एयरलाइन्स कम्पनी र विमान थप्न प्रतिबन्ध’

‘सरकारले आन्तरिक उडानमा नयाँ एयरलाइन्स कम्पनीलाई अनुमति नदिने भएको छ । नयाँ एयरलाइन्सलाई अनुमति नदिने र पुराना एयरलाइन्सले थप्ने नयाँ विमानलाई काठमाडौंमा पार्किङ गर्नसमेत प्रतिबन्ध लगाउने सरकारी तयारी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र यात्रुले धेरै सास्ती व्यहोर्नु परेको बताउँदै तत्काल नयाँ कम्पनी र नयाँ विमानलाई काठमाडौैंमा अनुमति रोक्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

“विमानस्थलको अर्को विकल्प नभएसम्म कुनै पनि नयाँ एयरलाइन्सलाई अनुमति नदिनू र पुराना एयरलाइन्सले ल्याउने नयाँ विमानलाई काठमाडौंमा पार्किङको अनुमति नदिनू,” मन्त्री अधिकारीले भने ।
आकाशमा होल्ड गर्नुपर्ने अवस्था सुधार्न प्राधिकरणले ठोस कार्यक्रम अझै नल्याएको प्रति असन्तुष्ट मन्त्री अधिकारीले १४ दिनभित्र काठमाडौं नजिकै निर्माण गरिने भनेको नयाँ आन्तरिक विमानस्थलको स्थान टुंग्याउन प्राधिकरण नेतृत्वलाई निर्देशनसमेत दिएका छन् । “कहिले कहाँ कहिले कहाँ भनेर अलमल्याउने काम भइरहेको छ, कहाँ बनाउने हो १४ दिनभित्र स्थान चाहिन्छ,” मन्त्री अधिकारीले भने ।

त्रिभुवन विमानस्थल अब २१ घन्टा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ ७ गतेदेखि २१ घन्टा सञ्चालनमा आउने भएको छ । हाल १८ घन्टा सञ्चालनमा आइरहेको विमानस्थललाई २१ घन्टा सञ्चालन गर्न लागिएको हो । “सबै तयारी पूरा भएको छ । जेठ ७ गतेदेखि विमानस्थल २१ घन्टा चल्नेछ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । अहिले स्लट मिलाउने काम भइरहेको क्षेत्रीले जानकारी दिए । मन्त्री अधिकारीले २४ सै घन्टा विमानस्थल सञ्चालन गर्ने घोषणासँगै पहिलो चरणमा २१ घन्टा सञ्चालन गर्न लागिएको हो ।

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार