loading...

पुस २२ गते डेढ लाख जनता सडकमा उतार्छौः एमाले सचिव भट्टराई
  • पाथिभारा न्युज संबाददाता

    Sunday December 25, 2016 मा प्रकाशित


  • १० पुस । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) सहितका नौ दलले पुस २२ गते राजधानीमा भव्य विरोध प्रदर्शन गर्ने भएका छन् । ती दलले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितविरुद्ध रहेको भन्दै विरोध सभा गर्ने तयारी गरेको हो । यसअघि, पुस १७ गते विरोध सभा गर्ने भनिए पनि अंगे्रजी नयाँ वर्ष परेको हुँदा २२ गतेलाई सारिएको हो ।पुस २२ गते डेढ लाख जनता सडकमा उतार्छौः एमाले सचिव भट्टराई

    त्यसका लागि एमालेले आफ्नो मातहतमा रहेका सबै जनवर्गीय संगठनलाई क्रियाशील बनाउने भएको छ । पुस २२ गते राजधानीको भृकुटी मण्डपमा वृहत् प्रदर्शनी गर्ने तयारीका लागि एमालेले आइतबार पार्टी मुख्यालयमा सबै जनवर्गीय संगठनका प्रचार विभागसँग छलफल समेत गरेको छ । २२ गतेको प्रदर्शनलाई कसरी भव्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

    छलफलमा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले २२ गते डेढ लाखभन्दा बढी जनतालाई उतार्ने तयारी भएको जानकारी दिए । ‘राजधानीमा मात्र एमालेका ५० हजार संगठित सदस्य रहेका छन्,’ उनले भने, ‘सबैले कम्तीमा ३–३ जना ल्याउँदा पनि डेढ लाख पुग्छन् ।’
    उनले संगठित सदस्यलाई त्यस दिन अनिवार्य रुपमा उपस्थित हुन पनि निर्देशन दिएका छन् । ‘हामीले कम्तीमा एक जना सदस्यले २० जनालाई संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भएको भन्दै त्यसको विरुद्धमा उत्रिन एसएमएस पठाउने तयारी गरेका छौँ,’ भट्टराईले भने, ‘यसरी हेर्दा हामीले कम्तीमा १० लाखलाई एसएमएस गर्नेछौँ ।’

    २२ गतेको प्रदर्शनलाई भव्य बनाउन पुस २१ गते मोटरसाइकल ¥याली गर्ने पनि एमालेले तयारी गरेको छ । त्यसको संयोजन अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेशागत महासंघ र सम्पर्क विशेष कमिटीले गर्ने एमालेले जानकारी दिएको छ । त्यो दिन कम्तीमा १० हजार मोटरसाइकल सहभागी हुने भट्टराईले जानकारी दिए ।

    ‘सिठ्ठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने, पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै शहरमा माइकिङ गर्ने पनि तयारी भएको छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रिय झण्डासहित जुलुस

    २२ गतेको प्रदर्शनलाई भव्य बनाउन पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने तयारी पनि एमालेले गरेको छ । त्यसको संयोजन काठमाडौँ जिल्ला कमिटीले गर्ने जनाइएको छ ।  त्यसैगरी पुस २२ गतेका लागि जिंगल बनाउने र यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्ने एमालेले जानकारी दिएको छ ।

    सहर परिक्रमापछि सभा

    एमालेले पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई शहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुने जानकारी दिएको छ । सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने पनि एमालेले जानकारी दिएको छ ।

    २२ गतेको प्रदर्शनपछि प्रचण्डले प्रस्ताव फिर्ता लिन्छन्

    भट्टराई २२ गतेको  प्रदर्शनपछि प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव फिर्ता लिने दाबी गरे ।  ‘२२ गतेको प्रदर्शनपछि प्रचण्डले संसद्मा खतरा छ भनेर प्रचण्डले संशोधन प्रस्ताव फिर्ता लिनेछन्,’ भट्टराईले भने ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार