भ्रष्टाचारको विषयमा दोषी भेटिए कसैलाई पनि नछाड्ने आपूर्तिमन्त्रीको चेतावनी

पोखरा ,भदौ ३ /

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगममा भएको भ्रष्टाचारको विषयमा दोषी भेटिए कसैलाई पनि नछाड्ने बताएका छन् ।

 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा तथा छैठौ महाधिवेशन पोखरामा उदघाटन गर्दै मन्त्री मण्डलले मन्त्रालय अन्तर्गत कुनै पनि ठाउँमा भ्रष्टाचार भएको पाए कुनै पनि हालतमा नछाड्ने बताए ।

उनले जस्तोसुकै परिस्थितिमा पनि दोषीलाई कारवाही गरेरै छोड्ने प्रष्ट पारे । जग्गा प्रकरणमा जो–कोही दोषी ठहर भएको खण्डमा कारवाही गर्नेमा मन्त्रालय दृढतापूर्वक लाग्ने उनको भनाइ थियो ।

 

उनले पेट्रोलियम व्यवसायमा आधुनिकीरण आवश्यक रहेको बताए । यसका लागि सरकारी र निजी क्षेत्र दुबै लाग्नु पर्ने उनले प्रष्ट पारे ।

 

मन्त्री मण्डलले नेपाली ग्यास बुलेट संचालनमा आएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय पक्षसँग यसबारे छलफल हुने उनले बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरि इन्धन भण्डारण क्षमता पुर्‍याउने बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता पु¥याउने गरि काम भइरहेको बताए ।

 

कार्यकारी निर्देशक खड्काले जग्गा खरिदबारे सञ्चार माध्यममा आएका समाचारले आफुलाई केही फरक नपर्ने प्रष्ट पार्दै भने, ‘काम गर्दा आफुमाथि जस्तोसुकै आरोप लागे पनि बलिदान दिन तयार छु, भण्डारण क्षमता बढाएरै छाड्छु ।’

 

उनले आयल निगमभित्रै सिस्टममा सुधार गर्नुपर्ने अवस्था रहेको बताए । आयल निगमलाई समाप्त पार्ने खेलमा केही तत्व लागेको भन्दै खड्काले निगमलाई बचाउन सबै लाग्नु पर्ने बताए ।

 

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी समितिका देशभरबाट करिब २ सयजना प्रतिनिधि महाधिवेशनमा सहभागी छन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार