एकताका लागि ओली र प्रचण्डले के-के गरे ?एकताको भित्री सुत्र यस्ता छन् ?

सत्ता सहयात्रा टुटेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई ध्रुवमा उभिए । दुई नेताबीच संसद्देखि सडकसम्म जुहारी नै चल्यो । यो देख्दा लाग्थ्यो, कम्तिमा यो चुनावसम्ममा एमाले र माओवादीबीचको मिलन सम्भव छैन । तर, सबै जना दसैँको रमझममा रहेका बेला ‘सरप्राइज’ दिने शैलीमा दुई नेताले सात बुँदे समझदारी गरेर पार्टी एकता गर्ने चमत्कारिक ऐलान गरे । त्यसअघि दुई नेताबीच कसैलाई सुइकोसम्म नदिएर दर्जनौँपटक घन्टौँ वार्ता भए । मनका कुरा खुलाखुलस्त हुँदै जाँदा प्रचण्ड पनि पदभन्दा माथि देश भन्ने ओली नीतिमै सहमत बने । दुवै नेताले आफ्ना किचन क्याबिनेटमै रहेका कसैलाई एकताबारे सुइकोसम्म दिएनन् । प्रचण्डले एमाले सत्ता सहयात्रा छाडेर कांग्रेसतिर लागेपछि माधवकुमार नेपाल समूहले लगातार ओलीमाथि प्रश्न उठाउँदै आएको थियो

शुभशंकर कँडेल / राज्यसत्ता कब्जा गर्ने उद्देश्यबाट सुरु भएको माओवादी हिंसात्मक संघर्ष शान्ति सम्झौता हुँदै दुई वटा संविधानसभाका चुनाव झेलेर गलित अवस्थामा पुगेको थियो । आफ्नो कुनै भूमिका माग नगरी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी १६ बुँदे सहमति गरेर नयाँ संविधान घोषणालगत्तै भारतीय नाकाबन्दी र प्रचण्डलाई नै जेल हाल्ने चेतावनीका बीचमा २४ असोज ०७२ मा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै रोस्ट्रममा उभिएर प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाहरूको खेल हो र राजनीतिमा असम्भव केही हुँदैन ।’

त्यही वेलादेखि चैतसम्ममा पुग्दा दुई पार्टीबीचको एकताका अनेकानेक प्रयास र सक्रियता सेलाउँदै गर्दा प्रचण्डले यू टर्न गरे । १९ साउन ०७३ मा त्यही रोस्ट्रममा उभिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखेका प्रचण्ड भन्दै थिए, ‘राजनीतिमा केही पनि असम्भव हुँदैन भन्ने चरितार्थ गर्दै म आफै केपी ओलीप्रति अविश्वासको प्रस्ताव टेबल गराउँदै छु ।’ उनको भनाइलाई एमाले नेता सुवास नेम्वाङले व्यंग्य गर्दै भने, ‘केही महिनाअघि बोल्ने माननीय र अहिले बोल्ने माननीयको नाम त एउटै हो ?’

ओलीलाई हुत्याएर प्रचण्ड प्रधानमन्त्री बने । दिल्लीले दिएको पूर्वआश्वासन पूरा गर्ला कि भन्ने उनमा ठूलो आशा थियो । दिल्लीले शान्ति प्रक्रिया टुंग्याउन सघाएर प्रचण्डको दिल जित्नुभन्दा सधैँ गलाएर राख्ने रणनीति अपनाएको उनले कात्तिकतिर आइपुग्दा राम्ररी बुझिसकेका थिए । चुपचाप प्रचण्ड बडप्पनकै शैली अभिनय गर्दै जेठसम्म पुगे । देउवाले चुनावसम्म तपाईं नै चलाउनुस् भन्लान् कि भन्ने आशा पनि थियो प्रचण्डलाई । तर, सहमति पालनाको महिमामण्डनसहित उनले देउवालाई प्रधानमन्त्री पद बुझाइदिए । स्थानीय चुनावको नतिजाले निदहराम गरिरहेको थियो । त्यो भन्दा केही पहिलेबाट ओलीको वाणीमा प्रचण्डप्रति मिठास झल्किइरहको थियो ।

एमाले पंक्तिमध्येबाट आश्चर्यजनक लाग्नेगरी प्रचण्डप्रति ओलीबाट इरिटेड गराउने काममा विराम नै लागेको थियो । प्रत्यक्ष भेटघाटहरू पनि भइरहेका थिए । १७ असोजमा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिको घोषणा गर्दै प्रचण्डले फेरि भने, ‘नेपाली राजनीतिमा असम्भव केही हुँदैन ।’ ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन गरेको करिब १४ महिनापछि ओली र प्रचण्ड एकठाउँमा उभिन पुगेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन ५४ दिन मात्र बाँकीरहँदा एमाले र माओवादीवीच तालमेलको सहमतिले नेपाली राजनीतिमा मात्र नभएर विदेशमा समेत नयाँ तरंग ल्यायो । वाम एकताको घोषणाले सत्ता साझेदार कांग्रेस र दिल्ली स्तब्ध भएको थियो । चुनावपछि पनि माओवादीसँग गठबन्धन गरेर सरकार चलाउने सपना देख्न थालेका देउवा र एमालेलाई सजाय दिने भन्ने मुडबाट नउत्रेको दिल्ली माओवादी र एमालेबीचको चुनावी तालेमल हुँदै एकताको सहमतिमा पुगेको पत्तोसमेत नपाएर रन्थनिन पुगेका थिए ।

माओवाद कि नावाकाद ?

स्थानीय चुनाव चलिरहेको वेला एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ओलीलाई माओवादीका बारेमा सोधिएको प्रश्नमा उनको यस्तो अरुचिपूर्ण र तिक्त टिप्पणी थियो । ‘माओवादी केन्द्रसँग एमालेको सम्बन्ध अहिले कस्तो छ रु राम्रै छ । चिनजानका मान्छेहरू भेट हुँदा बोलिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी ‘विघटन गर्न सकिने’ भनी दिएको अभिव्यक्तिलाई तपाईंले कसरी लिनुभएको छ रु माओवादीलाई मैले ‘नावाकाद’ (नामको वामपन्थी कामको दक्षिणपन्थी) पार्टीका रूपमा हेरेको छु । उसको नीतिगत स्पष्टता, स्थिरता, लक्ष्य, उद्देश्य, कर्तव्यको निर्दिष्टता केही पनि छैन । कसको भोजमा जानेभन्दा जता बढी खान पाइन्छ, त्यता जानेजस्तो देखिन्छ । त्यसैले विघटनको कुरा आएको हुन सक्छ ।’

यो भनाई सार्वजनिक गरिरहेका वेला पनि ओली माओवादीसँगको सम्भावित एकताको डोरी समाइरहेका थिए । त्यहाँ उनले प्रचण्डलाई त केही भनेनन्, केवल चिनजानका मान्छेका रूपमा चित्रण गरिदिए । अर्कातिर नवाकादको विश्लेषण गरेर सकेसम्म चाँडो कांग्रेससँगको गठबन्धन छोड्न चेतावनीसमेत दिएका थिए ।

कसरी सम्भव भयो यो मिलन ?

सत्ता सहयात्रा टुटेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई ध्रुवमा उभिए । दुई नेताबीच संसद्देखि सडकसम्म जुहारी नै चल्यो । यो देख्दा लाग्थ्यो, कम्तिमा यो चुनावसम्ममा एमाले र माओवादीबीचको मिलन सम्भव छैन । तर, सबै जना दसैँको रमझममा रहेका बेला ‘सरप्राइज’ दिने शैलीमा दुई नेताले सात बुँदे समझदारी गरेर पार्टी एकता गर्ने चमत्कारिक ऐलान गरे । त्यसअघि दुई नेताबीच कसैलाई सुइकोसम्म नदिएर दर्जनौँपटक घन्टौँ वार्ता भए । मनका कुरा खुलाखुलस्त हुँदै जाँदा प्रचण्ड पनि पदभन्दा माथि देश भन्ने ओली नीतिमै सहमत बने । दुवै नेताले आफ्ना किचन क्याबिनेटमै रहेका कसैलाई एकताबारे सुइकोसम्म दिएनन् । प्रचण्डले एमाले सत्ता सहयात्रा छाडेर कांग्रेसतिर लागेपछि माधवकुमार नेपाल समूहले लगातार ओलीमाथि प्रश्न उठाउँदै आएको थियो ।

ओलीले सत्ता हस्तान्तरणको भद्र सहमति तोडेकै कारण प्रचण्ड शेरबहादुर देउवातिर गएको उनीहरूको बुझाइ थियो । ओली समूहमै रहेका वामदेव गौतम पनि माओवादीसँग सहयात्रा ओली नै बिगारे भन्नेमा अलमलिइरहेका थिए । माओवादीमा पनि नारायणकाजी श्रेष्ठसहितका नेताहरू एमालेसँग सहकार्य गर्नुपर्ने लाइनमा थिए । उनले एकपटक असारतिर माइतीघर मण्डलास्थित एक निजी घरमा ओली र प्रचण्डलाई भेटाएर घन्टौँ वार्ता गराएका पनि हुन् । तर, सहमतिमा पुग्नुको साटो तिक्ततामै टुंगिएपछि ओलीको मन फेरि मर्न थालेको थियो । त्यतिवेला एमालेका एकता पक्षधर भनिएका दोस्रो तहका नेताहरूको पनि तालमेलको बारेमा कुनै सक्रियता देखिएको थिएन । प्रदेश–२ को स्थानीय तहको चुनावका क्रममा कांग्रेसले देखाएको व्यवहारबाट प्रचण्डलाई पनि एमालेसँग नजिक पुग्न सहज बन्यो । कांग्रेसका एक नेता भन्छन, ‘प्रदेश–२ मा चुनावी तालमेल गरौँभन्दा देउवाले जसरी इग्नोर गरे, त्यसले प्रचण्डलाई ओलीले लगाएको चोटसमेत बिर्सायो ।’

३ साउन ०७४ मा ओलीले वाम एकता गर्न सार्वजनिक अपिल गरे । ‘म माओवादी केन्द्रका नेताहरूलाई भन्न चाहन्छु, चुनाव जित्नु छ भने एमालेसँग मिल्नोस, अब सती नै जानु छ, सर्वनास नै हुनुछ भने त के गर्नु ? सतीगएर कसैले जित्दैन, सर्वनास होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अब सोचेर अघि बढ्नोस्, ‘आजको नेपालको यथार्थ र भोलिको नेपालको यथार्थ भनेको वामपन्थीशक्ति नै हो । अहिले देशमा एउटा हावा चलेको छ, वामपन्थी तर नामवाला वामपन्थी मात्रै । नामवाला वामपन्थीको जनसमर्थन, मत, उनीहरूको हैसियत बहुत सुदृढ छ नेपालमा ।

तर, त्यसलाई दुनियाँभरिकै प्रतिक्रियावादी शक्तिहरू, नेपाल विरोधी शक्तिहरू, नेपालका प्रगति विरोधि शक्तिहरू तिनलाई फुटाउने, छिन्नभिन्न बनाउने मिल्न नदिने काम गरिरहेका छन्, अहिले त्यस्तै भइरहेको छ, भन्दै केही व्यवसायीको भेटमा निकै गम्भीर अर्थ राख्ने अभिव्यक्ति दिए । सन्दर्भ कस्तो परेको थियो भने केही दिन अघि मात्र वाम एकता गर्ने उद्देश्यले भएको ओली–प्रचण्ड भेट आपसी घोचपेच र तिक्ततामा बदलिएको थियो । तैपनि, वाम एकताका लागि ओली बढ्तै छटपटीमा थिए ।

२९ माघ ०७३ मा पहिलो भेट

ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई नेताबीच ६ महिनापछि २९ माघ ०७३ को बिहान नारायणकाजी श्रेष्ठको निवासमा लञ्च बैठक भएको थियो । त्यो बैठकमा श्रेष्ठ र भीम रावल पनि सँगै थिए । ओलीले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नका लागि प्रचण्डसँग भेट्न तयार भएका थिए । तर, उनले साथमा भीम रावललाई लिएर गए ।

‘ओलीले चुनाव मिति घोषणा गरेपछि राजनीति आफै संग्लिँदै जाने धारणा राख्दै त्यसका लागि खुट्टा दह्रो गरी टेके आफू दाहाललाई सघाउन तयार रहेकोसमेत आश्वासन दिएका थिए ।’ ९१ फागुन ०७४, कान्तिपुर दैनिक० चुनाव घोषणा भइसकेपछि एकदिन ओलीले एकजना शुभेच्छुकसँगको अर्कै प्रसंगको कुराकानीमा जसरी पनि एमाले माओवादीसँग मिल्नुको विकल्प नभएको, प्रचण्डसँग हात मिलाउनुलाई बाध्यता नै मानेर भए पनि अघि बढ्नुपर्ने सुझावलाई उनले गहिरो गरी लिए ।
त्यसैको भोलिपल्ट पाटनमा भएको एउटा सभामा ओलीले भने, ‘प्रचण्डजी चुनाव गर्न खुट्टा नकमाउनुस्, संसद्मा नेकपा एमाले पनि छ भन्ने हेक्का राखे हुन्छ ।’

प्रचण्डका लागि ओलीबाट आएको यो नै विन्दु एकताको गोली बन्न पुग्यो । त्यसपछि छलफल र भेटघाट बाक्लिन थाले । त्यस्ता भेटघाटहरू कहिल्यै सार्वजनिक भएनन् । अन्ततः एकपटक त कुरा गरौँ न भन्ने आशामा भएको छलफलले पार्टी एकताकै जग हाल्यो विजयादशमीको अघिल्लो रात ।

एकतामा किन ढिलाइ ?

चुनावलगत्तै ओलीले झापा पुगेर प्रमाणपत्र बुझेर फर्कने र प्रचण्ड चितवनबाट फर्केलगत्तैको एक हप्तामै एकता टुंग्याउन चाहन्थे ओली । तर, त्यो एक हप्तामा केवल दुईपटक संक्षिप्त भेटबाहेक विषयमा प्रवेश गरेर कुरै भएन । प्रचण्डलाई विदेशी दूतहरूले ‘क्यारोट एन्ड स्टिक थ्योरी’ को जाल हान्न थाले । उनी अल्मलिए । तालमेल घोषणाका बेला दुई अध्यक्षले मात्र राखेको कागजमा सात बुँदे सहमति थियो । त्यसलाई सार्वजनिक नगर्ने पनि दुवैको सहमति विपरीत उनले ‘पार्टी एकता र सरकार सञ्चालन गर्ने विषयमा हाम्रो बीचमा आलोपालो गर्ने सहमति भएको छ । ९०७ पुस २०७४, चितवन० भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि ओलीलाई शक (करेन्ट लागे) जस्तै भयो । प्रचण्ड चितवनतिर झन्डै एकहप्ता अल्मलिएर काठमाडौं आएपछि दुई जनाबीचका पट्यारलाग्दा भेटघाट भइरहे । तर, कुनै निष्कर्ष आउन सकेको थिए ।

त्यही बीचमा ओली स्वास्थ्योपचारका लागि एक हप्ता बैंकक गए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा शुभकामना टेलिफोन गर्दै थप राजनीतिक सम्बन्ध बढाउन विदेशमन्त्री शुस्मा स्वराजलाई नेपाल पठाए । त्यतिवेलासम्म प्रचण्डको एउटा मनको अन्तरकुन्तरमा रहेको आशा र त्रास दुवै कुरा उदांगो हुन पुग्यो । त्यसपछि फेरि केही दिन ‘क्यारोट एन्ड स्टिक’ अस्त्र तीव्र बन्यो । उता उदारता र कठोरताको अतिले निकै हदसम्म पीडित ओली निराश बन्दै गएका मात्र थिएनन् । उनी केही झाम्टाको सहयोगमा सरकार बनाउनुभन्दा प्रतिपक्षमा जान तयार भएर बसेका थिए । त्यो अतिमा आत्ममन्थन र स्थितिको विश्लेषणमा संभव विकल्प र उपायलाई अझै अस्वीकार नगर्ने स्वीकारोक्तिपछि ओलीले प्रचण्डलाई सात बुँदे सहमतिकै मोडलबाट अघि बढ्न राजी बनाए ।

प्रचण्डसँग पनि बाँकी कुनै विकल्प बचेको थिएन । त्यसलाई सैद्धान्तिकृत गर्दैै जनयुद्ध दिवस मनाइरहेका वेला उनले भने ‘सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी एमाले र माओवादी केन्द्र शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।’
ठीक विपरीत ओली गत एक महिनादेखि एकताका बारेमा कुनै सार्वजनिक अभिव्यक्ति नदिई मौन बसिरहे । यदि यो बीचमा प्रचण्डकै शैली पच्छ्याएर ओलीले पनि जवाफ दिएको भए एकता राग उतिबेलै समाप्त भइसकेको हुनेथियो । लक्ष्य भेदनलाई अर्जुन दृष्टि बनाउने ओली प्रवृत्तिले नै एकतालाई निष्कर्षमा पुर्याउन निर्णायक भूमिका खेल्यो ।

त्यसो त प्रचण्डलाई एकताबाट च्यूत गराउन गरिएका जालझेल, धम्की उनकै सहयोगी र जर्नेलहरूले गरेका हथकन्डालाई समेत सहजै केही नभए जसरी नजर अन्दाज गरिदिने स्वभाव र वर्चस्वका कारण उनलाई ओलीसँगको एकतामा जस्तोसुकै निर्णय लिन पनि कसैले रोक्न सक्ने अवस्थामा थिएन । यिनै भित्री कथाले दुवै नेताले ऐतिहासिक र साहसिक निर्णय लिन पुगे । जुन नेपालको लागि मात्रै नभएर विदेशमा समेत सर्वाधिक चर्चाको विषय बन्न पुग्यो । सौर्य दैनिक

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार