संशोधनको विपक्षमा राप्रपा, पशुपति शम्शेरलेद्वारा कमल थापाविरुद्द सर्वोच्चमा मुद्दा दाएर

 

काठमाडौँ । मकवानपुरको हेटौँडामा जारी राप्रपा केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टी संविधान संशोधनको विपक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।बैठकको दोस्रो दिन बोल्ने सांसद तथा केन्द्रीय सदस्यहरुले संविधान संशोधन पार्टीको एजेण्डा नभएकोले यसमा समर्थन गरिरहनु नपर्नेमा जोड दिएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

 

राप्रपाले यसअघि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । संशोधनको मुल मर्म राजपा समेतलाई निर्वाचनमा ल्याउनु र मधेसका अतिवादी शक्तिलाई एक्ल्याउनु भएपनि सरकार र राजपा स्वयं संशोधनमा गम्भीर नदेखिएको, तीन दिनपछि निर्णयार्थ पेश गरिने विधेयकमा सरकारले संशोधनको पक्षमा वातावरण तयार नगरेको, चौथो शक्तिलाई उपेक्षा र अपमानित गरिरहेकोले सरकार र राजपा स्वयं विधेयक पास गर्ने पक्षमा नरहेको राप्रपाका नेताहरुको भनाई छ ।

यसअघि संविधान संशोधन विधेयकको पक्षमा रहँदा सो पार्टीका केही सांसदहरूले संसदीय दलको बैठक बहिष्कार गरेका थिए । बैठक बहिष्कार गर्ने सांसदहरू अहिले पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिकमा लागेका छन् । राणाले संशोधनको पक्षमा रहेको बताइसकेका छन् । तर, राणाको समूहले दलको मान्यता पाइसकेको छैन ।

अपहरणको आरोपमा सर्वोच्चमा मुद्दा दाएर

राप्रपाबाट अलग भएका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आज दिउँसो अध्यक्ष राणाले आफ्नो पाटीृका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

सर्वोच्चमा मुद्दा दर्ता गर्न अध्यक्ष राणासँगै नेताहरु दीपक बोहोरा, विक्रम पाण्डे, धु्वबहादुर प्रधान लगायतका नेता कार्यकर्ता पुगेका थिए । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपाका कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ ।त्यस्तै रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ ।

‘कुनैपनि व्यक्तिको राजनीति गर्ने अधिकारको हनन भएको छ’ राणाले दायर गरेको रिटमा भनिएको छ । त्यस्तै राप्रापा प्रजातान्त्रिकले यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरिएको नेता दिपक बोहोराले बताए ।

रिटको आइतबार पेशी तोकिएको छ । दुई साताअघि पशुपति शमशेर राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनले ४० प्रतिशत केन्द्रीय सदस्य र २० जना सांसदको सनाखतसहितको आवेदन बुझाएको दाबी गरेका थिए ।

तर, कमल थापा पक्षले भने राणाले ४० प्रतिशत पुर्याउन नसकेको भन्दै आयोगमा दिएको निवेदन खारेज गर्न माग गर्दै आएको थियो । आयोगले राप्रपा राणा समूहलाई हस्ताक्षर जुटाउन भदौ ४ गतेसम्मको म्याद दिएको थियो । यसैबीच राणा पक्षले हस्ताक्षर आयोग बुझाइरहेको बेला आफ्ना पक्षका केन्द्रीय सदस्य कमल थापाले अपहरण गरेर हेटौडा लगेर बन्धक बनाएको आरोप लगाएको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार