एमाले सिध्याउने किन ?

– देवप्रकाश त्रिपाठी

नेपालभित्रै कुनै सशक्त र सङ्गठित शक्ति जीवित नरहोस्– यो अदृश्य शक्तिहरूको चाहना हो । यही चाहना परिपूर्तिको उद्देश्य र योजनाअनुरूप चालिएका कदमबाट नेपालका राष्ट्रवादी शक्तिहरूलाई ध्वंश गरिएको छ, या राष्ट्रको पक्षमा स्वस्फूर्त क्रियाशील हुन नसक्ने गरी अशक्त तुल्याइएको छ । राजनीतिक एवम् सैद्धान्तिक दृष्टिमा राजसंस्थालाई जसले जुन रूपमा बुझ्ने र व्याख्या गर्ने गरे पनि तटस्थ आँखामा त्यो अस्तित्वमा रहँदासम्म एक सशक्त राष्ट्रवादी संस्था, देशका सबैखाले मानिसको आस्थाको केन्द्र थियो भन्न सकिन्छ । अरू जेसुकै गरे पनि राजसंस्थाले देशलाई कदापि धोखा दिनेछैन भन्ने विश्वास आमनेपालीमा थियो । ०६३ को परिवर्तनपश्चात् सबभन्दा पहिले त्यही राजसंस्थालाई विस्थापित गरियो । हिन्दूराष्ट्रको विश्व पहिचानप्रतिको गौरव र ममताले हिमालदेखि तराईसम्मका बासिन्दालाई सशक्त ढङ्गले एकठाउँमा ल्याउन सक्ने सम्भावनालाई असम्भव तुल्याउन हिन्दूराष्ट्रको पहिचान मेटेर धर्मनिरपेक्षताको नाममा इसाईकरणलाई प्रोत्साहित गरियो । राष्ट्रिय राजनीतिक दलको प्रभाव र भूमिका कटौती गर्न क्षेत्रीयतावादी र जातिवादी समूहलाई अगाडि सारियो ।

राष्ट्रिय राजनीतिक दलहरू मात्र देशको सबै स्थानसम्म आफ्नो समान पहुँच र प्रभाव स्थापित गर्न सफल भए भने राष्ट्रियता सुदृढ र राष्ट्रवाद सबल बन्ने सम्भावना रहन्छ । राष्ट्रिय राजनीतिक दलहरूलाई सबै क्षेत्रमा समान प्रभाव र पहुँच स्थापित गर्न नसक्ने गरी एकातिर सङ्कुचित तुल्याइएको छ भने अर्कोतिर राष्ट्रिय पार्टीको नेतृत्वमा अदृश्य शक्तिको नियन्त्रण मजबुत बनाइएको छ ।

राष्ट्रियता र राष्ट्रवादको संरक्षण एवम् प्रवद्र्धन गर्ने अर्को महत्वपूर्ण शक्ति सेना हो, जसलाई विभिन्न ढङ्गले अप्ठ्यारोमा पारिएको छ । देशको राष्ट्रियता र राष्ट्रवादमाथि निरन्तर खतरा पैदा भइरहँदा नेपाली सेनाले यदाकदा सार्वजनिक वक्तव्य जारी गर्ने औपचारिकता पूरा गर्नेवाहेकको परिणामदायी जिम्मेवारी पूरा गर्न नसक्ने गरी सेनालाई समेत अप्ठ्यारो अवस्थामा पु¥याइएको छ । प्रहरीलगायत अन्य सुरक्षा तथा प्रशासनिक निकायको माथिल्लो दर्जाका अधिकांश अधिकारीले आफूलाई माथि उचाल्ने क्रममा नेपाली राष्ट्रियता र राष्ट्रवादको धरातल छोड्नुपर्ने बाध्यात्मक अवस्था महसुस गरेका हुन्छन् । कमै मात्र प्रशासक देशको पक्षमा अडान लिन सक्ने क्षमता र हैसियत राख्छन्, जो यस्तो हैसियत राख्छन् तिनले राष्ट्रिय महत्वका संवेदनशील एवम् दूरगामी प्रभाव पार्ने प्रकृतिका कामको जिम्मेवारी प्राप्त गर्ने सम्भावना कम रहन्छ ।

त्यसैगरी नेपाली राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढतापूर्वक उभिने जातीय समुदायलाई एक्ल्याउने, प्रहार गर्ने र तिनको सङ्गठित या असङ्गठित साखलाई गिराउने कार्य पनि हुँदै आएको छ । नेपालमा बसोवास गर्ने लिम्बू, राई, मैथिल ब्राह्मण, भूमिहार, यादव, थारू, राजवंशी, नेवार, तामाङ, गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, दलित आदि सबै नेपाली राष्ट्रियता र राष्ट्रवादका पहरेदार हुन् । तर, बाह्मण, क्षेत्री र नेवारी समुदायचाहिँ देशको सबै नगर तथा गाउँपालिकासम्म फैलिएर रहेको हुँदा तिनले नेपाली राष्ट्रियता र राष्ट्रवाद प्रवद्र्धनमा सूक्ष्म तर विशिष्ट योगदान पु¥याएको ठानिन्छ । संसारका सबै मुलुकमा बसोवास गर्ने सबै नागरिकलाई सम्बन्धित मुलुकको राष्ट्रियताका संरक्षक मानिए पनि हरेक देशभित्र निश्चित जातीय समुदायको भूमिका राष्ट्रियता र राष्ट्रवाद प्रवद्र्धनमा विशेष हुने गर्दछ ।

उत्तर छिमेकी चीनमा हान जातिको भूमिका, दक्षिणी मित्रराष्ट्र भारतमा उत्तर भारतीय (खासगरी देवनागरी लिपि प्रयोग गर्ने)हरू र हिन्दू धर्मावलम्बीहरू, अफगानिस्तानमा पस्तुनहरू, बेलायतमा प्रोटेस्टेन्टहरू, क्यानडामा ब्रिटिस मूलकाहरू तथा मलेसियामा मलायाहरूलाई सम्बन्धित मुलुकमा राष्ट्रियताको मेरुदण्ड मानिएजस्तै नेपालमा क्षेत्री, ब्राह्मण र नेवारलाई नेपाली राष्ट्रियताको मेरुदण्ड भनियो भने अन्यथा लिनुहुँदैन । गुरुङ, मगर, तामाङ, थारू, यादव, राई, लिम्बू र मधेसीभन्दा बढी राष्ट्रवादी नेवार, क्षेत्री या ब्राह्मण हुन् भन्ने अर्थमा यसलाई लिइनुहुन्न र यो सत्य पनि होइन । सबै समुदाय देशभक्त हुन्, राष्ट्रवादी र राष्ट्रियतापे्रमी हुन् । देशभरि विस्तारित भएको, सङ्ख्यात्मक दृष्टिले बढी र समग्र नेपालको पहिचानमा यिनको संस्कृतिको प्रभाव भएकोले मात्र यिनलाई नेपाली राष्ट्रियता र राष्ट्रवादको मेरुदण्ड भन्न सकिने भएको हो ।

यो संविधान आफैँमा नेपाली राष्ट्रियता र राष्ट्रवादअनुकूल भएको सिद्ध हुन बाँकी छ, जुन संविधानको निर्माण र जारी गर्नमा एमालेको पनि सर्वाधिक महत्वपूर्ण भूमिका थियो । तसर्थ यो संविधानको पक्षमा अडान लिएकै आधारमा एमालेलाई राष्ट्रियताको पक्षधर या पूर्ण राष्ट्रवादी भन्न नसकिएला, तर माओवादी र माओवादीको हितौषी बनेको काङ्ग्रेसले जे–जस्ता अवधारणा अघिसारेका छन्, त्यसलाई पनि राष्ट्रहितअनुकूल मान्न जनता तयार भएनन् ।

नेपाललाई क्षेत्री, ब्राह्मण र नेवारविहीन बनाएर देशको स्थिति कल्पना गर्दा मानसपटलमा जुन तस्बिर आउँछ, त्यसले पनि यिनलाई नेपाली राष्ट्रियताको मेरुदण्ड भन्न कर लगाउँछ । नेपालको सबैभन्दा समृद्ध र सुविधासम्पन्न जातिका रूपमा लिइने नेवार समुदायलाई समेत जनजातीय कोटिमा पार्नुको उद्देश्य क्षेत्री–ब्राह्मणलाई एक्ल्याउनु र कमजोर तुल्याउनुबाहेक अरू केही हो भन्ने तथ्य अहिलेसम्म फेला परेको छैन । नेपाली राष्ट्रियता यहाँका जातीय समुदायहरूबीचको सद्भाव र उनीहरूको एकतामा टिकेको छ । अदृश्य शक्तिहरूले सबैभन्दा ठूलो जातीय समुदायका विरुद्ध मोर्चाबन्दी गरेर नेपाललाई जगैदेखि भत्काउने कपट रचेका हुन् भन्ने तथ्यलाई बाँकी सबै नेपालीले आत्मसात् गरेका दिन देशको राष्ट्रियता र सार्वभौमिकता कमजोर पार्न भएका प्रयासहरूमा खिया लाग्ने विश्वास गर्न सकिन्छ ।

नेपालमा यतिबेला तुलनात्मक रूपले सशक्त, विस्तारित र सङ्गठित शक्तिको रूपमा नेकपा एमाले देखापरेको छ, जसले नेपाल र नेपाली राष्ट्रियताको पक्षमा आफूलाई उभ्याउन सक्ने ‘सन्त्रास’ नेपालबाहिर पैदा गरेको छ । तथापि नेकपा एमाले आफैँमा छिमेकी मित्रराष्ट्र भारतविरोधी मनोविज्ञान भएकाहरूको जमात मात्र हो या मौलिक नेपाली राष्ट्रियताको पक्षधर राष्ट्रिय शक्ति हो भन्ने खुल्न बाँकी छ । भारतको विरोध गरेकै भरमा राष्ट्रवादी हुन पाइने लाभ उठाउँदै अरू कसैको सेवामा उक्त दल लागेको होइन भन्ने तथ्य पुष्टि हुन पनि बाँकी नै छ । एमालेलाई पनि नेपालको मौलिक धर्म, संस्कृति र परम्पराको रक्षक भूमिका निर्वाह गर्ने समूहका रूपमा बुझ्न या आत्मसात् गर्न सकिँदैन । देशको सार्वभौमिकता विभाजन र हिन्दूराष्ट्रको मौलिक पहिचान मेटी इसाईकरण प्रोत्साहित हुने संविधान निर्माणमा एमाले नेतृत्वको ‘योगदान’ रहेकै हो । एमालेमा समूहवादी चिन्तनको मात्रा शतप्रतिशतको हाराहारीमा भएको महसुस गरिन्छ । एमालेबाहेकलाई दोस्रो दर्जाको ठान्ने सामन्ती र अधिनायकवादी मनोविज्ञानबाट एमाले मुक्त हुन खोजिरहेको छैन । पश्चिमा मुलुक र तिनको प्रायोजनमा सञ्चालित गैरसरकारी संस्थाहरूको पकड एमालेको कार्यकर्तादेखि नेतृत्व तहसम्म अविच्छिन्न ढङ्गले कायम भएको देखिन्छ । गैरसरकारी संस्था र एमाले एक–अर्काको पर्याय बनिरहेको विद्यमान स्थितिमा एमालेलाई कति राष्ट्रवादी वा राष्ट्रियता पक्षधर मान्नुपर्ने हो भन्ने प्रश्न जोडदार ढङ्गले उठ्न सक्ने स्थिति छ ।

त्यस्तै, एमाले नेतृत्वले दुई छिमेकीमध्ये एउटा (उत्तर)लाई मात्र महत्व दिएको ठानिन्छ, यसरी दुईमध्ये एउटा छिमेकीलाई विशेष प्राथमिकता दिनु या दिएको देखाउनु देशको हितमा हुने हो कि होइन भन्ने प्रश्न विचारणीय छ । प्रथम प्रधानमन्त्री भीमसेन थापाले दक्षिण चिढ्याउँदै उत्तरतर्फ ढल्किनुको परिणाम सुगौली सन्धि (सन् १८१५)को रूपमा नेपालले भोगिसकेको छ । राजाहरू वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मले जुन नियति व्यहोर्नुप¥यो त्यसको मुख्य कारण उत्तरतर्फ ढल्कनु हो कि होइन भन्ने प्रश्नमा विचार गर्नु वाञ्छनीय हुन्छ । श्री ३ महाराज जंगबहादुर राणा, वीरशमशेर या चन्द्रशमशेरले मात्र होइन स्वयम् श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले पनि दक्षिणतर्फको विश्वास र एकस्तरको समझदारी कायम राखेर नेपालको अस्तित्व, एकता र सार्वभौमिकताको रक्षा गरेका हुन् । कहिले पूरै दक्षिणमुखी हुने र आफ्नो स्वार्थमा धक्का पुगेपछि पूराका पूरा उत्तरमुखी व्यवहार गर्ने नीतिले नेपाली राष्ट्रियताको रक्षा र राष्ट्रवादको जगेर्ना गर्न सक्दैन ।

देशभन्दा आफ्नो दललाई ज्यादा महत्व दिन्छ भन्ने ‘इमेज’ बनाएको नेकपा एमालेले संविधान संशोधनका विषयमा लिएको अडानले भने उसलाई राष्ट्रवादी र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन सक्ने शक्तिका रूपमा देशव्यापी बनाएको छ । वास्तवमा यो संविधान आफैँमा नेपाली राष्ट्रियता र राष्ट्रवादअनुकूल भएको सिद्ध हुन बाँकी छ, जुन संविधानको निर्माण र जारी गर्नमा एमालेको पनि सर्वाधिक महत्वपूर्ण भूमिका थियो । तसर्थ यो संविधानको पक्षमा अडान लिएकै आधारमा एमालेलाई राष्ट्रियताको पक्षधर या पूर्ण राष्ट्रवादी भन्न नसकिएला, तर माओवादी र माओवादीको हितौषी बनेको काङ्ग्रेसले जे–जस्ता अवधारणा अघिसारेका छन्, त्यसलाई पनि राष्ट्रहितअनुकूल मान्न जनता तयार भएनन् । प्रदेशहरूको सीमा हेरफेर, भाषा, नागरिकता र स्थानीय निकायको अधिकारलगायतका विषयमा माओवादी र काङ्ग्रेसले बनाएको दृष्टिकोणभन्दा एमालेले लिएको अडानले बहुसङ्ख्यक जनताको ध्यानाकर्षण गरेको छ । माओवादी र काङ्ग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पार्टीको नीति र निर्णयबारे दुई नम्बरबाहेक अन्य ६ प्रदेशमा उभिएर व्याख्या–विश्लेषण गर्ने स्थिति छैन, एमाले दुई नम्बर प्रदेशमै पुगेर पनि आफ्ना धारणा स्पष्ट राख्ने र जनतालाई विश्वासमा लिने हिम्मत गर्दैछ । ६ वटा प्रदेशमा भएको स्थानीय निर्वाचन परिणामले जनमत एमालेतिर ढल्किएको पुष्टि गरिसकेको छ । एमाले राष्ट्रवादी र काङ्गे्रस–माओवादीसहितको बाँकी शक्तिचाहिँ गैरराष्ट्रवादी भन्ने सन्देश जुन प्रवाहित भइरहेको छ, यही स्थिति रहे प्रदेश र सङ्घीय भनिने संसद्को आगामी निर्वाचन परिणामले एमालेको उचाइ थप बढाउने देखिन्छ ।

देशको एउटा सशक्त सङ्गठित शक्तिको रूपमा रहेको एमाले पनि ध्वस्त भयो भने नेपाली राष्ट्रियता थप सङ्कटमा पर्न सक्छ भनेर जसले आशङ्का गरेका छन्, त्यस्तो आशङ्कालाई पूरै गलत भन्ने स्थिति पनि यतिबेला रहेन । एमाले समाप्त हुँदैमा देश सकिने त होइन–थिएन, तर देशका सबै सङ्गठित र स्वचालित शक्तिहरू नास गर्दै जाने नियोजित अभियानकै क्रममा एमाले सिध्याउने प्रयास भएको हो भने एमालेको रक्षा गर्नु आमनेपालीको कर्तव्य स्वाभाविक रूपले नै हुने भयो ।

सङ्गठन, कार्यकर्ता र समर्थकहरूको जमात नेपाली काङ्ग्रेस र माओवादीसँग पनि छ । तर, कुवाको पानीजस्तै स्थिर काङ्ग्रेसलाई खहरेझैँ उर्लिएको माओवादीले आफ्नो रङ दिएर धमिलो बनाइसकेको छ । आफ्ना मौलिक एजेन्डा परित्याग गरेर सतहमा आएको काङ्ग्रेसले प्रजातन्त्र र राष्ट्रियताको पक्षमा अडान राख्न सक्छ भन्ने विश्वास करिब गुमाइसकेको छ । प्रचण्ड नेतृत्वको माओवादी त नेपाल र नेपाली राष्ट्रियतालाई जगैदेखि ध्वस्त गर्न तयार पारिएको शक्तिका रूपमा स्थापित भइसकेकै छ । २ नम्बर प्रदेशलाई केन्द्र बनाएर राजनीति गर्दै आएका केही समूहलाई बाँकी ६ प्रदेशमा सकारात्मक रूपमा हेरिँदैन भन्ने पनि गत निर्वाचन परिणामबाट पुष्टि भएकै विषय हो । वर्तमानमा काङ्ग्रेस, राजपा र माओवादीभन्दा पृथक् भूमिकामा देखिँदा एमाले ठ्याक्कै राष्ट्रवादीझैँ देखिन पुगेको छ । र, राष्ट्रवादीजस्तै देखिएका कारण एमालेलाई एक्ल्याउने, उसका विरुद्धको मोर्चाबन्दी बलियो बनाउने र नेपाली राजनीतिमा एमालेको प्रभाव र हैसियत दुर्बल तुल्याउने योजनाबद्ध प्रयास अहिले भइरहेका छन् । स्थानीय निर्वाचनमा माओवादी र काङ्ग्रेसबीच मोर्चाबन्दीको राज पनि यही नै हो । कदाचित प्रदेश र सङ्घीय भनिने संसद्को निर्वाचन भएमा (हुने सम्भावना कम छ) माओवादी, काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)बीच घोषित–अघोषित चुनावी गठबन्धन हुने प्रबल सम्भावना छ । एमालेलाई हरेक मोर्चामा परास्त गर्ने, उसलाई राज्यसत्तामा कुनै ‘स्पेस’ नदिने, सकेसम्म विभाजित गरिदिने र सत्ताभन्दा बाहिर निरन्तर राखेर सुकाउने र सिध्याउने रणनीतिक योजना भएको बुझिन्छ ।

दलीय व्यवस्थामा कुनै एउटा दल पराजित हुने या पराजित गराइने कुरा धेरै महत्वको नहुन सक्छ । एमाले कमजोर या समाप्त हुने कुरा पनि त्यति महत्वपूर्ण नहोला, महत्वपूर्ण त आज एमालेले लिएजत्तिको मात्र सशक्त र सङ्गठित शक्ति त्यसबेला कुनचाहिँ हुन सक्छ भन्ने हो । देशका सबै सशक्त सङ्घ, संस्था र एजेन्डा ध्वस्त हुँदै जाँदा एमाले नाममा एउटा बेग्लै प्रकारको सशक्त शक्ति अहिलेसम्म ‘जीवित’ रहन सकेको छ । एमाले सकिँदा राष्ट्रियता र राष्ट्रवाद सुदृढ हुन्छ कि एमाले बलियो रहँदा भन्ने प्रश्नको जवाफ आमनेपालीले खोज्नुपर्ने हुन्छ, जवाफ खोज्न थालिएको पनि छ । एमाले बलियो हुँदा देशको राष्ट्रियता र राष्ट्रिय एकता सुदृढ हुन सक्छ भन्ने तथ्य पुष्टि हुन बाँकी भए पनि माओवादी र माओवादीको हितैषि बनेको काङ्ग्रेसले नेपाली राष्ट्रियता र राष्ट्रवादको संरक्षण एवम् प्रवद्र्धन गर्ने विश्वास ह्रास हुँदै गएको छ । एमाले जोगाउँदा देश जोगिने–नजोगिने स्पष्ट नभए पनि देश जोगिँदा एमाले जोगिनेचाहिँ निश्चित छ । तथापि देशको एउटा सशक्त सङ्गठित शक्तिको रूपमा रहेको एमाले पनि ध्वस्त भयो भने नेपाली राष्ट्रियता थप सङ्कटमा पर्न सक्छ भनेर जसले आशङ्का गरेका छन्, त्यस्तो आशङ्कालाई पूरै गलत भन्ने स्थिति पनि यतिबेला रहेन । एमाले समाप्त हुँदैमा देश सकिने त होइन–थिएन, तर देशका सबै सङ्गठित र स्वचालित शक्तिहरू नास गर्दै जाने नियोजित अभियानकै क्रममा एमाले सिध्याउने प्रयास भएको हो भने एमालेको रक्षा गर्नु आमनेपालीको कर्तव्य स्वाभाविक रूपले नै हुने भयो । दलीय स्वार्थभन्दा माथि उठेर देशलाई हेर्दा देखिने शाश्वत तस्बिर पनि यही नै हो ।

बिहिबार, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार