सार कार्यालयकै सेटिङमा अबैध कारोबार हुने गरेको तथ्य बाहिर आएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले लामो समयदेखि तस्करी गर्दै भारतीय नागरिक बिनोद गुप्तालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

विभागले हिमालय कार्गोका सञ्चालकसमेत रहेका भारतीय नागरिक गुप्तालाई नक्कली प्रज्ञापनपत्र र नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी तस्करी गरेको तथ्य फेला परेपछि पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अघि बढेको अनुसन्धानको प्रारम्भिक चरणमै भन्सार कार्यालयहरूमा सेटिङ मिलाएर तस्करी गर्ने गरेको तथ्य खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ ।

‘अनुसन्धानको क्रममा देशभरका भन्सार कार्यालयहरूमा गुप्ताको सेटिङ रहेको प्रष्टै देखिन्छ, भन्सार कर्मचारीको मिलेमतोविना उनको यति ठूलो तस्करी धन्दा सम्भव छैन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । नक्कली प्रज्ञापनपत्र तथा नक्कली अन्तःशुल्क स्टिकरको आधारमा तस्करी गर्ने गिरोहका नाइके गुप्तालाई विभागले केही दिनअघि पक्राउ गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उनका अनुसार पक्राउ परेका गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका प्रमुख योजनाकार हुन् । गुप्तालाई पक्राउ गरेलगत्तै उनका कार्यालयका प्रबन्धक अशोक द्विवेदीलाई पनि पक्राउ गरिएको छ ।

नक्कली कागजात नष्ट गर्न लागेको सूचनाका आधारमा द्विवेदी पक्राउ परेको स्रोतको भनाइ छ । भारतीय नागरिक गुप्ता नेपाली महिलासँग विवाह गरी नेपालमा तस्करीको काम गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ । उनले आफ्नो करोडौँ सम्पत्ति पत्नीको नाममा राखेका छन् ।

‘नेपालमा उनको करोडौँ सम्पत्ति देखिन्छ’, महानिर्देशक मैनालीले भने, ‘तर, कर तिरेको कतै देखिन्न, नक्कली कागजपत्रका आधारमा कारोबार गर्दै आएका रहेछन् ।’ विभागका अनुसार गुप्ताले काठमाडौंको सतुंगलमा सात रोपनी जग्गामा गोदाम बनाएर तस्करीको सामान राख्ने गरेको पाइएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद लिएर विभागले थप अनुसन्धान अघि बढाएको छ ।

असारको पहिलो साता भन्सार छली गरी भित्र्ययाइएको एक ट्रक पाउडर दूध कलंकीमा बरामद भएको थियो । भन्सार तिरेको नक्कली कागजपत्रका आधारमा पाउडर दूध तस्करी भएको पाइएपछि बरामद गरिएको हो । जसमा नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतो देखिएपछि तीन जना कर्मचारीलाई हटाएर विभागले अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानमा नै गुप्ताले राज्यलाई करोडौँ नोक्सान पु¥याएको तथ्य भेटिएको विभागले जनाएको छ ।

गुप्ता गतवर्ष असोजमा पनि पक्राउ परेका थिए । अन्तःशुल्क स्टिकर नक्कली बनाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको थियो । तर, उनीहरूमाथि आन्तरिक राजस्व धरौटीमा छुटेका थिए । अदालती सेटिङ मिलाएर छुटेपछि उनी फेरि कीर्तेकाममै लागेका थिए ।

गुप्ताले ठूला व्यापारीहरूको सामान आयातको ठेक्का लिने र भन्सार कर्मचारी मिलाएर नक्कली प्रज्ञापनपत्र र अन्तःशुल्क स्टिकरका आधारमा तस्करी गर्ने गरेका थिए । विभागले उनको सेटिङमा तस्करीमा सघाउने भन्सार कर्मचारीहरूमाथि समेत अनुसन्धान अघि बढाएको छ । अर्थ मन्त्रालयले पनि यस विषयमा अनुसन्धान अघि बढाएको छ । राजस्व चुहावट नियन्त्रण ऐन अनुसार, भन्सार छलीमा मिलेमतो देखिएकोमा कर्मचारीलाई समेत मुद्दा चलाउन सकिन्छ ।

विगतमा विभागले भन्सार ऐनअनुसार, अनुसन्धान र कारबाही गर्दै आएको थियो । तर, दुई महिनाअघि सरकारले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएपछि राजस्व चुहावट नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही सुरु गरेको हो । जसमा कर्मचारीलाई पनि मतियारका रूपमा मुद्दा चलाउन सकिने प्रावधान रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व चुहावट र तस्करी नियन्त्रणमा कठोर नीतिसहित अघि बढन विभाग पदाधिकारीलाई सुरुआती दिनमै निर्देशन दिएका थिए ।

सोमवार, असार ३२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार