बेलायतको चर्चित पत्रिकाले भन्यो, ‘नेपालमा हिन्दू धर्म लोप हुन लाग्यो’

काठमाडौं नेपालमा हिन्दू धर्म समस्यामा पर्दै गएको बेलायतको एक चर्चित पत्रिकाले जनाएको छ ।

बेलायतबाट प्रकाशित हुने चर्चित दैनिक पत्रिका ‘द गार्जियन’ले प्रकाशित गरेको समाचार अनुसार नेपालमा हिन्दू धर्म समस्यामा परेको र पैसाले किनेर गरिब जनतालाई इसाई बनाइएको तथ्य पेस गरेको छ । समाचार जनाईएअनुसार अधिकांश गरिव परिवाहरु हिन्दू धर्म त्यागेर पैसाको लोभमा इसाई बनिरहेका छन् ।

मकवानपुरको मनहरीबाट द गार्जियन दैनिकका पीट प्याटिसनले संप्रेषण गरेको समाचारअनुसार नेपालका गरिब जनताहरू समाजमा दलित भनेर पाखा पारिएपछि इसाई धर्ममा लागेका छन् । उनीहरुमा पैसाको लोभमा परेर धर्म परिवर्तन गर्ने चलन देखिएको र यसले गर्दा हिन्दू बाहुल्य भएको नेपाललाई अप्ठेरो परेको जनाईएको छ ।

अहिले नेपालमा दश लाखभन्दा बढी नागरिकले आफूलाई इसाई भनेर चिनाउने गरेको र तिनीहरूमध्ये पनि ६५ प्रतिशत दलित रहेको नेपाल इसाई फेडेरेशनले जनाएको छ । नेपालले आफूलाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रको रुपमा संविधानमा परिवर्तन गरेपछि अन्य धर्ममा लाग्नेको संख्या बढेको छ ।

अहिले अरु धर्मबाट इसाई धर्ममा परिवर्तन हुने देशहरूमा नेपाल अग्रस्थानमा भए पनि यो बदलाव केवल पैसाको कारण भएको पत्रिको दाबी छ । उसले भनेको छ की यो बदवाल ल्याउने कारण धार्मिक आस्था नभई पैसा हो ।

इसाई धर्म प्रचारका लागि कति पैसा खन्याइएको छ भन्ने एक उदाहरणस्वरूप द गार्जियन लेख्छ, ‘मनहरीजस्तो सानो बजारमा दुईवटा मस्जिद, पाँचवटा गुम्बा र १० वटा मन्दिर छन् भने चर्चचाहिँ ३५ वटा पुगिसकेका छन् ।’

मनहरी क्षेत्रमा चर्च बढ्नुको कारण भूकम्पपछिको सहयोगमा क्रिश्चियन मिसन धेरै सक्रिय रहनुलाई मानिएको छ । इटालिएन मानवशास्त्री डायना रिबोलीका अनुसार भूकम्पपछि चर्चको संख्या अत्यधिक बढेर गएको छ र यो क्षेत्रमा धेरैजसो चर्चका अगुवा चेपाङ जाति रहेका छन् ।

पूर्ण बहादुर प्रजा नामक एक धामीको भनाइ उद्धृत गर्दै द गार्जियन भन्छ, ‘ती लोभी हुन्, भूकम्पपछि तिनीहरूलाई चर्च बनाउन बाइबल, चामल, लुगा, कम्बल र पैसा प्राप्त भयो । चर्चका पास्टर (पुजारी) हरूले मोटरसाइकल पाए । यस्ता व्यक्ति सधैं ई–मेलमा विदेशीसँग पैसा माग्ने काम गर्छन् ।’

स्थानीय बजारमा इलेक्ट्रोनिक्स पसल थापेर बसेका एक चेपाङ पास्टर महिबल प्रजाले पूर्ण बहादुर प्रजाको कुरामा असहमति जनाए पनि उनले चर्चमा प्रार्थनाको समयमा आफैंले पैसाको कुरा प्रमाणित गरेको पत्रिकाले उल्लेख गरेको छ । महिबल प्रजाले भनेका छन्, ‘धेरै व्यक्तिले ईसाई धर्मका नाममा निकै पैसा कमाएका छन्, तर ती सच्चा ईसाई होइनन् ।’

विदेशको चर्चित पत्रिकाले नेपालको बारेमा यस्तो दाबी गरिरहँदा नेपाली अधिकारी तथा हिन्दु अधिकारको क्षेत्रमा लागेकाहरु मौन जस्तै छन् । इसाईहरुले नेपालका ग्रामिण क्षेत्र तथा सहरी क्षेत्रमा खुलेआम प्रचार प्रसार गर्दै आईरहेका छन् । नेपालको राजधानी काठमाडौंमा समेत उनीहरु खुलेरै प्रचार प्रसारमा लागेको पाईन्छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार