शीतल निवासमा जव मर्यादा पालकले देउवालाई कुर्सी छोड्न भन्नुपर्यो

काठमाडौं, ३ फागुन– राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण सकियो । प्रधानमन्त्रीको सपथ ग्रहणका लागि बसिरहेको कुर्सीबाट सवैजना उठेसँगै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि उठे । तर, जव सपथ सकियो, देउवा पहिले बसेकै कुर्सीमा बसे । नयाँ प्रधानमन्त्री ओली केहि अल्मलिए । देउवा बसेपछि ओली पनि आफ्नो पूर्ववत स्थानमा नै बसे ।

त्यसैबेला देउवाका अगाडि राष्ट्रपति कार्यालयका मर्यादापालक आए । उनले विनम्र भाषामा देउवालाई आग्रह गरे– हजुरको कुर्सी त्यो होइन । देउवा सम्झेजस्तो गरेर उठे । सँगै रहेका नयाँ प्रधानमन्त्री ओली पनि उठे । र बल्ल नयाँ प्रधानमन्त्री आफ्नो आसनमा बस्न पाए ।

संसदीय ब्यवस्थामा नयाँ प्रधानमन्त्रीले सपथ गरेसँगै निवर्तमान प्रधानमन्त्रीले सपथग्रहण समारोहमा नै आफू बसेको आसन नयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुपर्छ । दुवैले आपसमा हात मिलाएर आसन साटेपछि नयाँ प्रधानमन्त्रीको कार्यभार सुरु हुन्छ र पुराना विस्थापित हुन्छन् । शान्तिपूर्ण सत्ता हस्तान्तरणको संसदीय चलन यहि हो ।

गत मंसिरमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले विजेता दलका नेतालाई उतिबेलै टेलिफोन मार्फत वा भेटेर वधाई दिनुपथ्र्यो । उनले त्यसो गरेनन् । चुनावमा पराजित भएपछि उनको राजीनामाको अपेक्षा आम थियो । त्यो पनि उनले गरेनन् । उल्टै राजीनामा दिनु नपर्ने, आफू स्वयं निर्वाचन घोषणासँगै कामचलाउ भएको तर्क अघि सार्दै सत्ता लम्याउन ब्यस्त रहे ।

हिजो निर्वाचन आयोगले राष्ट्रपति समक्ष प्रतिनिधिसभाको निर्वाचन परिणाम बुझाएपछि देउवा र उनका सल्लाहकारहरु एकाएक आफ्नो पूर्व अडानबाट पछि हटे र उनीहरुलाई राजीनामाको याद आयो । अन्ति घडीसम्म पनि देउवाले राजीनामा नगरी बस्नुको कारण जनादेश गुमाएको उनको सरकारले सिफारिस गरेका राष्ट्रपतिद्वारा मनोनीत हुने ३ राष्ट्रियसभा सदस्यको सिफारिसमा अनुचित जिद्दी गर्नका लागि थियो । आयोगले निर्वाचन परिणाम बुझाएपछि पनि देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो सिफारिस सदर गर्न दवाव दिइरहेका थिए । त्यसमाथि उनको सरकारले गत निर्वाचन देखि नै राज्यकोषमा मच्चाएको लूटलाई वैधानिकता दिन पनि उनी राजीनामा नदिई बसेका थिए ।

अचानक राजीनामा बुझाउने मनस्थितिमा पुगेका देउवाको राजीनामा स्वीकृत नगरी राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीको नियुक्ति र सपथग्रहण भएको छ । संसदीय मान्यतामा निर्वाचन परिणाम लगत्तै नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने हो । त्यसमा ढिलाई गर्न त देउवा सफल भए तर, उनी आफैंको चौथो बहिर्गमन पनि ‘गलहत्ती’ नै हुनपुग्यो ।

सपथग्रहणमा बसेका देउवाको अनुहारमा गलहत्तीको चिडचिडाहट प्रष्टै थियो । उनी तलमाथि, दायाँबायाँ हेरिरहेका थिए । निरन्तर केहि चपाईरहेका थिए । मुख खाली थिएन । अनुहारमा तनाव झल्किन्थ्यो । जनमत गुमाएको प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नु, त्यो पनि आफू बहिर्गमन हुने दिन, लोकतन्त्रको भद्दा मजाक भन्दा अरु केहि होइन । यस्तै मजाक उनको सरकारका प्रवक्ताले केहि अघि पत्रकार सम्मेलन आयोजना गरेर प्रदर्शन गरेका थिए । देउवाको चौथो कार्यकाल पनि अघिल्ला जस्तै कुशासन, भ्रष्टाचार र लूटको पर्याय बन्यो । यो नै असली लिगेसी हो उनको ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार