भारतमा ८ दिनको अवधिमा ३४ जना कृषकद्धारा आत्महत्या

काठमाडौ ,भदौ २/ भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गएको आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् ।


राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले संकलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ ।

यही अगस्त ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए ।

सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गत हप्ता मात्रै भारतको आर्थिक राजधानी मुम्बईमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए ।

प्रदर्शनकारीले आफूहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन् । महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसंख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन् । भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन् । कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ ।

जलबायु परिवर्तनका कारण गत तीन बर्षको अवधिमा भारतमा ५९ हजार भन्दा बढी जनाले आत्महत्या गरेको गत हप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनले देखाएको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार