प्रचण्डको आँसुमा आँसु मिसाउन सबै नेपाली किन तयार भएनन् ??

यादव शर्मा देशको अधिपति बन्न दुर्योधनी भूमिकामा ‘साहस’का साथ लागिपरेका माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक रूपमै भक्कानिएर रोएको देख्नुपर्ला, देशवासीहरूले सोचेका थिएनन् । राजनीतिक भूमिकामा पराजय भोग्नुपरेको अवस्थामा बाहेक अन्य कुनै कुराले प्रचण्डलाई दुःखी बनाउँछ भन्ने ठानिँदैनथ्यो । जीवनमा अनेकौँ उतारचढाव व्यहोरेका, हजारौँ युवाको रगतसँग नाता गाँसेका र निजी खुसीसँग टाढिएर सार्वजनिक हितमा समर्पित भनी एकथरी मानिसले ठानेका प्रचण्डले पनि पुत्र विछोडको पीडा सहन लुकाउन सकेनन् । नन्दप्रसाद अधिकारीले पुत्रशोकमा द्रोणचार्यलेझैँ जीवन परित्याग गरेका थिए, सोही तहको शोक प्रकट गर्ने स्थितिमा त प्रचण्ड रहेनन् । तर, पूर्वीय परम्परामा पुत्रशोकलाई सर्वाधिक गहिरो र दीर्घकालिक प्रकृतिको मानिन्छ ।

आफ्नो एक मात्र जवान पुत्रलाई गुमाउनुपर्दा ज्ञानेन्द्र खड्का, नन्दप्रसाद, मुक्तिनाथ अधिकारी र डेकेन्द्रलगायतका निर्दोषहरूको मातापितालाई परेकै स्तरको शोकमा प्रचण्ड पनि परे, यतिबेला उनलाई
हामी सबैको सहानुभूति र साथको खाँचो छ । प्रकाश प्रचण्डका छोरा त थिए नै, उनको स्वकीय सचिव, व्यवस्थापक तथा विश्वास र भरोसाका साथी पनि थिए । प्रकाशमाथि प्रचण्डको जुनस्तरको भरोसा देखिन्थ्यो, त्यसलाई दृष्टिगत गर्दा उनले कति ठूलो क्षति महशुस गरेका होलान्, त्यसको अनुमान गर्न सकिन्छ ।


मानिसले जीवनमा आफूलाई अघि बढाउने क्रममा जति ठूलो जोखिम उठाउँछ, त्यति नै उसले आफूलाई असुरक्षित पनि महसुस गरिरहेको हुन्छ । आफ्नो कर्मका कारण ओसामा बिन लादेनले बाँचिञ्जेल कहिल्यै सुरक्षित महसुस गरेनन्, एउटा जीवन बिताउन पनि उनले अनेकौँ हथकण्डा अपनाउनुप¥यो । इष्टमित्र, साथीभाइ र परिवारका सदस्यहरूमाथि समेत भरोसा गर्न नसक्ने स्थितिमा लादेन पुगेका थिए । संसार हल्लाउने महत्वाकाङ्क्षा पालेका लादेनको आफ्नै संसारचाहिँ मुसाको झैँ अत्यन्त सङ्कुचित र साँघुरो बनेको थियो । कदम–कदममा सर्पझैँ सचेत भएर हिँड्दा पनि आखिर उनले आफूलाई जोगाउन सकेनन् ।

दाउद इब्राहिमले पनि कुनै समय पूरा दक्षिण एसिया हल्लाएका हुन्, विगतको जोखिमपूर्ण भूमिकाका कारण उनी पनि अत्यन्त सचेततापूर्वक पूरा जीवन बाँच्ने प्रयास गर्दै छन् । प्रचण्डलाई बिन लादेन या दाउदको कोटिमा राखेर हेर्नु त नपर्ला, तर सत्ताको केन्द्रबिन्दुमा पुग्ने तुच्छ निजी महत्वाकाङ्क्षा पूरा गर्न नेपालमा उनले जे गरे र उनकै कारण देशले जुन प्रकारको समस्या झेलिरहनुपरेको छ, योचाहिँ नेपालको इतिहासले भुल्न सक्ने ठानिएको छैन । जंगबहादुर राणाको समयमा संविधान र जनप्रतिनिधिमूलक व्यवस्था थिएन । हिंसा, षड्यन्त्र र छलकपटका आधारमा भीमसेन थापाले तीन दशक शासन गरेको हेरेका जंगबहादुरमा प्रजातान्त्रिक चेतको आशा गर्नु पनि उचित नहोला ।

क्रान्तिका नाममा दश वर्ष र शान्तिका नाममा अर्को बाह्र वर्ष बिताइसकेपछि प्रचण्ड फेरि उही जनताबाट चुनिएर मात्र सत्तारुढ हुन पाइने ठाउँमा आइपुगेका छन् । जब यसरी चुनावी प्रक्रियाबाट सत्तामा पुग्ने अवधारणालाई स्विकार गर्नु थियो भने बाइस वर्षअघि नै हिंसाको बाटो नपअनाएको भए देश र जनताले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन भन्ने आमजनताको ठहर छ ।

तर, कोत र भण्डारखालमा गरी जम्मा २३ जनाको मात्र ज्यान जानुले जंगबहादुर सकेसम्म हिंसा गर्न चाहँदैनथे भन्ने दर्शाउँछ । देशले प्रजातान्त्रिक प्रणाली अवलम्बन नगरेको स्थितिमा भीमसेन थापाको शैलीलाई पछ्याउँदै उनी जुन रूपमा सत्तारुढ हुन पुगे, त्यसैकारण अहिलेसम्म जंगबहादुरलाई धेरै मानिस सकारात्मक रूपमा ग्रहण गर्न खोज्दैनन् ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, धर्म, शिक्षा, कानुन, सुरक्षा, प्रेस, समाजसुधार, विकास र देश हितका दर्जनौँ सुधारकार्य गरेर पनि जंगबहादुरले हिंसालाई साधन बनाएका कारण नेपाली समाजले उनलाई नायकको रूपमा स्वीकार गर्न आनाकानी गरेको हो । सत्तामा रहेको तात्कालिक समाजमा त जंगबहादुर पनि स्तुत्य, प्रतिष्ठित र शक्तिशाली भएकै हुन् । सबैले उनको जयजयकार पनि गरेकै थिए, अन्ततः इतिहासले जंगबहादुरलाई अझै पनि खलपात्रका रूपमा चित्रण गरिरहेकै छ ।

यता प्रचण्डले सत्ताको अधिपति बन्ने निजी महतवकाङ्क्षा पूरा गर्न जतिबेला हिंसा र विध्वंसको बाटो अपनाए, त्यतिबेला नेपालमा प्रजातन्त्र स्थापना भएको पाँच वर्ष मात्र पूरा भएको थियो र प्रचण्ड तथा प्रचण्डहरू निर्वाचनमार्फत जनताको मन जितेर सत्तारुढ बन्न सक्ने वैधानिक मार्ग प्रशस्त थियो । निर्वाचनमार्फत शान्तिपूर्ण ढङ्गले सत्तारुढ हुन पाइने कानुनी व्यवस्था र प्रजातान्त्रिक प्रणाली स्थापित हुँदाहुँदै प्रचण्डले हिंसा र विध्वङ्सको बाटो रोजे, देशमा खर्बौंको क्षति पु¥याए र हजारौँ निर्दोष नागरिकले बिनाकारण ज्यान गुमाए ।

यही अवधिमा उनले अघि सारेका एजेण्डाका कारण देशको मौलिक पहिचान, मौलिक धर्म, परम्परा, संस्कृति, सामाजिक एकता, जातीय तथा क्षेत्रीय सद्भाव, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक सत्तासमेत सङ्कटमा परेको छ । क्रान्तिका नाममा दश वर्ष र शान्तिका नाममा अर्को बाह्र वर्ष बिताइसकेपछि प्रचण्ड फेरि उही जनताबाट चुनिएर मात्र सत्तारुढ हुन पाइने ठाउँमा आइपुगेका छन् । जब यसरी चुनावी प्रक्रियाबाट सत्तामा पुग्ने अवधारणालाई स्विकार गर्नु थियो भने बाइस वर्षअघि नै हिंसाको बाटो नपअनाएको भए देश र जनताले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन भन्ने आमजनताको ठहर छ ।


प्रचण्डहरूले हिंसात्मक युद्ध सुरु गर्नुअघि र पछिको नेपाललाई तुलना गर्ने हो भने एउटा विस्मातपूर्ण तस्बीर हाम्रो साम्मुन्ने खडा हुन आइपुग्छ । आर्थिक विकासको गति, औद्योगिकीकरण, राष्ट्रिय एकता र सार्वभौमिकता सबलीकरण, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रवद्र्धन, सुरक्षा र विकासलगायतका मानकहरूलाई आधार बनाएर अध्ययन गर्दा प्रचण्डहरूको उदयले देश निर्माण होइन देश विघटनको प्रक्रिया आरम्भ गरेको पुष्टि गर्दछ । देशप्रति कसैमा पनि जिम्मेवारीबोध नहुने र राज्यसंयन्त्रलाई केवल लुटको साधन बनाउने काम शताब्दी लामो राणाशासनमा पनि नभएको महसुस आमनेपाली नागरिकले गरेका छन् ।

 

देशलाई यस्तो अवस्थामा पु¥याउन पर्दा पछाडि बसेर जो–जसले भूमिका निर्वाह गरेका भए पनि प्रकट पात्र अर्थात् निमित्त नायक प्रचण्ड नै बनेका हुन् । राणाकालमा राणाहरूको जयजयकार भएझैँ लोभी र डरपोकहरूबाट प्रचण्डहरूको समेत अहिले जयजयकार भइरहेको छ भने पनि देश बाँचेछ भने भोलिको इतिहासले प्रचण्डको कालखण्डलाई ‘सर्वाधिक दुर्भाग्यपूर्ण र अन्धकारको समय’का रूपमा चित्रण गर्ने निश्चित छ ।


जंगबहादुर राणा सत्तारुढ हुने क्रममा मारिएका दुई दर्जनभन्दा कम मानिस साधारण नागरिक थिएनन् । ती सत्ताको वरिपरि कुनै न कुनै जिम्मेवारी लिएर बसेका थिए । प्रचण्डले झैं भिन्न विचार बोकेको, गाउँ–ठाउँमा विभिन्न कारणले लोकप्रिय र प्रतिष्ठित बन्न पुगेको, राज्यलाई कुनै न कुनै रूपले सहयोग गरेको तथा आफूलाई चन्दा नदिएकोजस्ता आरोपमा जंगबहादुरले खोजी–खोजीकन मानिसको हत्या गराएका थिएनन् ।

प्रचण्डले सुरु गराएको हिंसात्मक सङ्घर्षका कारण हजारौँ चेली विधवा बन्नुपरेको, लाखौँ मानिस आफ्नै मुलुकमा शरणार्थी हुन बाध्य भएको, हजारौँ बालबालिका टुहुरा बनेको र हजारौँ आमाबाबुले सन्तानशोकको पीडामा जीवन गुजार्नुपरेको तथ्य प्रचण्डले भुले पनि पीडित तथा पीडाका साक्षीहरू कसैले पनि भुल्न सकेका छैनन् । अरू त अरू जसलाई जनवादी राज्यसत्ताको सपना देखाएर मृत्युमैदानमा पठाइयो, बाँच्न सफल ती ‘योद्धा’समेतको मन कुँडिएको छ । देशको मुहार फेर्न भन्दै जीवन अर्पण गरेर युद्ध–भूमिकामा कुदेका ती युवा यतिबेला आफ्नो जीवन गुजाराका लागि मरुभूमिमा कुद्दै छन् । पचास डिग्री सेल्सियस तापको मरुभूमिमा तिनको पाइतालाभन्दा बढी मन पोलेको सहज महसुस गर्न सकिन्छ ।


त्यसैले पुत्रशोकमा प्रचण्ड भक्कानिएर रुँदा सिङ्गै देश रुन खोजेन । बरु यस घटनाबाट मानिसले गरेको पापकर्मको फल यसै जनममा भोग्नुपर्ने रहेछ भन्ने सन्देश पो प्रवाहित भएको छ । प्रकाश दाहालले अल्पायुमै जीवन गुमाउनुपरेकोमा हरेक मानिस दुःखी छन्, उनको निधनमा सर्वत्र शोक प्रकट भइरहेको छ । मानवीय संवेदना भएका हरेकले प्रकाशको निधनप्रति वेदना र दुःख महसुस गरेका छन् । प्रकाशकी धर्मपत्नी र दुई टुहुरा सन्तानप्रति सहानुभूति प्रकट नगर्ने सायद कुनै नेपाली छैनन् । तर, प्रचण्डको आँसुमा आँसु मिसाउन सबै नेपाली तयार भएनन्, विगतको हिंसा र पापकर्मका निम्ति प्रायश्चित नगरेसम्म सायद आमनेपालीले प्रचण्डप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने छैनन् ।
( घटना र विचारमा यादव शर्माले लेखेको एउटा लेख अत्यन्त समसायिक लागेर यहाँ पनि प्रस्तुत गरिएको हो – सम्पादक )

शुक्रबार, मंसिर ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार