बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख हस्तान्तरण

राजविराज, २ भदौ । अविरलको वर्षा र बाढीमा परी मृत्यु भएका परिवारलाई सप्तरी प्रशासनले दुई लाख रुपैयाँ राहत वितरण कार्य शुक्रवारदेखि थालेको छ ।

मन्त्री परिषद्को बैठकले गरेको निर्णय अनुसार सप्तरी प्रशासनले राजविराज नगरपालिकाको वडा नम्वर–१५ देउरीभरुवाका मृतक डोमी यादवका परिवारजनलाई दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मृतक यादवकी धर्मपत्नी घना देवी यादवलाई रकम हस्तान्तरण गर्दै आफुबाट हुनसक्ने अन्य सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बाढीबाट मृत्यु भएका परिवारजनलाई सरकारी राहत सहयोग रकम घरमै पुगेर वितरण गरिने वहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामाआधार यादव, सप्तरी अनुसन्धान प्रहरी निर्देशक देवराज लिम्बुसमेतको विशेष उपस्थिति रहेको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतले समेत मृतक यादवकी धर्मपत्नी घनादेवी पाँच हजार रुपैयाँ नगद हस्तान्तरण गर्दै पीडित परिवारजनको तीन महिनाको खाद्यान्न समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अविरलको वर्षा र बाढीमा परी सप्तरीको कोइलाडी–८ का आठ वर्षिय बालक कमलु सदा, बेल्ही चपेना गाउँपालिका वडा नम्वर–४ का ३२ वर्षिय कमला मुखिया, डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षिय नथुनी राम र राजविराज नगरपालिका– १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादवको मृत्यु भईसकेको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार