loading...

माओवादीमा जन्मियो नयाँ विवादः प्रचण्ड भन्छन्– मलाई होइन, केपी ओलीलाई अध्यक्ष मान्नेहरु पार्टीमा छन्
  • पाथिभारा न्युज संबाददाता

    Thursday January 5, 2017 मा प्रकाशित


  • प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगी भूमिकामा प्रस्तुत भएको भन्दै पार्टीका केही नेतासँग रुष्ट भएका छन् ।

    उनले एमालेसँग मिलेर आफू, सरकार र पार्टीलाई नै हानी पु¥याउने काममा ती नेता सक्रिय भएको आरोप लगाएका छन् । खास गरी सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन दिएको आदेश पालना गर्ने सिलसिलामा पार्टीकै नेता एमालेको सहयोगी देखिएको निस्कर्ष बालुवाटारको छ ।

    आगलागी प्रभावित तेह्रथुमको संक्रान्ति बजारको निरीक्षण भ्रमण र राहत प्याकेजका लागि गएका बेला एमालेको सप्ठेरोका लागि ती नेताले संसद बैठक लामो अवधिका लागि स्थगन गर्न सभामुखलाई दबाब दिएको उनको गुनासो छ ।

    भएको के थियो ?
    मंगलबारको संसद बैठकअघि सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठडक बोलाएकी थिइन् ।
    कार्यव्यवस्थामा संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक सदस्य हुन्छन् । जटिल विषय संसदमा प्रवेश गर्दैछ भने त्यस्तो अवस्थामा सभामुखले कार्यव्यवस्थामा आवश्यकताअनुसार प्रमुखसहित अन्य नेता समेत बोलाउन सक्ने व्यवस्था छ । तर, मंगलबारको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल सहभागी भए ।

    नेम्वाङले आगामी बैठकमा संशोधन विधेयक अगाडि बढ्न दिने भन्दै केही दिनका लागि स्थगन गरिदिन सभामुख ओनसरी घर्तीलाई आग्रह गरे । नेम्वाङलाई माओवादी केन्द्रका पोखरेलले साथ दिए । माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेतले पोखरेलको कुरा काट्न सकेनन् । कारण बस्नेतभन्दा पोखरेल वरिष्ठ हुन् । प्रमुख दुई दलको सहमति भएको बुझेर बाँकी दलका सचेतकले समेत सहमति जनाए । दलहरुको सहमति भएको बुझेर सभामुखले संसद बैठक आगामी २४ पुससम्मका लागि सूचना टाँसेर स्थगन गरिदिइन् ।

    नारायणकाजीमाथि आरोप
    प्रचण्डले बुधबार पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बालुवाटार बोलाएर भेटे । भेटमा प्रचण्डले आफू राजधानीबाहिर भएका बेला सरसल्लाहबिनै लामो समय संसद रोक्न अनुमति किन दिएको भन्दै प्रश्न गरेको बालुवाटार स्रोतले बतायो । श्रेष्ठसँग प्रचण्ड निकै आक्रामक मुढमा प्रस्तुत भएका थिए । गिरिराजमणि पोखरेल श्रेष्ठ निकट नेता हुन् । केपी ओली नेतृत्वमा सरकारको निरन्तरताका पक्षमा रहेका पोखरेलले प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सरकारलाई खुलेर सहयोग नगरेको आरोप बालुवाटारले लगाउँदै आएको छ । पोखरेल ओली सरकारमा शिक्षामन्त्री थिए ।

    ‘म काठमाण्डुमा नभएका बेला किन र कसरी एकपटक सल्लाहसमेत नगरी यति लामो समयसम्म संसद बैठक रोक्न अनुमति दिनुभयो ?’, प्रचण्डले श्रेष्ठलाई भनेका थिए, ‘एमालेलाई सहयोग पुग्ने गरी र सरकारलाई असहयोग हुने गरी भइरहेको साथीहरुको व्यवहारले मलाई दुःख लागेको छ ।’

    यस्तो थियो श्रेष्ठको जवाफ
    जवाफमा श्रेष्ठले संविधान कार्यान्यवनका लागि दलहरुबीच सहमति जरुरी रहेकाले सहमतिको वातावरण निर्माणकै लागि आफूले त्यस्तो भूमिका खेलेको प्रष्टीकरण दिएका थिए । एमाले बिना संविधान संशोधन वा तीन तहको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा नहुने भएकाले एमालेलाई ठाढा जान नदिई विश्वासमा लिएर अघि बढ्नुपर्ने तर्क उनको थियो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउन, निर्वाचन कानून पास गरी निर्वाचनको वातावरण बनाउन तथा संसदमा जारी अतिरोधलाई सहमति निर्माणको अवसरका रुपमा उपयोग गर्न संसद बैठक स्थगन गर्न सभामुखलाई आग्रह गरेको जवाफ उनले दिए ।

    प्रचण्डको निस्कर्षः हिसाब बिग्रियो
    प्रचण्ड भने नारयाण्काजीको तर्कमा सहमत छैनन् । निकटस्थहरुसँग दोश्रो संविधानसभा निर्वाचनयता एमालेलाई कर्नरमा पार्ने सबैभन्दा बलियो अवसर गुमेको बताउने गरेका छन् । प्रचण्डको बुझाइमा अदालतको फैसलापछि एमालेले संसदमा अवरोध गर्न मिल्थेन । ‘एमालेले संशोधन विधेयक राष्ट्रघाती भएकाले संसदमा पेस हुनै सक्दैन’ भन्ने एमालेको जिकिर गलत थियो भन्ने सावित गर्नबाट चुकेको उनको भनाइ छ ।

    संसदमा प्रक्रिया अघि बढाउन दलहरुबीच सहमति नचाहिने भएकाले बैठक स्थगन गर्नु गलत भएको ठहर प्रचण्डको छ । ‘हामीले बैठक स्थगित गरे पनि एमालेले संशोधन प्रस्तावमा समर्थन गर्ने होइन, अदालतले नै बाटो क्लियर गरिसकेपछि प्रक्रिया अघि बढाउन किन चाहियो एमालेको सहमति ? हाम्रै साथीहरुले कुरा नबुझेर हो वा एमालेको सहयोगमा काम गरेको हो, बुझ्न सकिएन ।’

    एमालेको सडक आन्दोलन बेर्थ बनाउन सकिन्थ्यो
    प्रचण्डले एमालेले २२ पुसमा राजधानीमा गर्ने भनिएको प्रदर्शनलाई बेकम्मा बनाउन सकिने अवसर संसद रोकेर गुमेको पनि बताउने गरेका छन् । ‘संसदमा प्रक्रिया अघि बढेको भए उनले भन्दैमा सडकमा जनता त के कार्यकर्ता समेत आउने थिएनन्, तर, हाम्रै साथीहरुले एमालेलाई प्रदर्शन गर्ने अवसर मिलाइदिए’, प्रचण्डले भेटका लागि जाने विश्वासपात्रहरुलाई भन्ने गरेका छन् ।

    उनले पार्टीको एउटा पक्षले पेरिसडाँडालाई भन्दा बालकोट (केपी ओली निवास) लाई हेर्डक्वार्टर र आफूलाई भन्दा ओलीलाई अध्यक्ष मान्न थालेको गुनासो गर्ने गरेका छन् । एमालेले देशव्यापी रुपमा आफ्नो पार्टीविरुद्ध घोषित अभियान चलाइरहेका बेला केही नेताको भने बालकोटसँग अश्वाभाविक सम्बन्ध बढ्नुलाई प्रचण्डले शंकाको दृष्टिले हेरेको उनीनिकट स्रोतले बतायो

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार