loading...

मच्छेनारायण र यसको महत्व, यहाँ दर्शन गर्नाले पापबाट मुक्ति पाइने
  • पाथिभारा न्युज संबाददाता

    Saturday January 7, 2017 मा प्रकाशित


  • आनन्द अमृत, काठमाडौं । काठमाडौँको मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा मेला लागेको छ । भगवान विष्णुको प्रथम अवतारका रुपमा भगवान मच्छेनारायणको विशेष पूजाआजा गर्ने प्रचलन छ । यहाँ दर्शन गर्नाले मनोकांक्षा पुरा हुनुको साथै आफूबाट जानीनजानी भएको पाप नाश भई मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । मलमासमा मच्छेनारायणको दर्शन गर्नाले अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्ति हुने जनविश्वास रहि आएको छ ।

    मच्छेनारायण भगवानका सम्बन्धमा विभिन्न पौराणिक धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । भगवान विष्णुका दस अवतारमध्ये पहिलो अवतार मच्छेअवतार मानिन्छ  ।  प्राचीन किंवदन्तीअनुसार वेदका सृष्टिकर्ता ब्रह्मा निदाएका अवस्थामा हयग्रीव दानवले वेद चोरेर लगेका हुनाले वेदलाई फिर्ता ल्याउनका लागि भगवान् विष्णुले माछाको रूप लिएका हुन् भन्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

    श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार राजा सत्यव्रत समुन्द्रको किनारमा नित्यकर्म गर्दै थिए । त्यसका लागि पानी उठाउँदा उनको अँजुलीमा सुनौलो माछा आइपु¥यो । त्यस माछालाई समुद्रमा छोड्न लाग्दा उसले मलाई म भन्दा ठूलो माछाले खान्छन् मलाई कोहीले नखाने एक्लो ठाउँमा राखिदेउ भन्यो । सो माछालाई राजाले कमण्डलुमा राखे ।

    तर, त्यो माछा रातभरि कमण्डलुमा नअट्ने भयो । त्यसपश्चात माछालाई कुवामा राखियो । कुवामा पनि साँघुरो भएपछि पोखरीमा राखियो, त्यहाँ पनि साँघुरो भएपछि समुद्रमा फ्याक्न लाग्दा पुनः उसले म भन्दा ठूलो माछाले खान्छन् कोहीले नखाने ठाउँमा राखिदेउ भनेपछि राजालाई सो माछा सामान्य प्राणी नभएको शंका भयो ।

    राजाले ‘तपाईं साधारण प्राणी होइन, कृपया मलाई आफ्नो पूरा परिचय दिनुहोस्’ भनेपछि माछा विष्णु भगवानका रूपमा प्रकट भए । त्यसपछि आफू हयग्रीवको सम्हारका लागि जान लागेको विष्णुले बताएका र विष्णुरूपी माछा त्यही मच्छेनारायण मन्दिरको पोखरीमा रहेको जनविश्वास अहिले पनि कायमै छ । त्रेतायुगमा कुवा उत्खनन गर्दा सुनको माछा पाइएको र सो ठाउँमा मच्छेनारायणको मन्दिर स्थापना गरिएको प्राचीन कालदेखि जनजिब्रोमा चलिआएको छ ।

    मत्स्यनारायण मन्दिरको दैनिक पूजाआजाका लागि गुठी संस्थानले पूजाको व्यवस्थापनका लागि पुजारीको व्यवस्था तथा सरसफाइमा सहयोग पु¥याउँदै आएको छ । मन्दिरमा विगत तीन चार पुस्तादेखि आचार्यथरका पुजारीले पूजा गर्दै आउनु भएकोमा हाल सुदामा आचार्यले मन्दिरमा नियमित पूजाआजा गर्दै आएका छन् ।

    भगवान् विष्णुको प्रथम अवतारका रूपमा भगवान मच्छेनारायणको विशेष पूजाआजा हुने मच्छेनारायणमा प्रत्येक मलमास अवधिभर विशेष मेला (पुरुषोत्तम मास मेला) लाग्ने प्रचलन छ । मलमासमा भगवान् विष्णु (नारायण) को पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुने कुुरा धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

    मच्छेनारायण क्षेत्र विकास कोषका अनुसार मच्छेनारायण मन्दिर रहेको परिसर १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिर परिसरमा लगभग ५० रोपनी क्षेत्रफलको गुठी जग्गा रहेको छ । प्राचीन इँटा र प्रस्तरकलाको प्रयोग गरेर बनाइएकाले मन्दिरभित्र एक वर्ग मिटर चौडा ठाउँको बीचमा मत्स्यनारायणको मूर्ति रहेको छ ।

    नेपाल पञ्चांग निर्णायक समितिका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन चारघडीपछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । तीन वर्षमा यहि चन्द्रमास अन्तर्गतको बढी दिनलाई मलमास भनिन्छ । यो जेठ तथा असार एक महिनासम्म पर्न सक्छ । यस्तो बेलामा भगवान विष्णुको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुने  धर्मग्रन्थमा उल्लेख गरिएको छ । मेलाको सुरुवातदेखि नै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट मेलामा सहभागी भई मच्छेनारायणको दर्शन गर्ने प्रचलन रहि आएको छ ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार