नवनियुक्त प्रधानमन्त्री ओलीको निर्देशन दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई निर्देशन

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई सम्बोधन गर्दै मर्यादित पोशाकमा सपथ ग्रहणमा सहभागी हुन आह्वान गरेका छन्।

‘पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ,’ ओलीले सम्बोधन गर्दै भने, ‘संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।’

ओली त्यतिमै रोकिएनन्। थपे, ‘पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।’

उनले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड हुने गरी अध्ययन गरेर आउनसमेत भने।

जनताको भरोसा पूरा गरौं
सम्बोधनकै क्रममा ओलीले जनताले ठूलो आशा भरोसाका साथ जिम्मेवारी सुम्पेको बताउँदै भने, ‘हाम्रो अवधि तोकिएको छ। त्यसको सामर्थ्य र सीमा छन्। सम्पूर्ण रुपमा असीमितताका साथ काम गर्छौ।’ उनले इमानको सीमा छैन भन्दै इमान्दारिताका साथ काम गर्ने बताए।

देश र देशको हितलाई सर्वोपरी राखेर जनताका निम्ति काम गर्ने उनले बताए। ‘जबज अन्तर्गत हामी अगाडि बढेका छौं। हामीसँग पार्टी संगठन छ,’ उनले भने, ‘स्थानीय तहको ७ सय ५३ निकाय छन्। त्यसमा १४ हजार एमालेका मात्रै जनप्रतिनिधि छन्।’

उनले देशलाई विकास, जनतालाई शान्ति र सुख चाहिएको भन्दै त्यसका निम्ति काम गर्ने प्रतिवद्धता जाहेर गरे।

आफ्नो आचरण पारदर्शी, लोकतान्त्रिक, कानुनी राज र शुसासनको पक्षमा रहने भन्दै त्यसबाहेक सम्झौता नगर्ने बताए।

‘हामी स्वच्छता कायम गरेरै छाड्छौं। भ्रष्टाचार, ढिलासुस्ती हुनै दिँदैनौं,’ उनले भने, ‘कसरी काम गर्ने भनेर माननीयज्यूलाई दिशानिर्देश, प्रशिक्षित गर्छौ।’

ह्विप मान्नुहोला
‘आउने हाजिर लाउने र जाने होइन, हामी ह्विप जारी गर्छौ,’ उनले भने, ‘प्रमुख सचेतक/सचेतक मार्फत् जारी गरिएको ह्विप मान्नैपर्छ।’

उनले सांसदहरु विदेश जाने र के गरिरहेको पनि थाहा नपाउने परम्परा रहेको भन्दै जानकारीविना त्यस्ता गतिविधि गर्न नपाइने बताए। उनले जिल्ला जाँदा पनि जानकारी गराउनुपर्ने बताए।

‘यो संसदीय मोर्चा हो जसलाई पार्टीले निर्देशन गर्छ,’ ओलीले भने, ‘हामी एउटा राष्ट्र निर्माणको महाभियानमा छौं। समस्या, चुनौती आउँछन् त्यसलाई समाना गरेर हामी अगाडि बढ्छौं।’

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार