‘सप्तकोशी उच्च बाँध’: पपुलर हिरो बन्दै केपी ओली !

पहिलोचरण चुनाव अब तीन दिन र दोस्रोचरण करिब २ साता मात्रै बाँकी रहँदा मतदातालाई आफ्नो बनाउने शिलशिलामा चलेको चुनावी महासंग्रामको रस्साकस्सी झन्झन् चर्को हुँदै गएको छ । बौद्धिक र पठित मतदाताहरु आफ्ना विचार र रुझानबाट टसकोमस नभए पनि अबौद्धिक, अचेतन र अस्थिर विचारका मतदाताहरुलाई आस र त्रास देखाएर आफ्नो भोट बैङ्कमा ल्याउनका लागि नेताहरुका नाना नौरङ्गी नाटक र तिकड्मवाजी अभियान चलिरहेका छन् ।

देखिनेगरी चुनावी प्रचारमा देशैभरिका कर्मचारी संघसंगठनका पदाधिकारीहरु, कलाकारहरु, विद्यालय तथा विश्वविद्यालयका गुरुहरु र बेपारीहरु समेत प्रयोग भएका छन् । खरबपति बेपारी विनोद चौधरी र सदाबहार नायिका करिश्मा मानन्धर डा. बाबुराम भट्टराईको चुनाव प्रचारमा गोरखा पुगे । केही दिनअघि डा. उपेन्द्र देवकोटा नारायणकाजी श्रेष्ठका पक्षमा माहौल सिर्जना गर्न गोरखा पुगेर खरो भाषण गर्दै थिए । यतिखेर बोर्डिङ् स्कुलका सञ्चालकहरु, एनजिओकर्मीहरु, सहकारीका सञ्चालकहरु र विद्यार्थी संगठनहरु सबै क्रियाशील भएर पार्टीका पक्षमा लहर ल्याउन लागिपरेका छन् ।

विगत्का चुनावभन्दा यो चुनाव पृथक् शैलीमा अघि बढिरहेको छ । खर्चको हिसाबकिताब छैन । को भन्दा को कम शैलीमा चुनावी खर्चका लागि पैसा फ्याँकीरहेका छन् –पार्टीहरु । देशैभरिका गाउँले ससाना बजारहरुमा कोक, फेन्टा, रक्सी, वियर र मिनरल वाटरका बोतलहरुको सानोतिनो पहाड बनेका छन् । भर्चुअल दुनियाँमा रमाउनेहरुका लागि फेसबुके भित्ताहरुमा खालखालका विज्ञापन, नारा र प्रचार सामग्रीले उधुम स्थान पाएका छन् । बहुराष्ट्रिय कम्पनीको आम्दानी वृद्धि हुने खालका यस्ता सामग्रीले इन्टरनेटमा पहूँच हुने मतदाताहरुलाई राम्रै मनोरञ्जन पनि दिएको छ । अध्ययनले भन्छ –‘फेसबुकमा सकारात्मक सामग्रीले भन्दा नकारात्मक सामग्रीले बढी स्थान पाएका छन् । गगन थापा भर्सेज केशव स्थापितका बीच भएका कृषि कर्मबारेका आरोप प्रत्यारोपले सोही कुरा उजागर गरेको छ । रवीन्द्र मिश्रद्वारा बीबीसीमा कार्यरत हुँदा ‘भारतीय सुरक्षा छातामा नेपाल’ भन्ने सन् २००० को रेडियो बहसले पनि राम्रै स्थान पाएको छ ।

प्रचार सन्दर्भमा काँग्रेस र राप्रपाभन्दा वामपन्थीहरु बढी आक्रामक देखिएका छन् । गीतसंगीतलाई चुनावी मसला बनाउने उनीहरुको सनातन पद्दति हो । उनीहरु यसपटक चुनावी मञ्चमा मात्र नभएर फेसबुकमा पनि गीतसंगीतका पहेली पस्कन सफल देखिएका छन् । यतिखेर उनीहरुको भोटको पल्ला भारी देखिनुका कारण माओवादी र एमालेले स्थानीय चुनावमा पाएको मतलाई जोड्दै योगफल निकाल्नु पनि हो । खैर ! त्यो चुनावको जोडले कतिको काम गर्छ ? अहिले यसै भन्न गाह्रो छ ।

मधेशमा काँग्रेस र राजपा मिलेर चुनावमा गएका भए वामगठबन्धन र राप्रपालाई ठूलो धक्का हुन्थ्यो ।
काँग्रेसले बुद्धि नपु¥याएका कारण उसलाई सो प्रदेशमा ठूलो राजनीतिकि क्षति हुने पूर्वानुमान गरिँदैछ । फेरि वामहरु जसरी पनि सरकार बनाउने ध्याउन्नमा मतदाताहरुलाई आफ्नो पकडमा राख्न स्थानीयदेखि राष्ट्रिय मुद्दाहरु उछालेर तिकडम्वाजी शैलीमा उत्रिए । एमाले अध्यक्ष केपी ओली देश दौडाहामा व्यस्त छन् । कहिले डा.गोविन्द केसीलाई ललकार्छन् –‘सरकारी तलबभत्ता खाने जागिरे पार्टीका बारेमा अनाबसनाब बोल्ने । हिम्मत भए राजीनामा दिएर ‘बाजेको पेडाजस्तो झन् नयाँ पार्टी खोलेर राजनीतिमा आए हुन्छ ।’ डा. केसीको अनसन प्रभावले विघटित संसदबाट पारित नभएको चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत् मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रपतिबाट लालमोहर समेत लागेर कानुन बनिसकेको छ । पूरै एमालेपंक्ति चिकित्सा शिक्षा कानुनका विरोधमा लागेको छ ।

भड्किएका मतदातालाई आकर्षित गर्न ओलीले भनिसके –‘नयाँ बन्ने वामपन्थीको सरकारले सबैभन्दा पहिले चिकित्सा शिक्षा कानुनलाई उल्टाएर खारेज गरिदिने छ ।’ ओलीको यो भनाइलाई सम्पूर्ण शिक्षित युवाहरुले ‘वरिष्ठ नेताको घटिया मनस्थिति’ भनेका छन् । जसरी पनि चुनाव जित्न ओली अहिले भन्न हुने र नहुने कुरा वास्तै नराखी बर्बराउन थालेका छन् ।

यता काँग्रेस ‘प्रजातन्त्र रक्षाका खातिर लोकतान्त्रिक गठबन्धनले जित्नु अत्यावश्यक छ’ भन्दै र वामगठबन्धन ‘स्थायी सरकारका लागि कम्युनिष्टको बहुमतको सरकार’ भन्दै दुवै सशक्त गठबन्धनहरु धन, डन र संगठनले चुनावमा होमिएका छन् । परिवर्तनकारी यी दुवै शक्तिहरु यसरी आमनेसामने भएर टक्कर गर्दा सोको असर संस्थागत नभैसकेको गणतन्त्रमा पर्न सक्छ । राप्रपाको भोट युज गर्ने सवालमा वाम र लोकतान्त्रिक गठबन्धन विरोधाभाष शैलीमा देखिए । झापा ३ मा राजेन्द्र लिङ्देनलाई वाम समर्थन रहेको छ भने चितवन ३ मा राप्रपालाई लोकतान्त्रिक समर्थन छ । यो एमालेको प्रचण्ड जिताउने र कृष्ण सिटौला हराउने पीपलपाते राजनीति हो । व्यक्ति हेरेर, व्यक्ति हराउन लागेका छन् –पार्टीहरु । यसलाई राजनीतिक संस्कारको नजरबाट फोहोरी शैली मानिँदै छ ।

समानुपातिक कोटामा उम्मेदवार दिएका सबैपार्टीहरुका व्यक्ति र तिनका पृष्ठभूमिलाई मिहीन विश्लेषण गर्दा अब नेपालको राजनीतिमा विचार र निष्ठाको राजनीतिलाई ‘बलात्कार’ नै गरेको ठहर भयो । सबै ठूला पार्टीका नेताका ‘स्वास्नी’ भान्जाभान्जी, सालाजेठान र नातानालाहरु नै चेपिएका देखिए । जुन सिष्टमले संसदमा ‘क्रिम पर्सन्यालिटी’ को उपस्थिति हुन्छ भनिएथ्यो त्यही सिष्टमले संसद फेरि अवैचारिक र ‘डम्पिङ् विचार’ बोक्ने मानिसहरुकै बाहुल्य हुने भो । यसले ‘नेक्सस पोलिटिक्स’ (मिलीभगतको राजनीति) लाई उकेरा लगाउने पक्कापक्की छ । हरे ! हाम्रो समानुपातिक शैलीलाई नगद नारायणमा विक्री गरियो !

पेशल आचार्य
उम्मेदवारका लागि चुनावी खर्च लाखबाट बढेर करोड र अझ त्यसले पनि नपुगी दसौं र बीसौं करोडका आँकडामा पुगेका देखिए । चुनावपछि जसले जिते पनि गरिब नेपालीका ढाडमा मँहगी नै चुनावी उपहार बनी भाउविक्री र बेसाहामा क्रमशः बर्सिनेछन् । यत्ति चाहिँ सबै नेपालीलाई थाहा छ –प्रत्येक चुनावपछि नेपालमा मतदाताको भाउ ह्वात्तै घट्ने र उपभोग्य सामग्रीका भाउले आकाश चुम्ने छन् ।
गरिब देशका चुनाव नेता र कार्यकर्ताका लागि एक प्रकारले दसैँ र मुलुकको भए नभएको आर्थिक स्रोत दोहनका हिसाबले भने अर्को प्रकारको समस्या हुने गर्छ । आसन्न चुनाव देशका लागि यस मनेमा ऐतिहासिक हो कि यही चुनावले नयाँ संविधान कार्यान्वयनका दिशामा पहलकदमी चाल्छ । योग्य नेताको हातमा प¥यो भने देशले विकास र समृद्धिका पथमा आफूलाई हिँडाउँछ । नत्र उही राजनीतिक गोलचक्करको यात्रा तय गर्नु पर्ने हुन्छ ।

हुने नहुने कुरा जनतालाई सुनाएर वा घोषणापत्रमा लेखेर अर्को पाँच वर्षका लागि सडकदम (भाग्ने) का नियत राख्ने नेताहरु अहिले देशैभरिका जनताको आसे भावनामा दाइँ गर्दै ‘इमोसनल ब्ल्याकमेलिङ्’ गर्दै छन् । यो लिगलिगे दौडमा काँग्रेस, एमाले र माकेका नेताहरु ज्यानै फालेर लागेका छन् । अब नेपालमा तेस्रो धारका राजनीतिक विचार भएका पार्टीहरुको उद्भव हुनु जरुरी भैसक्यो । के नयाँ के पुराना सबै पार्टीका नेताका तालसुर एकै देखिएका छन् । गाली र हिलो छ्यापाछ्यापले फोहोरी राजनीतिलाई झन् विकृत बनाइसक्यो । दीपक मनाङे, गणेश लामा र पर्शुराम खड्काजस्ता प्रवृत्तिले हामीलाई ‘नयाँ समाजवाद’को अभ्यासमा लैजाँदै त छैन, नयाँ पुस्ता प्रश्न गर्न थालेका छन् ।

फेसबुक र टुइटर बेढङ्गसँग रङ्गिएका छन् । कसको हुती र बर्कत कति भन्ने भेउ यतिखेर फेसबुकमा पोष्टिएका म्याटर, नोटिफिकेसन र भिडियो फुटेजहरुले बताउँदै छन् । यिनेगिनेका बुद्धिजीवी र विश्वविद्यालयका प्रोफेसरहरु समेत आफू सम्बद्ध पार्टीका प्रचारसामग्री कमेन्ट र सेयरका हिसाबले तीन कौडीका लाग्दै छन् । नेपालमा अब जसले जे पनि गरे लाज नलाग्ने संस्कार स्थापित हुँदै छ ।

आखिर चुनावै रहेछ सामाजिक व्यक्तित्वको भित्री चुरो र हुती देखिने मौसम किनकि सबैतिर राजनीतिक हस्तक्षेपले क्षतविक्षत पारिसकेकाले आफ्नो हुँदो सरकार आयो भने राजनीतिक नियुक्तिमा पद पड्काउने आस कथित बौद्धिक व्यक्तित्वले समेत राखेका र त्यसमा राल चुहाएका पाइए । गाली र ताली बर्सेका मात्र छैनन् । हामीले वरिष्ठ भनेर मानसम्मान दिएका नेताहरुका धोती चुनावी भाषणमा सजिलैसँग फुस्केका पनि देखिए ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका परिणामलाई आआफ्नो अनुकूल बनाउन अहिले आफ्नो गठबन्धन र पार्टीका प्रचाररुपि संयन्त्र सम्हाल्दै देश दौडाहामा बहालवाला प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड र तराईमधेश केन्द्रित दल राजपाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो तथा वामचिन्ह लिएका पुराना नेता हृदयेश त्रिपाठीसमेत कम्मर कसेर लागेका छन् । दोस्रा र तेस्रा तहका तत्तत् पार्टीका नेताकार्यकर्ताहरु भने आआफ्नो क्षेत्रमा आफूलाई विरोधी पार्टीका नेताभन्दा अब्बल देखाउन न्वारानदेखिको बल लगाउँदै र घाँटीका नसा सुकाएर गुलियोमिश्रित भाषण संप्रेषणमा निमग्न छन् ।

भनिन्छ, ‘चुनावले मुलुकको अर्थतन्त्रलाई चलायमान त गर्दैन तर आर्थिक कारोबारलाई भने गति दिन्छ ।’ भाउविक्री ह्वात्तै बढेका छन् । भाते होटल र रक्सीको अक्कासिँदो कारोबार सामान्य गाउँदेहातमा समेत चुलिँदो छ । झन् सहरबजारमा त वैविध्य प्रकारका कारोबार दिन दुगुना रात चौगुना भएका छन् । सबैको मुखमा चुनाव छ । को जित्ने हुन् ? को हार्ने हुन् ? केही थाहा छैन । देशी र विदेशी शक्तिहरु कतै देखिने, कतै नदेखिने हिसाबले आआफ्ना पल्ला भारी गर्न अहोरात्र खटेका छन् ।

नेपालको चुनाव आयोग यतिखेर सबैभन्दा निरिह बनेको स्थिति छर्लङ्ग छ । चुनावी आचारसंहितालाई सबै पार्टीहरुले आआफ्नो अहम्, बर्कत र हैसियतअनुसार खिल्ली उडाएका छन् । पार्टीकरण नहुँदो हो र दह्रो शक्तिशाली चुनाव आयोग हुन्थ्यो भने कानुन मिच्ने एकएक नेता र पार्टीहरुलाई आच्छुआच्छु बनाउँथ्यो । निर्वाचन कसुरका आधारमा कारबाही गरेर तौवातौवा पाथ्र्यो ।

बद्मास उम्मेदवारहरुका उम्मेदवारी नै भटाभट् रद्द गर्न सक्थ्यो तर कठै ! नेपालमा यस्तो कल्पना पनि बर्जित छ । यहाँका सबैजसो सार्वजनिक निकाय र संवैधानिक निकायहरु लोकतन्त्र बहालीपछि पूर्णयता निकम्मा बनाइएका छन् । त्यो पनि लोकतान्त्रिक पार्टीहरुबाटै लोकतान्त्रिक पद्दतिअनुसार भागबण्डामा स्वार्थका नियुक्तिहरु गरेर । आआफ्ना मानिसहरु ती निकायमा हुलेर । त्रिभुवन विश्वविद्यालय, न्यायालय, अख्तियार र लोकसेवा यसका दुखद् उदाहरण बनेका छन् । क्यापासिटीका कुनै महत्व रहेनन् मात्र पार्टीका भाट कार्यकर्ता भए पुग्यो ।

तुक्का, उखान, आश्वासन र धम्कीपूर्ण भाषाको खरो प्रयोग गरेर ‘हेभिवेट उम्मेदवार’ केपी ओली अहिले एमालेमा मात्रै नभएर वाम गठबन्धनकै ‘हटकेक नेता’ मा दरिए । उनको हाइटले वामदेव, माधव, झलनाथ र ईश्वरसमेत छाँयामा परे । उनले भाषणमा काँग्रेस सभापति देउवालाई निक्कै पछाडि पारिसके भने सगोत्री मानिएका प्रचण्ड समेत ओलीका भाषण आगे फिका लाग्न थालेका छन् ।

चितवनको विशाल आमसभामा पुत्रशोकले विह्वल प्रचण्ड बोलेनन् भने ओलीले ‘तीस हज्जार मतले प्रचण्डले जित्नुपर्छ’ भन्दै व्यञ्जनापरक धम्कीपूर्ण भाषा मतदातासामु प्रकट गरे । चुनावी हिरोका रुपमा ओली यत्रतत्र सर्वत्र चित्रित छन् । चुनावी परिणामलाई देशव्यापी रुपमा आफ्नो बनाउन उनी स्वयम् आफ्नो स्वाथ्यसमेत हेक्का नगरी रौसिएका देखिए ।

गत एक हप्ताभित्र ओलीले गरेका भाषणलाई मिहीन विश्लेषण गरेर हेरेका खण्डमा उनी भावी प्रधानमन्त्री हुने निश्चितजस्तै भए पनि हामी नेपालीले फेरि अर्को पाँच वर्षका लागि आश्वासन बाँड्ने, कुरौटे र दूरभिजन नभएका व्यक्तित्वलाई देशका प्रमुख कार्यकारीका रुपमा पाउने पक्कापक्की भएका छौं । काश ! ‘राष्ट्रवादको नयाँ जामा पहिरिएका’ ओलीजीको बोली अनुसार कार्यरुपमा देश फटाफट् अघि बढ्यो भने पाँच वर्षमा देशले छलाङ् लगाउने थियो । केही पार्टीका उनकै उमेर समूहका नेताहरुले ससम्मान अवकाशीय जीवन बिताउने सुअवसर पाउने थिए । तर ‘दुःखको कुरो ओलीको बोली र व्यवहारमा तालमेल नमिल्नाले देशले दुःख पाउने दिन आउँदै छन्’ भन्ने चिन्ता बौद्धिकहरु गर्न थालिसकेका छन् । उनले आफू प्रधानमन्त्री हुँदाताका भनेका काममध्ये ‘झोलुङ्गे पुलको स्थापन र तुइन विस्थापन’ अझै यो देशका विकट र दूरदराजका स्थानबाट भैसकेका छैनन् । यसैबाट थाह हुन्छ कि ‘हजारौं माइलको यात्रा एक पाइलाबाटै शुुरू हुन्छ ।’

समाजवाद उन्मुख संविधान भनेर लेखे पनि अहिलेको पोष्टमोर्डन समाजमा हुर्के बाँचेका युवा, शिक्षित, दीक्षित र पठित जनतालाई वामगठबन्धनले ललीपपका रुपमा दिएको ‘साम्यवादी सपना’ले धेरै झस्काएको छ । कतै नेपाल फेरि उत्तरकोरिया र क्युबाजस्तो बन्द समाजमा रमाउने देशका रुपमा रुपान्तरण त हुने होइन ? मुलुकीका स्वच्छन्द र स्वतन्त्र हुने नौरङ्गी सपनामा लगाम खिँचिने त होइनन् ?
चुनावपछि बहुमतको कम्युनिष्ट सरकार (शासन) स्थापना भएपछि दीर्घशान्ति, समृद्धि, लोकतन्त्र, मानवअधिकार र आवधिक निर्वाचनका सवालमा समग्र विश्वको गतिभन्दा उल्टोगतिले नेपाल हिँडेर फेरि अर्को बीसतीस वर्ष ‘समाजवाद कि लोकतन्त्र’ भन्ने मुद्दामय राजनीतिक गोलचक्करमा पार्टीहरुको अन्त्यहीन लडाइँ झेल्दै कतै फँस्ने त होइन ? यदि यस्तो भयो भने नेपाली तन्नेरी पुस्ताका ३÷४ जेनेरेसनहरु कोल्याप्स हुन बेर लाग्दैनन् । युवाहरुको विदेश पलायन त्यो बेलामा झन् बढ्न सक्छ ।

देशमा पठित या अपठित दुवै किसिमका लाखौं युवाहरुलाई रोक्ने प्लान, प्रोडक्ट र पोलिसी नभएका अवस्थामा देश युवाविहीन हुन बेर लाग्दैन । यी र यस्ता अनेकौं प्रश्नहरुको सही र सपाट जवाफ ओलीले दिन सकेनन् भने उनको गठबन्धन र पार्टीको भविष्य उनले आँकेजस्तो सुखद् नहुन सक्छ । यो सम्भावनालाई नकार्न सकिन्नँ । चुनावी परिणाममा सबै सम्भावनाहरु विद्यमान् हुन्छन् । तिनीहरुलाई स्वीकार्नुको विकल्प कसैसँग पनि हुन्नँ ।

मोरङको विराटचोकमा ओलीले भारी भरकम चुनावी सभामा सगौरव हु्ङ्कारकै भाषामा बोले –‘सप्तकोशी उच्च बाँच बनेपछि एक घन्टामै काठमाडौँ सजिलै पुग्न सकिन्छ ।’ वर्तमान प्रम शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गरिएको भारत भ्रमणमा भारतसँग कोशी सम्झौताका कुरा अघि बढाउँदा अग्रपङ्त्तिमा रही नानीदेखिको बल लगाएर विरोध गर्ने नेता केपी ओली नै थिए । अहिले चुनावका मुखमा आएर रातारात किन सप्तकोशी उच्च बाँधका पक्षमा बोल्न थालेका हुन् सो रहस्यको विषय भएको छ ।

गत ३ गते मोरङको विराटचोकमा ओलीले भारी भरकम चुनावी सभामा सगौरव हु्ङ्कारकै भाषामा बोले –‘सप्तकोशी उच्च बाँच बनेपछि एक घन्टामै काठमाडौँ सजिलै पुग्न सकिन्छ ।’ वर्तमान प्रम शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गरिएको भारत भ्रमणमा भारतसँग कोशी सम्झौताका कुरा अघि बढाउँदा अग्रपङ्त्तिमा रही नानीदेखिको बल लगाएर विरोध गर्ने नेता केपी ओली नै थिए । अहिले चुनावका मुखमा आएर रातारात किन सप्तकोशी उच्च बाँधका पक्षमा बोल्न थालेका हुन् सो रहस्यको विषय भएको छ । सचेत जनता यसको खोजी गर्न थालेका छन् ।

एमाले र माओवादी केन्द्रलाई नजिकनजिक पार्दै भावनात्मक रुपले जुटाएर वामगठबन्धका रुपमा प्रतिनिधि र प्रदेश सभा चुनावमा होमिन बाध्य पार्ने विदेशी तत्वमध्ये चीनलाई पहिलो नम्बरमा समेत लिने गरिएको विश्लेषणसँग असहमत हुन सकिन्नँ । नेपालका विकासे कार्यका अध्ययनका पछिल्ला केही चिनीयाँ इन्टे«ष्टले शनैशनैः सोही कुराहरु इङ्गित गर्न थालेका छन् । दुःखको कुरा प्रकारान्तरमा आएर भारतको अन्तर्यमिश्रित बोलीसमेत वाम गठबन्धनका उपल्लो तह नेताका मुखबाट ओलकिनुले चुनावपछि निर्माण हुने सम्भावना बोकेको ओली–प्रचण्ड सरकारले बचेखुचेका नदी–नाला र बाँध–परियोजनाहरु पनि अप्रत्यक्ष रुपमै सही प्रभुभक्तिकै नमुना प्रदर्शन गर्दै कतै दक्षिणतिरलाई नै सुम्पने त होइनन् भन्ने संका गर्ने ठाउँ रहेको देखियो । जुन प्रसङ्ग खाँटी राष्ट्रवादी नेपालीहरुलाई सहन हुन सक्ने विषय पक्कै होइन ।

‘यतिखेर पूँजी निवेषका लागि उत्तरको छिमेकी राष्ट्र चीन दक्षिण एसियामा १३ बिलियन अमेरिकी डलर बराबरको रकम अनुकूल परिस्थितिका आंकलन गरी लगानीका निम्ति उचित मौका तलासमा रहेको छ । उसलाई नेपालमा लगानी गर्नु किन पनि उचित रहेको छ भने ऊ नेपालको अबको राजनीतिमा पावर ब्यालेन्स चाहन्छ । त्यो ब्यालेन्सका लागि ऊ पूँजी निवेष माध्यमबाट नेपाल प्रवेशको अवसर कुनै पनि हालतमा गुमाउन चाहँदैन । भारत यही मौकाको ताकमा रहेकाले चुनावी दिन जतिजति घर्किदै जान्छन् उतिउति उसका पनि रकमी व्यवहारहरु भित्रिरुपमा प्रकट हुँदै जान सक्छन् ।

’ – आर्थिक विश्लेषकहरु चुनावका मुखमा यसो भन्न थालेका छन् । भन्नेहरुले त्यसै यो चुनावलाई ऐतिहासिक चुनाव भनेका होइनन् । यही चुनावले नेपालको सिधा लोकतान्त्रिक पथ र समाजवादको पथलाई दिशानिर्देश गर्ने छ । त्यसैले यो चुनावमा वाम र लोकतान्त्रिक गठबन्धनका लागि जीवन मरणको सवाल भनेर चित्रित गरिँदै छ ।

शुक्रबार, मंसिर ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार