राष्ट्रपतिले बोलाइन् शनिबार बिहान १० बजे तीन दलका शीर्ष नेता

काठमाडाैं, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन तथा निर्वाचनबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएकी छन् । शनिबार बिहान १० बजे प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष दुई–दुईजना नेतालाई बोलाएकी हुन् ।

राष्ट्रपतिका प्रेसविज्ञ माधव शर्माले समसामयिक विषयमा छलफल हुने जानकारी दिए । ‘केही दिनयता बाढीपहिरोबाट निम्तिएको समस्या समाधानसहितका विषयमा दलको ध्यानाकर्षण गराउने र समसामयिक विषयमा छलफल गर्न राष्ट्रपतिज्यूले शीर्ष नेतालाई बोलाउनुभएको हो,’ शर्माले भने । पहिलो र दोस्रो वरीयताका नेता राष्ट्रपति कार्यालय जान लागेका हुन् ।

प्रमुख राजनीतिक दल र निर्वाचन आयोगबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने समझदारी भएसँगै सरकारले एक–दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३१ जिल्लामा ४ मंसिर र बाँकी जिल्लामा २१ मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव दलहरूसमक्ष गरिसकेकको छ । दलहरू भने दुवै निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा छन् ।

राष्ट्रपतिसँगको छलफलमा एकैपटक निर्वाचन गर्दा उत्पन्न हुने कानुनी, प्राविधिक जटिलतासहितका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐन र निर्वाचन क्षेत्र निर्धारण छिटो गर्न आग्रह गरेको छ ।

३ भदौमै मितिको टुंगो लाग्नुपर्ने, ५ भदौमा ऐनको टुंगो लगाउनुपर्ने र १५ भदौसम्म निर्वाचन क्षेत्र टुंग्याउनुपर्ने सर्त आयोगले राखेको छ । राष्ट्रपतिले यीसहित सबै विषयमा छलफल गर्न लागेकी हुन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार