एमाले अध्यक्ष केपी ओलीको हवाई पत्रले मतदाता उत्साहित

धरान । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई पठाएको हवाई पत्रले उत्साहित बनाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ ।

ओलीको पत्रमा वर्षौंदेखिको गरिबी र पछौटेपन अन्त्य गर्दै वर्तमानको सदुपयोग गरी भविष्य सुनिश्चित गर्ने उल्लेख छ । वाम एकताले देश विकासलाई गति दिने पनि पत्र उल्लेख छ ।

ओलीको पत्रमा लेखिएको छ, ‘छरिएको वामपन्थी शक्तिलाई एकढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनीतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीव्र गतिमा अगाडि बढाउन यसपालि दुई ठूला वामपन्थी पार्टीहरू एमाले र माओवादी केन्द्र एकजुट भएका छौँ । तपाईंहरूकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने स्थिति आएको हो ।’

पत्रको अन्त्य पनि रोचक छ । उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

ओलीको पत्र देशका सबै जिल्लामा पठाएको एमाले सुनसरीले जनाएको छ । पत्र जिल्ला कमिटीबाट स्थानीय पार्टी कमिटीमा पठाई त्यहाँबाट मतदातालाई बाँडिएको छ । हवाई पत्रको बाहिरी भागमा पाउनेको नाम र ठेगाना लेखिएको छ ।

पाउनेको नाम र ठेगाना स्थानीय पार्टी कमिटीले लेखेको हो । एमाले सुनसरीले जिल्लाका दुई लाख मतदातालाई पार्टी अध्यक्षको पत्र पठाएको जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिए ।

शुक्रबार, मंसिर ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार