आजै मुलुकले नयाँ प्रधानमन्त्री पाउँदै

काठमाडौं, फागुन २ मंसीरमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको बाम गठबन्धनले निर्वाचन परिणाम बुझाएलगत्तै सरकार गठनको दावी गर्ने भएका छन । दुई दलको तयारीअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन परिणाम आज राष्ट्रपति बिद्या भण्डारीलाई बुझाएको अवस्थामा मुलुकले नयाँ प्रधानमन्त्री आजै पाउने सम्भावना देखिएको छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाउनासाथ आफूसँग बहुमत रहेको दावी प्रस्तुत गर्दै एमाले र माओवादीले राष्ट्रपति समक्ष सरकार गठनको दावी पेश गर्ने एक नेताले बताए । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा निर्वाचन परिणाम आयोगले कानुनी जटिलता देखाउँदै राष्ट्रपतिसमक्ष बुझाएको छैन । आयोगले राष्ट्रियसभाको निर्वाचन परिणाम आइसकेपछि प्रतिनिधिसभाको समानुपातिक तर्फको सूची सच्याउन दिएको दुई दिनको समय आज सकिंदैछ ।

प्रमुख दलहरु मध्ये एमाले र संघीय समाजवादी फोरमले बुझाएको समानुपातिकको सूचीमा त्रुटी नभेटिएको र कांग्रेस, माओवादी र राजपाले बुझाएको सूचीमा त्रुटी भेटिएपछि सूची सच्याउन आजसम्मको समय दिएको थियो । त्यसमध्ये माओवादी र राजपाले सूची सच्याइसकेका छन् भने कांग्रेसले सूची सच्याएर पठाउन बाँकी छ । कांग्रेसले अन्तिम समयसम्म सत्ता दुरुपयोग गर्नका लागि जानीजानी सूची बिगारेर पठाएको थियो । दुई दिन भएपनि सत्तामा बस्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जानीजानी सूची बिगारेर पठाएको एक नेताले बताए ।

कांग्रेसले पठाएको सूची समय भित्र नसच्याए आयोग आफैंले पहिले बुझाएको सूची अनुसार समानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्नेछ र परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । आयोग स्रोतका अनुसार आजै कांग्रेसको सूची आएपछि निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझाउने कार्यक्रम छ ।

आयोगले बुधबार राष्ट्रपतिलाई नतिजा बुझाए लगत्तै वाम गठबन्धनले प्रतिनिधिसभामा आफूहरुको बहुमत पुग्ने दावी सहितको पत्र राष्ट्रपतिलाई बुझाउनेछन् । एमालेको १२१ र माओवादीको ५३ गरी प्रतिनिधिसभामा २ दलको मात्र १७४ सिंट प्रतिनिधिसभामा पुग्छ । त्यसमाथि राष्ट्रिय जनमोर्चाका १, राप्रपाका १ र स्वतन्त्र १ गरी १७७ संसद सदस्य संख्याको समर्थन वाम गठबन्धनले पाउने देखिएको छ ।

आयोगले प्रतिनिधिसभाको परिणाम बुझाउनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेछन् । आजै एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ । आयोगले निर्वाचन परिणाम बुझाउनासाथ सरकार गठनको दावी प्रस्तुत गर्ने समझदारी दुवै दलका शीर्ष नेताबीच भएको छ ।

संविधानको धारा ७६ ले कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको खण्डमा दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त गर्ने दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था गरेको छ । सोहि अनुसार आफूहरुसँग बहुमत रहेको दुई वामपन्थी दलले राष्ट्रपति समक्ष दावी पेश गर्नेछन् ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार