‘काठमाडौं बसेर दिएको अादेशले अब पार्टी चल्दैन’

प्रा. डा. लोकराज बराल नेपाली कांग्रेसको पुनर्याैवन विषयलाई केन्द्रमा राख्दै पछिल्लो समय नेपालको राजनीति र विशेष गरी यो पार्टीलाई नजिकबाट चिन्दै र विश्लेषण गर्दै आएका विभिन्न राजनीतिक विश्लेषकसँग बहस र विचार विमर्शको सुरूवात गरेको छ। यसै सन्दर्भमा राजनीति शास्त्रका विद्धान समसामयिक राजनीतिक अध्ययन केन्द्र, नेपालका अध्यक्षसमेत रहेका प्राध्यापक डाक्टर लोकराज बरालसँग गरेको कुराकानीमा आधारित विचारको सम्पादित अंशः

लोकतान्त्रिक परिपार्टी र चुनावी राजनीतिमा भाग लिने दलको जीत र हार भइरहन्छ र त्यो सामान्य कुरा हो। पहिले पनि चुनावमा नेपाली कांग्रेस कहिले पहिलो त कहिले दोस्रो पार्टी भएको थियो।

पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो भएका थिए जुन दोस्रो संविधानसभाको निर्वाचनमा पुनः बदलिएर कांग्रेस पहिलो भयो भने पहिलो स्थानको माओवादी तेस्रो स्थानमा पुग्यो।

यसपाली समय, परिस्थिति र सम्भवतः देशमा चलेको लहरले पनि हुन सक्छ, कांग्रेस पछाडि पर्‍यो। खासगरी भारतीय नाकाबन्दी र त्यसबाट उत्पन्न परिस्थितिको मारमा परेका जनताको भावनालाई एमाले अध्यक्ष केपी ओलीले बुझे र त्यसको विपक्षमा उभिन पुग्दा एमालेलाई फाइदा भयो र कांग्रेसलाई नोक्सान भयो।

विडम्बना नै भन्नु पर्छ, अरू पार्टीले पिठोलाई पनि चामल बनाएर बिकाउन सफल भए तर कांग्रेसले भने चामललाई पनि चालम नै हो भनेर बिकाउन सकेन।

यसले ‘बोल्नेको पिठो विक्छ, तर नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखानलाई चरितार्थ गर्‍यो पनि।

खासगरी वामपन्थी दलको प्रचार शैली र उनीहरूको मार्केटिङ शैली थियो त्यसमा कांग्रेस अत्यन्त फितलो देखियो।

आफूले देश र जनताको पक्षमा गरेको कामको सही मूल्यांकन र उपलब्धीको बारेमा जसरी जनतामाझ पुर्‍याउँदै कांग्रेसले अब हामीले यी निश्चित उद्धेश्य र लक्ष्य प्राप्तिका लागि काम गर्छौ भनेर जनतामा प्रभावकारी सन्देश दिनुपर्ने थियो त्यो पनि गर्न सकेन।

यो सवालमा कांग्रेसको नेतृत्वसँगै यसका कार्यकर्तामा ठूलो कमजोरी देखियो। जब नेतृत्वको कार्यशैली कमजोर हुन्छ त्यसको प्रभाव सिंगो पार्टी संगठनभित्र पर्नु स्वभाविक मानिन्छ।

जनतासमक्ष प्रत्यक्ष संवाद स्थापना गरेर उनीहरुलाई आफ्नो राजनीतिक लक्ष्य, उद्धेश्य र गन्तव्यका विषयमा बुझाउन नसक्नु नै कांग्रेसको सबैभन्दा ठूलो कमजोरी रह्यो।

जसले गर्दा हालै सम्पन्न चुनावमा कांग्रेसलाई नराम्रो धक्का लाग्यो। निर्वाचनको परिणामलाई लिएर कतिपयले अब कांग्रेसको पनि कुनै समयको राष्ट्रिय प्रजापरिषद्को जस्तै भविश्य सकियो भन्ने निश्कर्ष निकाल्न थालेका छन्।

प्रजापरिषद नै हुन्छ भन्ने विश्लेषण र निचोड जसले निकालिरहेको छ त्यो राजनीतिको गहिराई नबुझि गरिएको सतही विश्लेषण हो। किनभने, प्रजापरिषद कुनै पार्टीका रुपमा स्थापित संस्था थिएन। त्यो त केबल राणा शासनको विरुद्धमा पर्चा पम्प्लेट वितरण गर्नका लागि हिँडेका केहि व्यक्तिहरू पक्राउ परेपछि चर्चामा आएको थियो।

पछि सन् १९५० मा विपी कोइराला लगायतका नेताहरुले नेपाली कांग्रेसको स्थापना गर्ने क्रममा टंकप्रसाद आचार्यलाई उनको अनुपस्थितिमा पनि पार्टीको नेता बनाइदिएका थिए। त्यस पछाडिको समयमा प्रजापरिषद्ले कुनै पार्टीको सांगठनिक स्वरुप लिन सकेन।

तर, कांग्रेस जतिबेला स्थापना भयो त्यतिबेलादेखि नै प्रजातन्त्र र जनताको अधिकारका पक्षमा निरन्तर क्रान्तिको नेतृत्व गर्दै आएको छ। यसको आफ्नै इतिहास छ।

चाहे २००७ को राणा विरुद्धको क्रान्ति होस् या २०१७ मा राजा महेन्द्रको निरंकुश कदम, त्यसविरुद्ध यो पार्टी र यसका नेतादेखि कार्यकर्ताले निरन्तर लड्दै आए। २०४६ सालमा आफ्नै नेतृत्वमा निरंकुश पंचायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना गराउन सफल भयो।

त्यतिमात्रै होइन, पछिल्लो राजनीतिक परिवर्तन र रुपान्तरणको नेतृत्व पनि कांग्रेसले नै लिएको छ।

जुनसुकै राजनीतिक परिवर्तनमा पनि कांग्रेसले नेतृत्व लिएका समयमा मात्रै त्यो परिवर्तनको मुद्दाले गति लिन सकेको कुरा कसैले विर्सनु हुँदैन।

यो पार्टीले खेलेको ऐतिहासिक भूमिकालाई विर्सेर कसैले अब यो पार्टीको भविश्य नै सकियो अथवा प्रजापरिषद नै हुने भयो भन्नु इतिहास नबुझेर गरिएका हल्का टिप्पणी बाहेक केही होइन।

अर्को तर्फ, आफूलाई ठूला लोकतन्त्रवादी शक्ति भन्न रुचाउने एमाले भनौँ या अहिले अगाडि आउँदै गरेको नेकपा माओवादी (मधेसवादी दलहरु क्षेत्रीय पार्टीहरु हुन्) जे जति पार्टीहरु, विशेषगरी आफूलाई वामपन्थी वा कम्युनिष्ट हौँ भन्नेहरु छन्, उनीहरु कोही पनि वास्तविकतामा कम्युनिष्ट पार्टी होइनन्। त्यी केबल नारा र ब्राण्डका मात्रै कम्युनिष्ट हुन्। उनीहरु जे भए पनि आज शब्दमा आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी हुँ भन्ने गरेका छन्। तर, वास्तविक रुपमा लोकतान्त्रिक शक्ति कांग्रेस नै हो। यसको जन्म नै लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएको थियो र यसैमा अडिग छ।

सामाजिक न्याय, आर्थिक न्यायसहितको समृद्धि र रुपान्तरण गर्दै जनताको उन्नतीका लागि गरिब, दुःखी, पिछडिएका वर्गदेखि सम्पन्न र उद्योगपतिबीच सन्तुलन कायम गर्न विपी कोइरालाले आर्थिक उदारिकरणसहितको समाजवादको सिद्धान्त प्रतिपादन गराए। किनभने उनी गान्धीको विचारबाट पनि प्रभावित भएका थिए।

विपी कोइरालाले लिएको समाजवादको सिद्धान्त जनमुखी कार्यक्रम जनतामा लैजाने उद्धेश्यले नै सुरू गरेका थिए।

यी विगतका उपलब्धीहरू यो पार्टीका ऐतिहासिक पहिचानहरू हुन्। तर यी ऐतिहासिक पहिचानलाई रटान लगाएर मात्रै अबका दिनमा पार्टी संगठन बलियो हुँदैन। यसका सिद्धान्त, विचार र कार्यक्रम न्यायसंगत ढंगमा समय सापेक्ष बनाउन सक्नु पर्छ।

नयाँ परिस्थिति र जनचाहना अनुसार नेतृत्वले निर्णय लिन सक्नुपर्छ। यसरी निर्णय लिने क्रममा कहिले काँही कतिपय निर्णय चुनौतिपूर्ण पनि हुन सक्छन्। अर्थात कहिलेकाही खतरालाई मोल्नुपर्ने अवस्था पनि आउन सक्छ।

तर अहिलेको नेतृत्वमा यसरी परिस्थितिको सहि मूल्यांकन गरेर जनचाहना बमोजिम निर्णय लिन सक्ने क्षमता, जनमुखी कार्यक्रमलाई अगाडि बढाउन सक्ने क्षमता र दूरदर्शिता देखिदैन। कांग्रेसका निम्ति सबैभन्दा दूर्भाग्यको विषय नै यही हुन पुग्यो।

साँच्चै विश्लेषण गरेर भन्ने हो भने एमाले र माओवादीसँग पनि नयाँ योजना र कार्यक्रम केनै छ र? केही पनि छैन। अब निर्वाचनमा जितेको जोशमा सरकारमा पुगेपछि उनीहरुले के नै गर्न सक्छन् र? यी दलका नेताहरुले अलिकति चुट्कीला भाषण गर्न जानेका छन्। अलिअलि फुर्तिफार्ती गर्लान्। त्यो बाहेक त अरु केही पनि गर्दैनन्।

उनीहरुले भाषण राम्रो गर्दछन्। आफ्ना कुरा जनता समक्ष पुर्‍याउँछन्। उनीहरूमा बोल्ने क्षमता छ। भाषण गर्दा उखान टुक्का हालेर हुन्छ कि, आन्का तान जोडेर हुन्छ, सस्ता र लोकप्रिय नाराहरु दिएर हुन्छ, उनीहरुले जनतामाझ आश्वासनका पोका बाड्न सक्छन्। उनीहरुले दिएका सस्ता नारा र आश्वासन दीर्घकालमा उनीहरुकै लागि समेत घातक हुन सक्छ।

यस्तो अवस्थामा कांग्रेसले सबैभन्दा पहिले आफूभित्र लोकतान्त्रिक आचरण देखाउन सक्नुपर्छ। त्यसभित्र देखिएका विवादित पात्र र प्रवृतिहरु जस्तो भ्रष्टाचारको आरोप लागेका व्यक्तिदेखि राज्यका विभिन्न निकायमा पात्रता, योग्यता र क्षमता भन्दा नातावाद, कृपावाद र आर्थिक चलखेल जस्ता ससाना कुराहरुमा नेतृत्व अल्झिएरको विषयले राजनीतिमा असर पारेको छ।

ससाना निर्णयले पनि पार्टीलाई चुनावमा असर गर्दछ र पार्दछ भन्ने कुराको उदाहरण खोज्न धेरै पर जानुपर्दैन।

पछिल्लो समय अजय सुमार्गीको नाममा विदेशबाट आएको रकमको स्रोत खोज्दै राष्ट्र बैंकले रोकिराखेको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालो धनलाई सेतो बनाउन पनि दिनुपर्छ भन्ने अभिव्यक्ति दिए। त्यसले उनीप्रति पनि आम नागरिकको धारण बदलिएको छ। ए यो पनि यस्तै त र’छनी भन्ने परेको छ।

हालै सम्पन्न चुनावमा दोस्रो स्थानमा पुग्यो भन्दैमा कोहि आत्तिएर ए अब कांग्रेस सकियो भन्ने निचोड सहि होइन।

तर, यही गति र मतिको नेतृत्व भइदियो र केबल काठमाडौंमा बसेर खाली निर्देशन मात्रै दिएर बसिरह्यो भने त्यो नेतृत्व त असफल हुन्छ नै। त्यसले सिंगो पार्टीको भविश्य नै खतरामा पार्नेछ।

अब पुरानो पुस्ताको नेतृत्वले नयाँ जोस, जाँगर र ऊर्जावान युवा जसले जनताकामाझ आफ्ना कुरा राम्रोसँग पस्किन सक्दछन्,उनीहरुलाई देशभरी परिचालन गरेर संगठन मजबूद बनाउन सक्नुपर्छ। राजनीतिबाट टाढा बसेका युवाहरुलाई आकर्षित गर्न सक्नुपर्छ।

अरु पार्टीको कमजोरीका कारण आफ्नो पार्टी बलियो हुन्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। कम्युनिष्टहरु कहिले फुटिदेलान र त्यसको फाइदा कांग्रेसले लिन पाउँला भन्ने सोचबाट मुक्त हुनु पर्‍यो। स्वस्फूर्त रुपमा जनताको आकर्षण बढाएर पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्नु पर्दछ।

त्यसको लागि आधारभुत तत्व के के हुन त?

यसका लागि पहिलो आधारभूत तत्व भनेकै पार्टीको सांगठनिक स्वरूप हो र त्यो स्पष्ट हुनु आवश्यक छ। शेरबहादुर देउवा सभापति निर्वाचित भएको झण्डै दुई वर्ष पुग्न लागिसक्यो तर, उहाँले अहिलेसम्म केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरुको मनोनयन गरी पूर्णता दिन सकिरहनु भएको छैन। यस्तो ढंगले अब पार्टी अगाडि बढाउन सकिँदैन।

उहाँले शशक्त युवा पुस्ताका कार्यकर्ता समेटेर आफ्नो सचिवालय पनि चुस्त र दुरुस्त बनाउन सक्नु भएको छैन।

नेतृत्वमा पुगिसकेपछि सबै नेता र कार्यकर्ताप्रति समदृष्टि नराखेर कुनै जिम्मेवारी दिँदा कसैलाई काखा र पाखा गरेको अनूभूति कदाचित दिनु हुँदैन।

लोकतन्त्र भनेकै न्यूनतम मूल्य, मान्यता र सिद्धान्तको राजनीति हो। यसमा जब नातावाद, कृपावाद र मनपरितन्त्रले बढावा पाउँछ त्यसले सिंगो संगठनलाई नै कमजोर बनाउँछ।

कुनै पनि संगठन सिद्धान्त र विचारधाराबिना जीवन्त रहन सक्दैन। त्यो सिद्धान्तलाई विकृत अथवा प्रदुषित हुन नदिएर व्यवहारमा उतार्न नेतृत्वको अहंम भूमिका रहन्छ।

विपिको पालामा भनिएको समाजवादको दृष्टिकोण अहिलेको बदलिदो परिवेशमा समय सापेक्ष नहुन सक्छ। आजभन्दा ६० वर्ष पहिलेको समाजका आवश्यकता र चाहना भन्दा अहिलेको समाजको आवश्यकता र चाहना अवश्य नै फरक भएको छ।

अहिले त सामाजिक न्यायका कुरा, गाउँ गाउँमा स्वास्थ्य, शिक्षा, रोजगार र कृषिको आधुनिकिकरण जनतालाई चाहिएको छ। यसले मात्रै जनताको विश्वास जित्न सकिन्छ।

वास्तविक समाजवादका अर्थ भनेकै समाजका हरेक समस्याहरुको पहिचान गर्दै त्यसको सहि समाधान मार्फत सबै तह र तप्काका जनताको जीवनस्तर माथि उठाउँदै समाजको रुपान्तरण गर्नु हो।

भन्नका लागि संविधानमा नै समाजवाद उन्मूख अर्थतन्त्रको कुरा गरिएको छ। तर यसमा कांग्रेसले गर्दै आएको समाजवादको परिभाषा र कम्युनिष्टहरुले भन्ने समाजवादमा भिन्नता छ कि छैन? यदि कुनै भिन्नता छ भने त्यसको पुर्नपरिभाषा र व्याख्यासहित जनतालाई बुझाउन सक्नु पर्छ। कांग्रेसले आफ्नो लोकतान्त्रिक सिद्धान्तलाई पक्रिदै अलिकति प्रगतिशिल कार्यक्रम दिन सक्नुपर्छ।

यसरी जनतालाई बुझाउनका लागि कांग्रेसले ८० पृष्ठको चुनावी घोषणापत्र बनाएर हुँदैन। किनभने, न त्यो सबै जनतामाझमा पुर्‍याउन सकिन्छ, न त त्यसलाई कुनै नेता वा कार्यकर्ताले नै पढ्न र बुझ्न समय नै हुन्छ।

त्यस्तो स्थितिमा जनताले सहजै बुझ्न सक्नेगरी बुँदागत रुपमा आफ्ना धारणा अगाडि सार्न सक्नु पर्दछ ता कि जनताले यो पार्टीको नीति, उद्धेश्य र कार्यक्रमबारे स्पष्ट हुन सकुन्। राज्यका सबै निकाय र सरकार जनमुखी र उत्तरदायी बनाउनेदेखि अहिले देखिएको नातावाद, कृपावाद र भ्रष्टाचारको आरोपबाट मुक्त हुन सक्नुपर्छ।

हामीले राज्यका हरेक निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अंगिकार गरिसकेका छौँ भने अब त्यसको व्यवहारिक कार्यान्वयन कसरी गर्न सकिन्छ र लक्षित वर्गलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत हुनु जरुरी छ।

दोस्रो, कुनै पनि संगठन बलियो हुनका लागि त्यसको नेतृत्व सक्षम हुनु अति आवश्यक छ। कहिलेकाही परिस्थितिजन्य अवस्थाले कुनै व्यक्तिलाई नेतृत्वमा पुर्याउँछ। तर, अहिले भएको नेतृत्वबाट कांग्रेस अगाडि बढ्न सक्दैन भन्ने तथ्यले नै पुष्टि गरिसकेको छ। उदाहरणका लागि वर्तमान सभापति शेरबहादुर देउवा दशौं पटक मुलुकको प्रधानमन्त्री भए पनि उनीबाट यो भन्दा फरक परिणाम आउँदैन र त्यो अपेक्षा गर्न पनि सकिँदैन।

त्यसकारण नेतृत्वको क्षमता बढाउनु छ भने पहिलो पुस्ताका नेताहरुले दोस्रो, तेस्रो पुस्ताका कम्तिमा पनि ४० देखि ५० जना सक्षम युवालाई सहि राय सुझाव र सल्लाह दिएर उनीहरुलाई देशभरी परिचालन गर्न र पार्टी संगठनको क्रियाशीलता बढाउन आवश्यक छ।

त्यसैगरी यो पार्टीभित्र देखिएको अर्को जटिल समस्या भनेकै अनुशासन र कार्यकर्ताको मूल्यांकन पद्धतिमा देखिएको त्रुटि हो। कुनै नेता वा कार्यकर्ता एकले अर्कोलाई हराउँदा त्यसको सहि मूल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था नेतृत्वले स्थापित गर्न सक्नुपर्छ।

कुनै पनि राजनीतिक पार्टी जीवन्त राख्न त्यसप्रति आम जनताको आकर्षण जरुरी हुन्छ। उदाहरणका लागि भारतमा नरेन्द्र मोदी र उनको पार्टीले चुनावमा प्राप्त गरेको सफलतालाई लिन सकिन्छ। हुनत, मोदीको त्यो लोकप्रियता पनि पछिल्लो समयमा विस्तारै घट्दै गइरहेको छ। तर पनि जनतालाई आकर्षित गर्न लादिएको नेतृत्वबाट सम्भव छैन। नेतृत्व लिन चाहने व्यक्ति स्वयंमा त्यो क्षमता र कला जरुरी छ।

विगतमा पनि गिरिजाप्रसाद कोइराला देशभरी चुनावी अभियानमा हिड्थे। उनमा भाषण गर्ने खासै कला थिएन। तर, उनले आफूसँगै राम्रो भाषण गर्नसक्ने केही युवा नेताहरु लिएर जाने र आफू भन्दा पहिले त्यी युवामार्फत पार्टीको विचार जनसमक्ष पस्किने गर्थे।

त्यसैले नेतृत्वले सही ढंगले लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि र विकासबारे जनतालाई बुझाउन सकेन भने कुनै पार्टीप्रतिमात्रै होइन सिंगो लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै जनताको मोह भंग हुन सक्छ। त्यसले लोकतन्त्रलाई नै मार्छ।

केही दिनअघि मात्रै माल्दिभ्समा भएको राजनीतिक घटना त्यसको पछिल्लो उदाहरण हो। भारतमा पनि धर्मको नाममा अनेकन गतिविधिहरु भइरहेका छन्। त्यसैले लोकतन्त्रको फोस्रा नाराले मात्रै यो व्यवस्था टिकाउ हुन सक्दैन। हाम्रो सौभाग्य हो कि, हाम्रो देशमा कुनै धार्मिक वा जातिय द्वन्द्व छैन।

आफूलाई जीवन्त राख्न कांग्रेससँग एउटा मणी छ, जुन अरु पार्टीसँग छैन्। जन्मकालदेखि नै उदार लोकतन्त्रिक सिद्धान्त बोकेर अगाडि आएको हो। यसले बोकेकै विचार अनुसार अहिले आफूलाई कट्टर लेनिनवादको हिमायती भन्नेहरु पनि बहुलवादमा आधारित राजनीतिक प्रणालीलाई स्वीकार गर्न तयार भए र संविधानमा नै त्यो पदावलीको प्रयोग भयो।

अहिले हामीले अंगीकार गरेको बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था र यसले लिएको उदार अर्थतन्त्र नै कांग्रेसको मणी हो।

जुन राजनीतिक परिवर्तनका लागि कांग्रेसले दशकौं लड्यो र अहिलेको स्थितिमा आइपुगेको छ त्यो परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेस सक्षम हुन जरुरी छ। यसैमा नेपालको लोकतन्त्रको भविश्य निर्भर रहेको छ। अन्यथा यी प्राप्त उपलब्धीहरु फेरि गुम्न सक्ने खतरा कायमै छ।

ती खतराका संकेतहरु हालै सम्पन्न चुनावका क्रममा मात्रै होइन, प्रदेशसभाको संचालनदेखि त्यसमा गरिएका व्यवस्था कसरी टिकाउ गर्ने भन्ने चुनौति अझै बाँकि छ।

विडम्बना नै भन्नुपर्छ, राष्ट्रपति जस्तो संवैधानिक र मर्यादित व्यक्ति नै कुनै यो वा त्यो पक्षमा उभिएर लबिङ गर्दै हिड्ने र आफू पुनः त्यहि पदमा दोहोरिन पदिय मर्यादा विर्सेर नेताहरुको ढोका चाहर्ने काममा व्यस्त देखिन्छन्। यो पनि हाम्रो व्यवस्था र यसले श्रृजना गरेका संस्थाहरुको मर्यादा लिक बाहिर जान लागेका अशुभ संकेतहरु हुन्। यदि यी गतिविधिहरुको समयमा नियन्त्रण हुन सकेन र कांग्रेसले राजनीतिक एकीकरणको भूमिका निर्वाह गर्न सकेन भने यसले आफूसँग भएको मणी गुमाउने छ।

यसको अपेक्षा अरु कम्युनिष्ट पार्टीबाट गर्न सकिदैन। उनीहरु लोकतान्त्रिक शासन व्यवस्थामा आएका मौका नमिलेकाले मात्रै हो। मिल्यो भने उनीहरु फेरि पनि ढाडमा टेकेर टाउकोमा हान्ने र सत्ता कब्जा गर्ने नारा व्यवहारमा फेरि नव्यूउँताउलान भन्ने कुनै ग्यारेन्टी छैन।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार