कुवेतमा काम गर्ने महिलालाई १४ वर्षे आफ्नै मालिकको छोराले तँ मसँग बिहे गर्छेस ? बिहे गरिस भने नेपालमा घर बनाइदिन्छु’भनेपछि

तँ मसँग बिहे गर्छेस ? बिहे गरिस भने नेपालमा घर बनाइदिन्छु’ ६ महिनादेखि आफूले स्याहार्दै आएको छोराकै उमेरको केटोले ज्योति लामासँग भन्यो ।कामका लागि कुवेत पुगेकी लामासँग आफ्नै मालिकको छोराले यति भनेपछि उहाँको रिसको पारो बढ्यो । उहाँको हातमा पानीको पाइप थियो । रिसको झोकमा त्यही पाइपले त्यो केटालाई हिर्काउनुभयो ।

‘उसलाई हानेपछि उसले पनि मलाई हिर्कायो’ लामाले उज्यालो अनलाइनसँग भन्नुभयो ‘त्यसपछि म त्यहाँ बस्ने कुरै भएन ।’ १० वर्षअघि कुवेत गएकी ज्योतिले यो घटनापछि काम गर्दै गरेको ठाउँ छोड्नुभयो । विदेशमा भोगेका पीडा सुनाउँदै गरेकी ज्योति विदेशिनुको कारण पनि कम दुःखदायी छैन ।

काभ्रेकी ज्योति लामाको १३ वर्षकै उमेरमै रामेछापको बेथानका बस्तीराम घिसिङसँग बिहे भयो । घरको आर्थिक अवस्था निक्कै कमजोर थियो । तर यतिबेलै उहाँको गर्भमा भएको बच्चा छिप्पिदै थियो । घर व्यवहार र आफ्नै काँधमा भएकाले थाङ्का लेखेर भएपनि गुजारा गर्नुपथ्र्यो उहाँले । १५ वर्षको उमेरमा गर्भवती भएपनि अपरिपक्व शरीर भएको कारणले गर्भ खेर गयो ।

उहाँको अर्को पाटो थियो तत्कालिन माओवादी जनयुद्ध । ज्योतिले २०५४ सालदेखि तत्कालिन माओवादीले चलाएको जनयुद्धमा पनि भाग लिनुभयो । भनिन्छ नी हुने हुनामी टारेर टर्दैन । त्यस्तै भयो ज्योतिको जिन्दगीमा पनि ।

रोल्पामा माओवादीले गरेको आक्रमणका क्रममा ज्योतिको ज्यान गएको हल्ला गाउँभरी फैलियो । श्रीमतीको निधन भएको सुनेपछि ज्योतिका श्रीमानले आत्महत्या गरे । ‘त्यतिञ्जेलसम्म बाहिर हिँडे पनि छोराछोरी हेर्ने हुनुहुन्थ्यो तर उहाँ नै नरहेपछि उनीहरुको हेरचाह गरिदिने पनि कोही भएन ।’ ज्योति भन्नुहुन्छ । श्रीमानको निधन अनि छोराछोरीको भविष्य । यिनै दुई कुराले बाध्य बनायो ज्योतिलाई विदेशिन । २०६२ सालमा गाउँकै कमानसिंह दोङसँग भेट भएपछि दोङले काठमाडौं लगेर हेटौंडाकी माया तामाङलाई जिम्मा लगाईदिनुभयो । उहाँसँगै कुवेत हिँडेकी कमानसिंहकी श्रीमती पनि सँगै थिईन् ।

विदेश हिँडेकी ज्योतिलाई नेपालको एयरपोर्टबाट जान पाइँदैन भन्दै भारतको दिल्ली लगे कुवेत उडाउन । तर ७ दिनसम्म दिल्लीमै राखियो । ‘दिल्लीको बसाई कम कष्टपुर्ण थिएन’ ज्योतिले भन्नुभयो ‘१०–१५ लाई कोचेर एउटै कोठमा राखे अनि पेटभरी खान नदिई महिलालाई जर्बरजस्ती अरु नै धन्दामा लगाउन खोज्दै थिए, तर सकेनन् ।’

दिल्लीबाट त बल्लतल्ल उडायो तर तावाबाट फुत्केको माछो भुङग्रोमा भने जस्तै भयो ज्योतिलाई । एक त कहिल्यै नसुनेको भाषा त्यो माथि पनि २० जनाको परिवारमा काम गर्नुपर्ने, परिवारमा प्राय सवै उमेर समूहका भएको हुँदा सवैको ईच्छा चाहाना पनिअ लगअलग । सुरुमा त आत्तिनु पनि भयो उहाँ । भाषा त भोगाईले सिकाउने हो ।

ज्योतिले पनि काम गर्दै जाँदा केहि महिनामा जानी नजानी कुवेती भाषाका केही शब्द त सिक्नुभयो तर उहाँप्रति गरिने व्यावहार दिनदिनै कठोर हुँदै गयो । भन्नुहुन्छ ‘२० जनाले आ–आफनै कुरा माग्थे । एक जनाले उनीहरकै भाषामा आलुको तरकारी माग्दा, अर्कोले टमाटरको अचार माग्थे, अनि अर्कालाई तत्कालै दूध दिनु पर्थ्यो । भाषा बुझ्न थालेपछिको सास्ती सुनाउँदै गर्दा उहाँले सुरुको अवस्था सम्झिँदा आङ नै जिरिङ हुने बताउनुभयो ।
कुटाई खाएकै घरमा बस्ने सल्लाह

भाषा पनि जानेपछि काम चल्दै थियो । एक दिन त्यही घरको १४ वर्षको केटोले ज्योतिसँग भन्यो ‘तँ मसँग बिहे गर्छेस ? बिहे गरिस भने तँलाई नेपालमा घर बनाइदिन्छु ।’

केटाको यो भनाई सुनेपछि उहाँको हात थामिएन । उहाँले पहिल्यैको कुरा दोहोर्‍याएर भन्नुभयो ‘खुकुरीले काट्दा बरु सह्य हुन्थ्यो होला तर त्यति बेलाको पीडा त्यो भन्दा पनि असह्य भयो ।’

केटोसँग हात हालाहाल हुँदा ज्योतिको निधार फुट्यो र बगेको रगत पुछ्दै उहाँ सडकमा निस्किनुभयो । रुँदै गर्दा पुलिसले समातेर सोधपुछ गर्‍यो र घरमा लिएर गयो । सोधपुछको लागि उहाँले काम गर्ने साहुको घरकालाई मेत लग्यो । कुवेतमा नेपाली दूताबास नभएको कारण साउदीबाट आउनुपर्थ्यो । दूतावासबाट कर्मचारी आए पनि । तर उहाँलाई फेरि पनि त्यहि घरमा नै गएर काम गर्नको लागि सल्लाह दिए । तर उहाँले त्यो सल्लाह मान्नु भएन । उहाँ नेपाल फर्कनुभयो ।

ज्योतिले आफ्नो यो पीडा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले गरेको नाटक हेरेपछि सुनाउनुभएको हो । ‘नाटकका कलाकारले विदेश कस्तो छ देख्नुभएको त छैन होला तर उहाँहरुले देखाउनुभएका कुरा गलत छैन’ ज्योतिले भन्नुभयो ।
विदेशीको बच्चा पनि आफ्नै जस्तो लाग्थ्यो
दुई वर्ष बस्दा शारीरिक रुपमा हिंसा त खेप्नु परेन भन्ने ज्योतिका अरु पीडाका कथा धेरै थिए । घरमा पाँच वर्षको छोरा र दुई वर्षकी छोरी छोडेर गएकी ज्योतिलाई सुरुमा त विदेशमा ती बच्चा पनि आफ्नै जस्तो लाग्थ्यो तर पछिभने उनीहरुले भनेका कुरा पुर्‍याउन हम्मे हम्मे पर्न थाल्यो उहाँलाई । त्यति मात्रै होइन उनीहरुले गर्ने व्यवहार पनि फेरियो ।

२० जनालाई स्याहार्दाको सास्ती त छँदै थियो त्यसमाथि तलव पनि नपाएपछि उहाँ नेपाल फर्किने निर्णयमा पुग्नुभयो । तलब माग्दा साहुले तलब हैन, तलब त नेपाल पठाई दिएको जवाफ मात्र दिन्थ्यो । तर तलब पठाएको हुँदैन थियो ।
डेढ वर्ष कुवेत बस्दा उहाँले नेपालीले विदेश जाँदा दुःख पाउनुको कारण पनि बुझ्नुभयो । यतिञ्जेल विदेश बसेर तितो अनुभव संगालेकी उहाँलाई अहिले पनि समाजले हेयको भावले हेर्दा मन अमिलो हुन्छ । ‘विदेश गएर आएकी भन्दै कुरा गर्छन, त्यसो भन्दा साह्रै दुःख लाग्छ’ ज्योति भन्नुहुन्छ ।

ज्योति आफूले दुःख पाएर फर्किएपछि अरुलाई सचेत हुन आग्रह गर्नुहुन्छ । भन्नुहुन्छ ‘भाइ बहिनीले नाटकबाट आग्रह गर्दै थिए, म पनि आग्रह गर्छु यदी विदेश जाँदै हुनुहुन्छ भने बुझेर अनि काम सिकेर मात्रै जानुहोस ।’

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार