अबको भ्रमण देउवा, भारत र माओवादी कनेक्सन

 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जान लागेका छन् तर उनी पहिलो पटक औपचारिक रुपमा भारत गएको बेला माओवादीले २०५२ फागुन १ मा जनयुद्ध थालेको थियो । भ्रमण एक महिना पहिले नै तय थियो र प्रधानमन्त्रीको भ्रमणकै बेला पारेर माओवादीले किन जनयुद्ध थाल्यो भन्ने प्रश्न उठाइने गरेको थियो ।

 

त्यसबेला जनयुद्ध गर्ने माओवादी अहिले देउवालाई प्रधानमन्त्री बनाउने मुख्य पार्टी भएको छ । माओवादीको समर्थन र आडमा अहिले देउवा प्रधानमन्त्री छन् र भदौ ७ बाट भारत भ्रमणमा जाँदैछन् ।
माओवादी जनयुद्धकालमा देउवा दोस्रो पटक प्रधानमन्त्रीका रुपमा २०५८ चैत ७ देखि ११ सम्म भारत भ्रमणमा गएका थिए । महाकाली सन्धीले गर्दा नेपाली राजनीतिमा भारत विरोधी माहौल थियो । भारत भ्रमणमा जानु अघि देउवाले माओवादीलाई आतंककारी घोषणा गरेका थिए । भारतले पनि आतंककारी घोषणा गरिदिओस् भन्ने देउवाको चाहना थियो तर भारतले आतंककारी घोषणा गरेन ।

माओवादीप्रति भारतको मौन सहयोग देखेका देउवाले माओवादी जनयुद्ध सिध्याउन पश्चिमा मुलुकहरुसँग सहयोगको हात अगाडि बढाए । अमेरिकाले सहयोग गर्यो पनि तर यसबाट भारत खुसी भएन । त्यसैले राजा ज्ञानेन्द्रले देउवालाई अक्षम भन्दै बर्खास्त गरेर सफ्ट कू गरेका थिए । देउवाले आम चुनाव गराउने भन्दै प्रतिनिधिसभा विघटन गरेर नेपाली कांग्रेस पनि फुटाएका थिए । भारतीय सहयोगमै उनले यी सबै गरेको अनुमान गरिएको थियो । तर, पछि देउवाले नै भारतले धोका दिएको भन्ने गरेका थिए । किनभने देउवाले चालेका कुनै कदम सफल भएनन्, उनी अफ्ठेरो राजनीतिक अवस्थामा फसे ।

पार्टी फुटाएपछि देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए र त्यही पार्टीको नेतृत्वमा देउवालाई ज्ञानेन्द्रले पुन प्रधानमन्त्री बनाए । २०६१ भदौ २३ देखि २७ सम्म भएको भ्रमणका क्रममा देउवाले माओवादी जनयुद्ध विरुद्ध भारतको सहयोग प्रष्टैसँग मागे ।
भारतले सहयोग दिने मौखिक वाचा गर्यो तर ठोस सहयोग भने गरेन । देउवाकै पालामा ज्ञानेन्द्रले कू गरेर प्रजातन्त्र खत्तम पारेका थिए ।

 

तेस्रो भारत भ्रमणको क्रममा देउवाको आशा अनुरुप माओवादी जनयुद्ध विरुद्ध भारतले हतियार सहयोग गरेन्, हतियार बेच्न पनि मानेन । त्यसपछि देउवाले पश्चिमा देशहरुसँग हतियार किन्ने प्रयाश गरे । खासगरी वेल्जियमसँग उनले राइफल किन्ने प्रयाश गरे । यसबाट भारत देउवासँग शशंकित भएको बताइएको थियो ।
राजाको कूपछि देउवा राजनीतिबाट लगभग किनारामा पुगे, भ्रष्टाचारको अभियोगमा थुनामा परे ।

 

जनयुद्ध कालमा देउवा र माओवादीको सम्बन्ध कहिले नजिक कहिले टाढा रह्यो ।
आतंककारी घोषणा गर्नु अघिसम्म देउवा र माओवादीको सम्बन्ध सुमधुर मानिन्थ्यो ।
कांग्रेसमा बलिया गिरिजाप्रसाद कोइराला विरुद्ध कमजोर देउवालाई जहिले पनि माओवादीले साथ दियो र साथ लियो पनि । तर, आतंककारी घोषणा र पश्चिमा देशहरुसँग नजिकिएपछि देउवा र माओवादी तथा देउवा र भारतको दूरी बढ्यो । माओवादीले देउवालाई कैलालीको सडकमा आक्रमण गरेर मार्ने प्रयाश समेत गर्यो ।

 

भारतमा भएको १२ बूँदे समझदारीमा देउवाको लगभग कुनै भूमिका रहेन । देउवा र भारतको दूरी देखिन्थ्यो । तर, पार्टी सभापति निर्वाचित हुनु अघि देउवाले भारतसँग सम्बन्ध पूरै सुधार गरे । एमालेलाई सत्ताच्यूत गरेर माओवादीसँग गठवन्धन बनाउने भारतीय डिजाइनमा देउवाले भरपूर साथ दिए । भारतमा गएर तिब्बतका निर्वासित प्रधानमन्त्रीसँग एउटै कार्यक्रममा भाषण गरे, भेट गरे । माओवादी र भारत दुवैसँग देउवाले कसिलो गठवन्धन बनाउँदै लगे । यसैको परिणामस्वरुप देउवा अहिले प्रधानमन्त्री बन्न सफल भएका छन्

अबको भ्रमण
देउवा भदौ ७ बाट भारत भ्रमणमा जाँदै छन् । विगतमा उनी भारत भ्रमणमा जाँदा नेपाल अप्ठेरो परिस्थितिमा थियो, अहिले भारत स्वयं अप्ठेरो परिस्थितिमा छ । चीनसँग दोक्लममा चलिरहेको विवादका कारण भारत समस्यामा फसेको छ र नेपालको सहयोग चाहन्छ । नेपाललाई अहिले भारतको कुनै ठोस सहयोग नभए पनि फरक नपर्ने अवस्था छ तर देउवालाई भने व्यक्तिगत रुपमा भारतको निरन्तर साथ चाहिएको छ ।

स्थानीय चुनावमा भारतले कुनै ठोस सहयोग दिएन । आसन्न केन्द्र र प्रदेशको चुनाव पनि भारतको ठोस सहयोग बिना नै हुन सक्छ तर भारतले राजनीतिक साथ दिन चाहिँ पर्छ । चुनाव गराउनै पर्ने बाध्यात्मक अवस्थामा फसेका देउवाले चुनावका लागि भारतको सहयोग अवश्य माग्नेछन् ।
जानकार स्रोतहरुका अनुसार भ्रमणको क्रममा नेपालमा रहेको भारतीय दूतावासले नेपालका विकास परियोजनाहरुमा सोझै पाँच करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौता सैद्धान्तिक रुपमा नवीकरण गर्ने प्रयाश गरिने छ । जानकारहरुका अनुसार पश्चिम नेपालका विभिन्न जिल्लामा देउवाले भने अनुसारका परियोजनामा खर्च गर्ने सर्तमा देउवाले सम्झौता नवीकरण गर्ने प्रयाश गरिरहेका छन् । तर, कर्मचारीतन्त्रबाट भने त्यो सम्झौता नवीकरण गर्न नहुने दवाब परिरहेको छ । भारतीय दूतावासले सोझै खर्च गर्न पाउने सम्झौता गत महिना सकिएको थियो ।

भ्रमणको क्रममा देउवाले नेपालको स्वतन्त्र परराष्ट्र नीति छाडेर अर्कै बाटो लिन्छन् कि भन्ने आशंका पनि गरिएको छ । किनभने दोक्लममा भारत र चीनबीच देखिएको विवादले समग्र दक्षिण एसियामा ध्रुवीकरण हुने खतरा छ । देउवाले बाटो छाड्छन् कि भनेर चीनले नेपाललाई स्वतन्त्र परराष्ट्र नीति नत्याग्न सुझाइसकेको छ । उता, भारतसँग निकै सुमधुर सम्बन्ध बनाएका देउवाले भारतीय दवाब थेग्न पनि सजिलो छैन ।

 

त्यसैले देउवाको आगामी भ्रमणमा नेपाल भारत बीच केके सम्झौता हुन्छ भन्ने विषय गौण बनेको छ र नेपालको स्वतन्त्र परराष्ट्र नीतिको अडान कसरी प्रकट हुन्छ भन्ने विषय महत्वको बनेको छ ।आठैप्रहरबाट

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार