मतदातालाई ओलीको खुला पत्रः वामपन्थीको सरकार परीक्षण गर्ने अवसर

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले स्थिर सरकार र देशको दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै मतदातालाई खुला पत्र लेखेका छन् । चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो पुग्ने गरी पार्टी नेता–कार्यकर्तामार्फत ओलीले लेखेको पत्र पुग्नेछ ।

ओलीले अबको ५ वर्ष वामपन्थीलाई परीक्षण गर्न आग्रह गर्दै मतदातालाई बहुमत दिएर स्थिर सरकार बनाउने अवसर प्राप्त भएको पत्रमा उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्– ‘तपाईंहरू (मतदाता)का अगाडि यसपटक वामपन्थीको बहुमतको सरकार बनाएर पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ ।’

अहिलेसम्म नेपालले पूरा समय काम गर्ने स्थिर सरकार पाउन नसकेकाले भन्दै ओलीले धर्तीको संरक्षण र मानव जातिको सुख र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पत्रमार्फत आग्रह गरेका छन् ।

वामपन्थी टुटफुटले गर्दा नेपालमा वामपन्थीको बहुमत सरकार बन्न नसकेको भन्दै ओलीले छोटो अवधिका लागि बनेका अल्पमतका वामपन्थी सरकारले गरेका जनपक्षीय विकासवादी तथा देशभक्तिपूर्ण कामबारे जनता जानकार रहेकोले बहुमत प्राप्त गरेर पूरा अवधि सरकार सञ्चालन गर्न पाउने बाटो निर्माण गरिदिन मतदातालाई पत्रमा आग्रह गरिएको छ ।

उनले राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको तीव्र विकासका लागि एमाले र माओवादी केन्द्र एक भएको पत्रमा उल्लेख गरेका छन् । जनताको चाहना र शुभेच्छाकै कारण वामपन्थी शक्तिलाई एकढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनीतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीव्र गतिमा अगाडि बढाउने अवसर आएको पत्रमा उल्लेख छ ।

कुनै प्रकारको अलमल नगरी झुटा आश्वासन र प्रलोभनमा नपरी निर्धक्कसँग स्थायी सरकार बनाउन गठबन्धनलाई मतदान गर्न ओलीले मतदातासँग आग्रह गरेका छन् ।

मङ्लबार, मंसिर ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार