अब नेपालमै साततारे होटेल

नेपालमा साततारे होटेलमा लगानी गर्न चाहनेहरूका लागि अब बाटो खुल्ने भएको छ । नेपाल सरकारले होटेल, रिसोर्ट, रेस्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरूको विद्यमान मापदण्ड परिमार्जन गर्दै छ ।

नयाँ मापदण्डअनुसार अब नेपालमा होटेलको स्तर बढाएर ७ तारेसम्म पु-याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार नयाँ मापदण्ड बनाउन प्रारम्भिक छलफलबाट कार्यविधि तय भइसकेको छ । मन्त्री अधिकारीको सय दिनको कार्ययोजनामा मापदण्ड तर्जुमाको काम सुरु गर्ने लक्ष्य राखिएको छ ।

विद्यमान व्यवस्थाअनुसार नेपालमा अधिकतम ‘पाँचतारे डिलक्स’ स्तरका होटेल रहने मापदण्ड छ । नेपालमा सेवाभन्दा पनि पूर्वाधारलाई आधार मानेर होटेलको स्तर निर्धारण गर्ने प्रचलन छ ।

सो मापदण्डअनुसार पाँचतारे डिलक्स स्तरीय होटेलमा कम्तीमा २ सयवटा सुत्ने कोठा हुनुपर्छ । त्यसमध्ये २० वटा ‘सुइट रुम’ र प्रेसिडेन्टल सुइट रुम हुनुपर्छ । पाँचतारे डिलक्स होटेलका कोठाको आकार २ सय ५० वर्गफिट हुनुपर्ने प्रावधान छ । विश्वका अन्य मुलुकमा होटेल तथा आतिथ्य सेवाको मापदण्ड तोक्दा संरचनाको आकारभन्दा त्यसबाट प्रवाह हुने सेवालाई आधार मान्ने गरिन्छ ।

आन्तरिक उडान स्थानान्तर स्थलको टुंगो
पर्यटनमन्त्री अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन विमानस्थलको विकल्पमा आन्तरिक विमानस्थल निर्माण गर्न सकिने उपयुक्त स्थानको छनोट दुई साताभित्र गरिसक्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आफ्नो सयदिने कार्ययोजनाको समीक्षा गर्दै मन्त्री अधिकारीले काभ्रेको ठूलीचौर वा अन्य कुन स्थानमा उपयुक्त हुन्छ, त्यसको टुंगो लगाउन निर्देशन दिए ।

नेवानिका पाइलटको दादागिरी तोड्नुस्
नेपाल वायुसेवा निगमका पाइलटको लापरबाही तथा दादागिरी निगमको सेवामा नकारात्मक असर पुगेको भन्दै मन्त्री अधिकारीले पाइलटको यस्तो प्रवृत्ति तोड्न महाप्रकन्धक सुगतरत्न कंसाकारलाई निर्देशन दिए । ‘उडान तोकिएको समयभन्दा १ घन्टाअगाडि विमानस्थल पुग्नुपर्नेमा केही पाइलट १० मिनेट पहिला मात्र पुग्ने गरेको सुन्नमा आएको छ,’ उनले भने, ‘पाइलटको यस्तो प्रवृत्ति तोड्नुपर्छ, निगमका जहाज समयमै उड्नुपर्छ, नउडाउने पाइलटको विवरण मलाई दिनुहोस् ।’ निगमले आफूसँग भएका जहाज कुनै पनि हालतमा उडाउनुपर्ने भन्दै उनले निगमका निकट नबेच्ने एजेन्सीसँगको सम्झौता खारेज गर्नसमेत निर्देशन दिए ।

अब भ्यू टावरका नाममा बजेट जाँदैन
नेपालका अग्ला डाँडाहरूमा भ्यू टावर बनाउने भन्दै जाने बजेट आगामी आवबाट रोकिने भएको छ । पर्यटनमन्त्री अधिकारीले भ्यू टावरका नाममा एक रुपैयाँ पनि विनियोजन नगर्न निर्देशन दिए । ‘नेपालका डाँडाकाँडा आफैँमा भ्यू टावर हुन्, त्यसैले चुचुरोमा थप अग्लो संरचना आवश्यक छैन,’ उनले भने, ‘बन्दै गरेकालाई अवरोध नगरौँ, नयाँ बनाउन बन्द गरौँ ।’

त्रिभुवन विमानस्थल ७ जेठबाट २१ घन्टा खुला
आगामी ७ जेठबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा खुल्ने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार विमानस्थल २१ घन्टा खुलाउने सन्दर्भमा कर्मचारी व्यवथापनको काम भइरहेको छ । अहिले विमानस्थल दैनिक १८ घन्टा खुल्ने गरेको छ । यस अवधिमा उडान–अवतरणको चाप अधिक भएपछि सरकारले विकल्पका रूपमा विमानस्थल खुल्ने समय बढाउन लागेको हो ।

विमानस्थल खुल्ने समय थप हुँदा विमानस्थलभित्र खटिने सबै निकायले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउनुपर्ने हुन्छ । त्रिभुवन विमानस्थल मात्र नभई निर्माणाधीन अन्य विमानस्थललाई समेत निकट भविष्यमा प्राविधिक जनशक्ति आवश्यक पर्ने भन्दै मन्त्री अधिकारीले त्यसतर्फ समेत अहिल्यैबाट गृहकार्य थाल्न सरोकारवालालाई निर्देशन दिएका छन्।

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार