Loading...

मलेसियाको विकल्प बन्दै कतार
  • पाथिभारा न्युज संबाददाता

    Thursday January 5, 2017 मा प्रकाशित


  • काठमाडौं । मलेसिया विगत ५ वर्षदेखि नेपालीलाई रोजगार दिने प्रमुख रोजगार गन्तव्य मुलुकको पहिलो सूचीमा रहे पनि हाल आएर नेपालले मलेसियाको श्रम बजार गुमाइरहेको छ ।

    गत वर्षदेखि नेपाली कामदार जाने पहिलो सूचीमा रहेको मलेसियालाई कतारले पछाडि परिसेकोे तथ्यांक आएको छ । यो वर्षमा मलेसिया जाने नेपाली कामदारको संख्यामा भारी गिरावट आएको छ ।

    विगत सात आर्थिक वर्षमा ८५ प्रतिशत नेपाली कामदारलाई रोजगारी दिएर सबैभन्दा आकर्षक गन्तव्यमा मलेसिया रहँदै आएको थियो । सो अवधिमा २७ लाख २३ हजार ५८७ कामदारले विदेश जान वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएका छन् ।

    यीमध्ये ३३.३ प्रतिशत रोजगारीका लागि मलेसिया गएका थिए । त्यसपछि १९ प्रतिशत कतार, १८.९ प्रतिशत साउदी अरेबिया, ९.८ प्रतिशत युनाइटेड अरब इमिरेट्स, २.५ प्रतिशत कुवेत, ०.९ प्रतिशत बहराइन र ०.६ प्रतिशत ओमानका लागि थिए ।

    यसरी नै सन् २००९ देखि २०१२ सम्म धेरै नेपाली वैदेशिक रोजगारीका लागि जाने दोस्रो मुलुकमा साउदी रहे पनि २०१३ देखि कतार पहिलो स्थानमा आएको देखिन्छ ।

    मेनपावर व्यवसायीको प्रयासले मलेसिया नेपालमा लागि प्रमुख रोजगार गन्तव्य बनिरहेको भए पनि सरकारले फ्रि भिसा र टिकटको अवधारणा ल्याएपछि मलेसियाको श्रम बजार घट्दै गइरहेको व्यवसायीको भनाइ छ ।

    देशगत रूपमा विश्लेषण गर्दा मलेसिया जाने अधिकांश अर्थात ९२.९ प्रतिशत कामदारहरू मेनपावर कम्पनीको माध्यमबाट जाने गरेको पाइएको छ भने ४.७ प्रतिशत आफन्त÷साथीभाइको माध्यमबाट र २.४ प्रतिशत अन्य माध्यमबाट जाने गरेको देखिन्छ ।

    त्यसैगरी खाडी राष्ट्र जानेमध्ये ७८ प्रतिशत मेनपावर कम्पनीको माध्यमबाट, १६.५ प्रतिशत आफन्त÷साथीभाइको माध्यमबाट र ५.५ प्रतिशत अन्य माध्यमबाट जाने गरेका छन् ।

    तर जापान, सिंगापुरलगायत विकसित राष्ट्र जानको लागि भने मेनपावर कम्पनी, आफन्त साथीभाइभन्दा अन्य माध्यम प्रयोग हुने गरेको पाइन्छ । कोरिया, भारत तथा अन्य मुलुकमा जानको लागि भने आफन्त तथा साथीभाइलाई प्रमुख माध्यम बनाइएको देखिन्छ ।

    कामदारको शिक्षामा गन्तव्य निर्भर
    खासगरी वैदेशिक रोजगारीमा गएको व्यक्तिको शिक्षाको स्तरले रोजगारीमा जाने माध्यमलाई असर पार्ने गरेको देखिन्छ । रोजगारीमा जाने व्यक्ति शिक्षित भएमा उनीहरूले रोजगारीमा जाने प्रमुख माध्यम मेनपावर कम्पनी नै बनाउने गरेको देखिन्छ ।

    शिक्षित व्यक्तिहरू मध्ये ८३.६ प्रतिशत मेनपावर कम्पनीको माध्यमबाट, १७ प्रतिशत आफन्त÷साथीभाइको माध्यमबाट र ९.३ प्रतिशत अन्य माध्यमबाट जाने गरेका छन् । रोजगारीमा गएका अशिक्षित व्यक्तिमध्ये ५५.६ प्रतिशतमात्र मेनपावर कम्पनीको माध्यमबाट गएका छन् भने उनीहरू रोजगारीमा जानको लागि आफन्त÷साथीभाइको माध्यमबाट प्रयोग नगरी अन्य माध्यमबाट गएको देखिन्छ ।

    सरकारले देशगत रूपमा वैदेशिक रोजगारीमा जानको लागि लाग्ने खर्च निर्धारण गरेको भए पनि रोजगारीमा जाने कामदारहरूबाट मेनपावर कम्पनीहरूले धेरै रकम असुल्ने गरेको तथ्य अध्ययनले समेत देखाएको छ । घरपरिवारबाट प्राप्त जानकारीलाई हेर्दा सरकारले तोकेको दरभन्दा मेनपावर कम्पनीले असुल्ने दर करिब दुई गुणा बढी रहेको देखिन्छ ।

    मलेसिया जानको लागि प्रतिकामदार औसत १ लाख ४६ हजार लाग्ने गरेको छ भने खाडी राष्ट्र जानको लागि १ लाख १६ हजार तथा कोरियाको लागि १ लाख ४४ हजार खर्च लाग्ने गरेको देखिन्छ । अमेरिका, बेलायत, जापान, सिंगापुरलगायत विकसित राष्ट्रमा जान मेनपावर कम्पनीभन्दा आफन्त÷साथीभाइ तथा अन्य माध्यम प्रयोग गर्ने गरेको देखिन्छ ।

    रोजगारीमा जाने व्यक्तिले उक्त देशहरूमा जानको लागि निकै ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ । विकसित मुलुकमा जानको लागि प्रतिकामदार औसत १३ लाख २३ हजार खर्च गर्ने गरेका छन् ।

    सामान्यतया मलेसिया, खाडी मुलुकहरूको तुलनामा आम्दानी उच्च हुने, सामाजिक सुरक्षा राम्रो हुने, ती मुलुकमा जानलाई सामाजिक प्रतिष्ठासँग जोड्ने तथा लामो समय बिताउँदै जाँदा स्थायी बसोबासको अनुमतिसमेत पाउने हुँदा मानिसहरूले ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ ।

    रोजगारीमा जाँदा लाग्ने खर्च र वार्षिक आम्दानीको अनुपात हेर्दा भारत जाने कामदारको सबैभन्दा कम अर्थात् ३९ प्रतिशत र विकसित राष्ट्रमा जानेको सबैभन्दा बढी अर्थात् शतप्रतिशत रहेको छ ।

    मेनपावरले प्रवद्र्धन गरेको रोजगार
    वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराई धेरै कामदार पठाउने भन्दा पनि दक्ष कामदार विदेश पठाउने नीति अघि बढाउनुपर्ने बताउँछिन् ।

    मेनपावरको माध्यमबाट कामको सिलसिलामा विदेश जानेमध्ये ८२.६ प्रतिशतले मेनपावर कम्पनीसँग गरेको सम्झौताअनुरूप नै काम पाउने गरेको छन् भने १७.६ प्रतिशतले सम्झौताअनुरूप काम÷तलब तथा अन्य सुविधा नपाएको पाइएको छ ।

    पुरानो रोजगारीको अनुभव हुने ८३.७ प्रतिशतले सम्झौताअनुरूप नै काम पाउने गरेका छन् भने अनुभव नहुनेमा उक्त प्रतिशत ८०.७ प्रतिशत छ । त्यसैगरी, रोजगारीमा जानुअघि तालिम लिनेहरूमा ८८.७ प्रतिशतले सम्झौताअनुरूप र तालिम नलिई जानेहरूमा ७८.२ प्रतिशतले मात्र सम्झौता अनुरूप काम पाएका छन् ।

    एसएलसीभन्दा माथिल्लो स्तरको शैक्षिक स्तर हासिल गरी रोजगारी गएका कामदारमध्ये ९०.१ प्रतिशतले, साधारण लेखपढ तथा एसएलसी भन्दा तल्लो स्तरको शैक्षिक स्तर भएका ८२.६ प्रतिशतले तथा लेखपढ गर्न नसक्ने ६० प्रतिशतले मात्र सम्झौताअनुरूप काम पाउने गरेको पाइएको छ ।

    रोजगारीमा गएका कामदारले सम्झौताअनुरूप काम पाउने वा नपाउने भन्ने कामदारको शैक्षिक स्थिति तथा काममा जानुअघिको तालिमले असर पार्ने गरेको पाइए पनि कामदारको वैदेशिक रोजगारको पुरानो अनुभव, गन्तव्य मुलुक, लिंग तथा उमेरले खासै असर पारेको पाइएको छ ।

    सरकारले नयाँ रोजगार गन्तव्यको खोजी गर्ने भन्दा पनि विदेश जाने नेपालीको संख्या र रेमिट्यान्समात्र आँकलन गरिरहेको छ । सरकारले हालसम्म ५ वटा मुलुकसँगमात्र श्रमसम्झौता गरेको छ । सरकारले हाल १०७ मुलुकमा नेपाली कामदारका लागि रोजगार खुला गरेको भएको पनि कोरिया, यूएई, कतार, बहराइन र जापानसँग मात्र श्रमसम्झौता गरेको छ ।

    वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले पछिल्लो समय मलेसिया सरकारले नेपालसँग श्रम सम्झौता गर्न इच्छा देखाएको बताए ।

    खाडी मुलुक, मलेसिया, कोरियालगायत अन्य प्रमुख गन्तव्य मुलुकमा वैदेशिक रोजगारीको बजार प्रवद्र्धन गर्ने विषयमा नेपाल सरकारको कमजोरीका कारण नेपालीले रोजगार गुमाउँदै गएका छन् ।

    अन्य देशका सरकार प्रमुखले आफ्ना कामदार जाने मुलुकमा बर्सेनि उच्चस्तरीय भ्रमण गरेर नागरिकका लागि रोजगार प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भए पनि नेपाल सरकारले भने त्यसो गरेको देखिँदैन । नेपालका प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, कतार, साउदी अरब, यूएई, कुबेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफनानिस्तान, जापान, मकाउ आदि हुन् ।

    सरकारले बिनातयारी आफूखुशी निर्णय गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशिने नेपाली युवाको संख्या १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव अर्थात् २०७२÷७३ मा ४ लाख १८ हजार ७ सय १३ युवा रोजगारीका लागि विदेशिएका छन् ।

    यस अवधिमा ३ लाख ९९ हजार ४ सय ६ पुरुष र १९ हजार ३ सय ७ महिला विदेशिएका छन् । आव २०७१/७२ मा ५ लाख १२ हजार ६ सय ८७ युवा विदेशिएका थिए । आव २०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४, आव २०६९/७० मा ४ लाख ५३ हजार ४ सय ५३, २०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ कामदार गएका थिए ।

    यस अवधिमा म्यानपावर एजेन्सी वा ‘संस्थागत’ तर्फबाट ३ लाख ८१ हजार ९ सय ४१ गएका छन् । बाँकी कामदार व्यक्तिगत श्रमस्वीकृतिमा विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार