पत्रकारसामु ओलीको प्रश्नः योगेश भट्टराईलाई पत्रकार महासंघको सभापतिमा पठाइदिउँ ?

काठमाडौं, ३ भदौ– एमाले अध्यक्ष केपी शर्मा ओलीले दल विशेषको निर्णय र निर्देशनबाट अलग रहेर पत्रकार महासंघको महाधिवेशनबाट नेतृत्व चुन्न पत्रकारहरुलाई सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महासंघको नेतृत्वमा पत्रकारलाई निर्वाचित गरेर मर्यादा जोगाउने कि पार्टीका पोलिटब्युरो सदस्यलाई पठाउने भन्ने निर्णय गर्नु पर्ने वताउनु भयो ।

महासंघलाई ब्यवसायिक र मर्यादित संस्थाका रुपमा ठानेर महासंघको नेतृत्वबारे दलभित्र छलफल नचलाएको वताउँदै ओलीले पोलिटब्युरो सदस्य पार्टीमा भए पनि उम्मेदवार बनाएर नपठाएको वताउनु भयो । ‘नेपालमा पत्रकारको कमी थिएन जस्तो लाग्छ । पोलिटब्युरो त एमालेसँग पनि होलन् । पोलिटब्युरो अरुसँग पनि होलन् । हामी पनि योगेश भट्टराईजीलाई पत्रकार महासंघको उम्मेदवार बनाइदिन सक्थ्यौं’ ओलीले भन्नुभयो, ‘तर, त्यसै गर्न हुन्छ ? पत्रकारहरुले फैसला गर्नु पर्ने बेला आएको छ– सत्य कि संवद्धता ?’

ओलीको संबोधनको हाइलाइट 
अवको प्रेस जगत ब्यवसायिक पत्रकारिता र ब्यवसायिक प्रेसतिर लाने कि मिसन पत्रकारिताका नाममा संकिर्ण र गलत उद्धेश्यका लागि प्रयोग गर्ने ? सञ्चार जगतको सवलीकरण र सुदृढिकरणका निम्ति, स्वच्छता र मर्यादा अभिबृद्धिका निम्ति अघि बढ्ने कि राजनीतिक दल विशेषका तात्कालिक उद्धेश्यका लागि प्रयोग गर्दै जाने ? पत्रकार महासंघलाई राजनीतिक उद्धेश्यको रवरस्ट्याम्प मात्रै बनाउने कि स्वस्थ र ब्यवसायिक संस्था बनाउने ? यस विषयमा तपाईं पत्रकारहरुले नै फैसला गर्नुस् ।

नेपालको राजनीतिमा दुई प्रबृत्ति बीचमा प्रतिस्पर्धा छ । देशलाई अघि बढाउने कि आफ्नो लाभ सुरक्षित गर्ने ? आस्था र आदर्शका निम्ति काम गर्ने कि कतै आफ्नो सम्बद्धताको आधारमा निर्णय गर्ने ? हामी चाहन्छौं पत्रकारिताको आस्था र आदर्शका निम्ति त्यहाँ काम होस्, सम्बद्धताका आधारमा होइन ।

पत्रकार महासंघमा एकथरीको उम्मेदवारी तपाईंहरुले जस्तो पत्रकारहरुले नै वार्ता गरेर होइन, कतै छलफल गरेर, बोलाइएर जोडबल गरेर आदेश निर्देशबाट तय गरियो ।  नेपाली कांग्रेस भित्र पत्रकारको यति साह्रो खडेरी परेछ, माओवादी भित्र पनि खडेरी परेछ, पोलिटब्युरोबाट पत्रकार महासंघको उम्मेदवार काजमा खटाइयो । आज पत्रकारहरुसामु एउटा प्रश्न छ– काजमा आएका राजनीतिक दलका नेतालाई महासंघको नेतृत्वमा माला लगाइदिने कि पत्रकारिताको मर्यादालाई जिउँदो राख्ने ?

नेपालमा पत्रकारको कमी थिएन जस्तो लाग्छ । पत्रकार छन् । त्यस्तै पार्टीहरुमा नेता र पोलिटब्युरो सदस्यको पनि कमी छैन । पोलिटब्युरो त एमालेसँग पनि होलन् । पोलिटब्युरो अरुसँग पनि होलन् । हामी पनि योगेश भट्टराईजीलाई पत्रकार महासंघको उम्मेदवार बनाइदिन सक्थ्यौं । तर, त्यसै गर्न हुन्छ ? पत्रकारहरुले फैसला गर्नु पर्ने बेला आएको छ– सत्य कि संवद्धता ?

बालुवाटारमा कांग्रेस र माओवादीको बैठक बसेर निर्णय भयो– फलानो पार्टीको पोलिटब्युरो मेम्बरलाई पत्रकार महासंघको सभापतिमा भोट हाल्ने निर्देशन पत्रकारहरुलाई दिइनेछ । अव तपाईंहरु त्यसै गर्नुहुन्छ भने पत्रकारहरुको आइडी कार्ड झुड्याउनु बेकार हुनेछ ।

तीर्थ कोइराला पत्रकार हुनुहुन्छ, उहाँ महासंघको नेतृत्वका लागि उम्मेदवार पनि हुनुहुन्छ । तर,  आजको प्रश्न तीर्थ कोइरालाजीले जित्ने कि नजित्ने भन्ने होइन । नेपालको पत्रकारिताले जित्ने कि हार्ने भन्ने हो । गठबन्धन गर्नु हुँदैन भनेको पनि होइन । अरुले पनि गठबन्धन गरेका छन् । तर, पत्रकार महासंघमा अव पत्रकारको काम छैन राजनीतिक दलबाटै नेतृत्व दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न गरिएको गठबन्धनको अर्थ के हो ? त्यहाँ छैनन् पत्रकार ?

म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई आग्रह गर्न चाहन्छु– शेरबहादुरजी ! सहानुभुती छ मेरो कांग्रेसमाथि । कांग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो ? कठैवरी ! उम्मेदवार छैन । शेरबहादुरजीलाई म सोध्न चाहन्छु–तपाईंको प्रजातन्त्रको परिभाषामा, तपाईंको स्वतन्त्र प्रेसको परिभाषामा, तपाईंको प्रेस स्वतन्त्रताको परिभाषामा, तपाईंको पत्रकारको परिभाषामा, तपाईंको पत्रकार महासंघको परिभाषामा, महासंघको सभापतिको परिभाषामा गैर पत्रकार, पार्टीको पोलिटब्युरो मेम्बर कहिलेदेखि राख्नु भो ? उहाँसँग जवाफ दिने दम छैन ।

प्रचण्डजीलाई त प्रश्न पनि सोध्न चाहन्न । सोध्नु बेकार छ । उहाँलाई त बम्पर पर्या छ । पोलिटब्युरो मेम्बर पत्रकार महासंघको सभापतिको उम्मेदवार पाउनु भएको छ ।  कसको बलमा त भन्दा काँध थाप्ने अर्काे भेटियो । म बोक्छु भन्छ । बम्पर परेको मान्छेलाई यस्तो प्रश्न किन गर्नु ?

तपाईं पत्रकार साथीहरुलाई म पत्रकारितालाई बुझ्न सक्ने, पत्रकारका समस्या समाधान गर्न सक्ने महासंघ बनाउनुस् भन्छु । आवरणमा पत्रकार महासंघ हुने कि यथार्थमा ? आजको मुल प्रश्न यो हो । एउटा पार्टीको पोलिटब्युरो मेम्बरलाई महासंघ जिम्मा लगाउने कि पत्रकारलाई ?  आजको मुल प्रश्न यो हो ।
चक्रपथबाट साभार

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार