सरकारसँग दुई बुँदे सहमति गर्दै गंगामायाले तोडिन् अनसन !, के छ दुई बुँदामा ?

काठमाडौं । जेठ १५ देखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

सरकारसँग दुई बुँदे सहमति गरेपछि अधिकारीले शुक्रबार आफ्नो अनसन स्थगित गरेकी हुन् । उनलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका थिए ।

उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो । उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए । हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन् । उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

उनले कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएपछि अनसन तोड्न राजी भएकी थिइन् ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने चेतावनी पनि दिएकी छन् ।

के छ दुई बुँदामा ?
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार