‘गरीबको छोरो’दोस्रोपल्ट प्रधानमन्त्री भएपछि पहिलो पटक देशभर दिपावली गर्ने गाउँ गाउँमा तयारी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली ०७२ साल असोजमा पहिलोपल्ट माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । आज उनी दोस्रोपटक पनि माओवादीकै समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

नेपाली राजनीतिका शिखर व्यक्तित्व केपी ओली को हुन् भन्ने प्रोफाइल उतारिरहन आवश्यक छैन । उनको दोस्रो कार्यकाल कस्तो रहला भन्ने टिप्पणी गर्ने पनि बेला भइसकेको छैन । दोस्रो कार्यकालका चुनौतीबारे क्रमशः समीक्षा हुँदै जाला । यहाँचाहिँ केपी ओलीको प्रोफाइलबारे अनलाइनखबरले ०७२ साल असोज २४ गते प्रकाशित गरेको सामाग्रीको ‘अर्काइभ’ सामान्य परिमार्जनसहित प्रस्तुत गरेका छौं –

सामान्य पृष्ठभूमि

प्रधानमन्त्री केपी शर्मा ओली वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी डेढ वर्षको हुँदा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउँछन् । उनी ४/५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद ओली बालबच्चा लिएर झापाको सुरुङ्गामा बसाइँ झरे ।
पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले । उनको १० कक्षासम्मको औपचारिक शिक्षा झापामै भयो ।

झापा झरेका र वाल्यकालमै आमाको मातृवात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने । रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए । गरिवीका कारण अरुको काम गरेर बस्न बाध्य बनेका ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।

पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आˆना छोराछोरी छैनन् । भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन ।

सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइँ सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो ।

ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो । आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएको छिमेकीहरु बताउँछन् ।

गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित अनन्तलिङ्गेश्वरमा घर बनाएका छन् । प्रचण्डले जस्तो डेरा भाडा तिरेर बस्नुपर्ने अवस्था उनको छैन ।

पार्टी र राजकीय जिम्मेवारी

केपी ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा -माले) को बैठकबाट केन्ऽीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने । ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित भए ।

वि.सं ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने ।

नेपालको इतिहासमा ओलीको गृहमन्त्रीको कार्यकाल यस्तो बन्न पुग्यो, जुन ९ महिनाको अवधिमा प्रहरीको गोलीबाट नेपालमा एकजनाको पनि मृत्यु भएन । तत्कालीन प्रहरी आइजीपी मोतीलाल बोहोराले ओलीको सन्दर्भमा भनेका थिए- हाम्रो गृहमन्त्रीज्यूको त मुखैमा सरस्वती ।

०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेर आएपछि ओलीको निरन्तर बिजय यात्रा अघि बढ्यो ।

ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुईपटक मात्र सम्हाले र दुबैपटक विवादमा परेनन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने ।

एउटा कक्षामा एक पटकमात्र जाँच दिनुपर्छ भन्ने मान्यता राख्ने ओली मन्त्रीबाट उपप्रधानमन्त्री बनेपछि उनले अब फेरि मन्त्री नबन्ने बताएका थिए । नभन्दै एकैचोटि प्रधानमन्त्री बनेर उनी सिंहदरबारमा प्रवेश गरेका छन् ।

ओलीको शैक्षिक योग्यता सामान्य रहे पनि उनमा बाहिरी ज्ञान उच्च शिक्षा लिनेको भन्दा कम छैन । भाषा साहित्यमा उनको दख्खल राम्रो देखिन्छ । संसद सचिवालयको रेडर्कमा ओलीको शैक्षिक योग्यता ‘अनररी पीएचडी’ लेखिएको छ ।

प्रधानमन्त्री ओलीले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस र बेलारुस आदिको भ्रमण गरेका छन् ।

राजनीतिक यात्राक्रम

झापा क्रान्ति भनेपछि नेपाली राजनीतिमा अहिले पनि चर्चित छ । अझ नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको त्यो नेपालको पहिलो सशस्त्र विद्रोह थियो ।

झापा विद्रोह तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारवद्ध संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा ओली शान्तिपूर्ण क्रान्तिको पक्षमा थिए ।

तर, तत्कालीन पार्टीमा सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरु सशस्त्र विद्रोहको पक्षमा उभिए । पार्टीको बहुमत हिस्सा ‘दुश्मनसँग नभिडे, सामन्तीलाई नगिँडे, आउँदैन जनवाद भाषण ठोकेर’ भन्ने गीत गाउँदै अघि बढ्यो ।

ओली त्यतिबेला १९ वर्षका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका ओली त्यसको तीनरचार वर्षपछि नै पञ्चायती शासकको पञ्जामा परे ।

तत्कालीन नेकपा माले गठनदेखि ०४६ सम्म आइपुग्दा भएको राजनीतिक उतार-चढावमा ओलीले संगठनात्मक भूमिका खेल्न पाएनन् । किनभने उनी ०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमै थिए । ओलीको उमेरको उर्जाशील समय जेलभित्रै बित्यो भन्दा पनि फरक पर्दैन ।

जेलबाट छुट्दा ०४६ सालमा ओली निकै दुब्ला पातला देखिन्थे । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडीभाडा मागेर झापा फर्किएका थिए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि संघर्षमा होमिएका ओली ०३० देखि ०४४ सालसम्म १४ वर्ष जेल परे । जेलभित्रैबाट पनि उनी पार्टीको रजनीतिक काममा भने सक्रिय रहे । उनले जेलबाटै चिठीपत्रका माध्यमबाट पार्टीमा विचार प्रवाह गर्थे ।

जेलभित्र गम्भीर बिरामी परेर मृत्युको मुखमा पुगेका ओलीलाई कसरी बचाइयो भन्ने कुरा उनका राजनीतिक सहयोद्धा राधाकृष्ण मैनालीले आˆनो संस्मरणमा लेखेका छन् ।

ओलीले जेलबाट छुटेपछि ०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फवाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । त्यसपछि उनी पार्टीमा मदन भण्डारीको दाहिने हात बनेर एकाएक उदाउन थाले ।

०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई उनले साथ दिए ।

सशस्त्र विऽोहको विपक्षमा ०२८ सालमै मत जाहेर गरे पनि अल्पमतमा परेका ओली २० वर्षपछि बहुदलीय जनवादको नीति पारित भएपछि त्यसका प्रवक्ता बनेर उभिए । त्यसैले अहिले पनि ओलीलाई एमालेमा बहुदलीय जनवादको ब्याख्याता भन्ने गर्छन् उनका समर्थकहरु । यद्यपि बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी हुन् ।

मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएलगत्तै एमालेमा नेतृत्वका दाबेदार बन्न चाहे पनि ओलीको पक्षमा माहौल बनेन । माधव नेपाल एकाएक पार्टीको नेतृत्वमा स्थापित भएपछि ओली उनको सहयोगी बने ।

माधव नेपालसँग ओलीको सम्बन्ध सधै उतार-चढावपूर्ण रह्यो । पार्टीमा सधैं प्रतिपक्षी भूमिकामा रहे पनि नेपाललाई निणर्ायक संकटका बेलामा जोगाउन ओलीले निणर्ायक भूमिका खेले ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले ०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पराजित भयो ।

तर, ०६५ सालमा ओलीकै सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली शुरु भयो । आज आएर नेपालका सबै कम्युनिष्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूलनीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध बडा रुपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धीको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका थिए ।

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेद्वार थिए, तर उनी झलनाथ खनालसँग हारे । त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए ।

सुरुमा केपी ओली उग्र माओवादी विरोधी मानिन्थे । अहिले आफैंले प्रचण्डसँग अंकमाल गर्न पुगेका छन्, सरकार गठनका लागि मात्रै होइन, पार्टी एकताकै लागि ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार