जनयुद्धमा जेल परिन्, श्रीमानकाे हत्या भयो, तर रोकिएनन् क्रान्तिकारी पाइलाहरू!

काठमाडौं, चर्चित अमेरिकी लेखक तथा साहित्यकार ह्यारिएट बीचेर स्टोएले भनेकी छन् – ‘महिलाहरु नै समाजको वास्तविक वास्तुकार (आर्किटेक्टस्) हुन्।’ स्टोएले भनेझैं वास्तवमा घर, परिवार हुँदै समाज निर्माणमा महिलाहरुको बहुआयामिक योगदान मानव सभ्यताको शुरुवातबाटै हुँदै आएको छ। पूर्वीय सभ्यतामा त महाकाली, महालक्ष्मी, सरस्वती आदि नामले नारीहरुको पूजा नै गरिन्छ।

समाज सुधारका लागि भएका विद्रोहमा, जागरणका आन्दोलन र दुरगामी राजनीतिक अभियानमा महिलाले सफल नेतृत्व प्रदान गरेका छन्। राज्यसत्ता परिवर्तन गरी समाजलाई प्रगतिशील मार्गमा अघि बढाउन नारीहरु अग्रभागमा उभिएका छन्। नेपालमा पनि हजारौं महिलाले नेपाल राष्ट्रलाई आधुनिक र लोकतान्त्रिक बनाउन उल्लेखनीय योगदान दिएका छन्, कहिले आवाजका माध्यमबाट भने कहिले बन्दुकसँग युद्ध मैदानमा होमिएर।

नेपाली राजनीतिक व्यवस्थालाई आमूल परिवर्तन गरी नयाँ सीराबाट अघि बढाउन र मुलुकमा गणतन्त्र स्थापनाका लागि भएको माओवादी जनयुद्धमा पनि नेपाली महिलाहरुकाे अतुलनीय योगदान रहेकाे छ। युद्धमोर्चाका धेरै ठाउँमा महिला नै अगाडि थिए। त्यस्तै साहसी योद्धा हुन्, धर्मशिला चापागाई। जनयुद्धमा बन्दुक बोकेर लड्दै गर्दा उनी जेल परिन्। तर, गणतन्त्रका लागि अघि बढेका उनका पाइला कहिल्यै विचलित भएनन्।

स्वास्थ्यमा समस्या अाएपछि काठमाडौंको सिनामंगलमा बस्दै आएकी छिन् धर्मशिला। तर, राजनीतिक दाैडधुप पनि चलि नै रहेकाे छ। गत साता उनको डेरामा पुग्दा भुइँमा हिटर चलिरहेको थियो, हिटरको बाँयातर्फ दुई वटा पुस्तक थिए –महापण्डित राहुल साङ्कृत्यायनको नेपालीमा अनुवादित पुस्तक बोल्गादेखि गङ्गासम्म र शिक्षामा मार्क्सवादी चिन्तन। ‘बोल्गादेखि गङ्गासम्म पहिले पनि पढेकी थिएँ, तर फेरि पढ्न मन लागेर शुरु गर्दैछु’, कुराकानीको थालनी गर्दै धर्मशिलाले शुभदिनसँग भनिन्।

अध्ययनशील नेतृ हुन्, धर्मशिला। उनी प्रायः पुस्तकसाथमै लिएर हिँड्छिन्। जनयुद्धकी कुशल कमाण्डर, जूडाेकी ब्लाकबेल्ट, अध्ययनशील नेतृ मात्रै होइनन् धर्मशिला। उनको जीवन यात्रामा धेरै अायामहरु छन्, जुन शुभदिनले खोतल्ने प्रयास गरेको छ।

धर्मशिलाले २०५० सालमा एसएलसी पास गरेपछि मेची बहुमुखी क्याम्पस भद्रपुरबाट प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरिन्।

धर्मशिलाको बाल्यावस्था

धर्मशिला चापागाईको जन्म वि.सं. २०२९ साल माघ १८ गतेका दिन झापाको बुद्धशान्ति–१ स्थित बुधबारेमा बुवा डिल्लीप्रसाद चापागाई र आमा गंगामाया चापागाईकी जेठी छोरीका रुपमा भएको हो। प्रखर वक्ता, निडर र संघर्षशील नेतृ धर्मशिला चापागाईले पहिलाे कक्षा कलवलगुडीस्थित प्राथमिक विद्यालयमा पढिन्।

कक्षा २ र ३ साविकको महेशपुर–१ स्थित स्कूलमा र कक्षा ४ देखि १० सम्म भद्रपुर माविमा अध्ययन गरेकी धर्मशिलाले वि.सं. २०५० सालमा एसएलसी पास गरेपछि मेची बहुमुखी क्याम्पस भद्रपुरबाट प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरिन्। तर, धर्मशिलाले स्नातक तहको पढाई पूरा गर्न पाइनन्। ‘२०५४ सालमा माओवादी जनयुद्धमा सामेल भएपछि मैले पढाई अगाडि बढाउन सकिँन’ – उनले भनिन्।

वि.सं. २०४६ सालमा ‘चौंथो महाधिवेशन’बाट उनको राजनीतिक यात्रा शुरु भयो। अ.ने.रा.स्व.वि.यु.मा पनि उनी त्यति बेलै सक्रिय थिइन्।

राजनीतिक यात्रा

नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ धर्मशिला चापागाईको राजनीतिक यात्रा विद्यालयबाटै शुरु भएको हो। वि.सं. २०४६ सालमा ‘चौंथो महाधिवेशन’बाट उनको राजनीतिक यात्रा शुरु भयो। सोही पार्टीको भ्रातृ संगठन अ.ने.रा.स्व.वि.यु.मा पनि उनी त्यति बेलै सक्रिय थिइन्।

विद्यार्थी संगठनको जिल्ला सम्मेलन आयोजक समितिको संयोजक भएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएकी धर्मशिलाले वि.सं. २०५२ सालमा सम्पन्न सम्मेलनपछि १३औं राष्ट्रिय सम्मेलनमा सहभागिता जनाइन्।

माओवादी जनयुद्ध शुरु भएपछि धर्मशिला लगायतका वामपन्थी क्रान्तिकारीहरु पूर्व क्षेत्रमा पार्टीको संगठन सुदृढीकरणमा लागे। ‘२०५३ बाटै फौजी कामको शुरुवात भइसकेको थियो, २०५४ सालमा हामी भूमिगत भयौं’, धर्मशिलाले शुभदिनसँग भनिन् – ‘२ नम्बर उप–क्षेत्रमा रहेर संगठन निर्माणमा लाग्यौं।’

नेकपा माओवादीका होनाहार नेताहरु चतुरमान राजवंशी, गौरीशंकर खड्का, धर्मशिला चापागाई लगायतलले भूूमिगत राजनीतिलाई अघि बढाउँदा सरकारी सुरक्षाकर्मीसँग जोगिनु मुख्य चुनौती हुन्थ्यो। वि.सं. २०५४ साल मंसिर ९ गते धर्मशिलाले यही चुनौतीको सामना गर्नुपर्यो। ‘शान्ति सुरक्षा अन्तर्गत मसँगै नवीन शिवाकोटी, राजेश थापा र याम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो’, धर्मशिलाले भनिन् – ‘अभियोग पुष्टि नभएपछि पुस १८ गते हामी रिहा भयौं।’

सिन्धुली, गोर्खा हुँदै राप्ती पहाडका रोल्पा, रुकुम र प्यूठानहरुमा माओवादीले छापामार युद्ध नै शुरु गरिसकेको थियो। पूर्वमा रहेका माओवादी नेता–कार्यकर्ताहरुले जनयुद्धलाई व्यवस्थित विस्तार गर्न थालिसकेका थिए। यही परिवेशमा वि.सं. २०५४ सालतिरै स्क्वार्डको मुल नेतृत्वको अवसर उनले पाएकी थिइन्।

माओवादीका केन्द्रीय नेताहरु हितमान शाक्य, मातृका यादव, अग्निप्रसाद सापकोटा, यानप्रसाद गौतमदेखि शीर्ष तहका मोहन वैद्य किरण, रामबहादुर थापा, सिपी गजुरेल गौरव लगायतको दिशानिर्देश र प्रशिक्षणमा पूर्वबाट माओवादी जनयुद्ध अघि बढ्दै थियो। त्यसबीचमा झापा र इलामलाई संयुक्त जिल्ला बनाइएको थियो।

धर्मशिला झापा र इलाममा संगठन निर्माणमा लागिन्। शुरुवात इलामबाट भयो। तर, झापामा पनि उनी त्यतिकै सक्रिय रहिन्। ‘इलाममा मेरा आफन्तहरु धेरै भएकाले त्यहाँ सेल्टर लिएर बस्न पनि सजिलो थियो’, धर्मशिलाले शुभदिनसँग भनिन् – ‘इलाममा संगठन बिस्तारको काम त्यसरी नै अघि बढ्यो।’ वि.सं. २०५७ सालसम्म झापा र इलाममा बसेर माओवादी राजनीतिमा उनी सक्रिय भइन्।

चापागाईले वर्षौंसम्म जेल जीवन भोगेकी छिन्। पारिवारिक वियोगमा पनि उनका संघर्षशील पाइला निरन्तर अघि बढिरहे।

जेल जीवन र पारिवारिक वियोग

माओवादी जनयुद्धलाई एउटा निष्कर्षमा पुर्याउन र जनताको अधिकार स्थापित गर्न ज्यानको बाजी लगाएर लडिरहेकी युवा नेतृ धर्मशिला चापागाईले वर्षौंसम्म जेल जीवन भोगेकी छिन्। पारिवारिक वियोगमा पनि उनका संघर्षशील पाइला निरन्तर अघि बढिरहे।

वि.सं. २०५६ साल असोज २९ गते माओवादी नेता शंकर घिमिरे नन्दु र धर्मशिला वैवाहिक सम्बन्धमा गाँसिए। २०५८ साल जेठमा धर्मशिला र शंकर आमाबुवा भए। जनयुद्धको त्यो घडीमा धर्मशिलाले छोरी अग्रणीलाई जन्म दिइन्। अहिले अग्रणी कक्षा १० मा पढ्छिन्। अग्रणीलार्इ जन्म दिँदा २ महिना आराम गरिन् धर्मशिलाले।

त्यसपछि उनले २०५८ साल कात्तिकदेखि मोरङ जिल्ला इञ्चार्ज भएर पार्टीको काम अगाडि बढाउन थालिन्। उनी विराटनगरको गौशालास्थित डेरामा बस्दै आएकी थिइन्। तर, सरकारी सुरक्षाकर्मीको निगरानीमा रहेकी धर्मशिला वि.सं. २०५८ साल पुस २१ गते पक्राउ परिन्। नानी हेर्दै बसेकी धर्मशिलालाई अपरान्ह ४ बजे प्रहरीले पक्राउ गर्यो। त्यतिबेला मोरङका एसपी छोक्पा शेर्पा थिए। उनकी बहिनी सीता चापागाई पनि प्रहरी नियन्त्रणमा परिन्।

२२ गते उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी लगियो। अनि साँझसम्म त्यहाँ राखेपछि धर्मशिलालाई धरानस्थित सेनाको ब्यारेकमा लगियो। ‘बहिनी सीतालाई चाहिँ जिल्ला प्रहरी कार्यालय लगिएछ’, उनले भनिन् – ‘माघ २५ गते जेल चलान गरी चन्द्रगढी लगियो, बहिनीलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको रहेछ।’

१८ दिन झापा कारागारमा बिताएपछि धर्मशिलालाई सिरहा लगियो। वि.सं. २०५९ साल वैशाख १३ गते सिरहाबाट मोरङ कारागार सारियो। त्यसको डेढ सातापछि वैशाख २४ गते माेरङस्थित जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा लगियाे।

२५ गते इलामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याइयो। त्यसको दुई दिनपछि अर्थात २७ गते इलाम कारागार चलान गरियो। इलाममा ४ वर्ष राखेपछि नेतृ चापागार्इसहित १२ जना माअाेवादी कार्यकर्तालार्इ वि.सं. २०६२ साल फागुन एक गते विराटनगर कारागार लगियाे। त्यसकाे करिव ३ महिनापछि वि.सं. २०६३ साल जेठ ९ गते रिहा भइन्।

धर्मशिलालाई पहिले ३–३ र पछि ६–६ महिनामा म्याद थप गर्दै चार वर्षसम्म राखियो। ‘९० दिनमा जेलबाट छुटेको जस्तो बनाएर बेपत्ता बनाएका घटना धेरै थिए’ मलार्इ पनि बेपत्ता पार्ने प्रयास भएकै थियाे’ – धर्मशिलाले शुभदिनसँग भनिन्। अन्ततः २०६३ जेठ ९ गते उनी रिहा भइन्। र पार्टीको काममा पुनः संलग्न भइन्। इलाममा उनको रिहाइका लागि सोम सुसेली लगायत सामाजिक क्षेत्रका अगुवाहरुले सहयोग गरेको उनी सम्झना गर्छिन्।

जेलमा रहेकै बेला धर्मशिलाले पतिवियोग सहनु पर्यो। काखमा सानोनानीसँग कहिले यो जेल कहिले त्यो जेलमा मानसिक र शारीरिक यातना सहिरहेकी धर्मशिलाका श्रीमान् शंकर घिमिरे नन्दुको वि.सं. २०५९ साल साउन ७ गते नेपाली सेनाको चारआलीस्थित ब्यारेकमा हत्या भयो। उनलाई सोही साल असार ४ गते बर्नेस्थित कालिखोलाबाट पक्राउ गरिएको थियो। उनी जनसेनाका प्लाटुन कमिसार र जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा रहिसकेका थिए।

उक्त निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता चक्र बाँस्तोलालाई पराजित गर्दै उनी सभासदमा निर्वाचित भइन्।

‘हेभी वेट’लाई पराजित गर्दै सभासद!

जेलबाट रिहाइ भएपछि माओवादी नेतृ धर्मशिला चापागाई राजनीतिक जीवनमा पुनः फर्किइन्। वि.सं. २०६३ सालमा उनले अखिल नेपाल महिला संघ क्रान्तिकारीको उपाध्यक्षको जिम्मेवरी पाइन्। त्यसैगरी अन्तरिम विधायिका सदस्यको जिम्मेवारी पनि उनले दिइयो।

संविधान सभा निर्वाचन २०६४ मा झापा इञ्चार्जको जिम्मेवारी प्रभावशाली नेता गौरीशंकर खड्काले निभाएका थिए। धर्मशिला सह–इञ्चार्ज थिइन्। उक्त निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता चक्र बाँस्तोलालाई पराजित गर्दै उनी सभासदमा निर्वाचित भइन्।

संवैधानिक समिति र लेखा समितिमा सदस्यको जिम्मेवारीमा काम गरेकी धर्मशिलाले महिला र युवाका पक्षमा जोडदार आवाज उठाइन्। विषेशतः मेशिन रिडेबल पासपोर्ट एमआरपी छाप्ने विषय, आमाको नामबाट नागरिकता पाउनुपर्ने तथा समावेशी समानुपातिक प्रतिनिधित्वको आधार सुनिश्चित गर्न धर्मशिलाको उल्लेखनीय योगदान छ। राष्ट्रियताकाे सवाल भएकाले पनि मेशिन रिडेबल पासपाेर्टलार्इ विषय प्राथमिकता दिइएकाे उनले बताएकी छिन्।

एमाले–माओवादीको संयुक्त सरकारका पालामा धर्मशिला स्वास्थ्य राज्यमन्त्री भइन्। विशेष स्वास्थ्य क्षेत्रको शुरुवातका लागि योगदान दिएकी उनले भ्रूण हत्याविरुद्ध कानून निर्माण गर्न पहल गरेकी छिन्। त्यसैगरी, प्राकृतिक चिकित्सा प्रणालीको विकासका लागि पनि उनको योगदान महत्वपूर्ण छ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार