दुवै निर्वाचन एकै चरणमा ओली संशोधन प्रस्ताव गलत छ, पास हुँदैन

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा सम्पन्न हुने बताएका छन् । प्रदेश सम्पर्क संगठन कमिटीले शुक्रबार पार्टी कार्यालय, धुम्बाराहीमा आयोजना गरेको बाढीपीडितलाई राहत हस्तान्तर कार्यक्रममा ओलीले निर्वाचन एकै चरणमा हुनुपर्नेमा जोड दिए ।

‘निर्वाचन आयोगका पदाधिकारीसँगको कुराकानीपछि उहाँहरूले दुवै निर्वाचन एकै चरणमा गर्न सकिने बताउनुभएको छ,’ ओलीले भने, ‘अब एक/दुई दिनभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुन्छ ।’

उनले एमाले देशभर एकै चरणमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । ‘सकेसम्म मंसिरको पहिलो साता एकै चरणमा नभए हिमाल र पहाडका ३१ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुन्छ,’ उनले भने, ‘दोस्रो चरणमा तराईमा मंसिरको दोस्रो वा तेस्रो साता निर्वाचन गर्ने कुरा भएको छ ।’

ओलीले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले बाढीप्रभावितको नाममा राजनीति गरिरहेको आरोप पनि लगाए । ‘अहिले प्रदेश नम्बर–२ सबैभन्दा बढी डुबानमा परेको छ,’ केही मन्त्री र नेताहरू राज्यको ढुकुटीमा राजनीति गरिहेका छन्,’ ओलीले भने, ‘एमालेले राजनीतिक प्रचार होइन, दुखेका घाउमा मलम लगाइरहेको छ ।’

संशोधन प्रस्ताव गलत छ, पास हुँदैन
ओलीले संविधान संशोधन प्रस्ताव गलत नियतले ल्याएको भन्दै कुनै पनि हालतमा पास नहुने दाबी गरे । ‘पहिलो त प्रस्ताव गलत नियतले आएको छ, दोस्रो समय सापेक्ष छैन,’ ओलीले भने, ‘तेस्रो हामीसँग सल्लाह भएको छैन, चौथो निर्णयार्थ आएको होइन, पाँचौँ यो राष्ट्रको हितमा छैन । त्यसैले पास हुँदैन ।’

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार