loading...

पाथीभरामा ४० क्विन्टल सिक्का थन्कियो, पैसा सटही समस्य
  • पाथिभारा न्युज संबाददाता

    Saturday December 24, 2016 मा प्रकाशित


  •  

    ताप्लेजुङ, ९ पुस ।श्रद्धालु भक्तजनले चढाएको ४० क्विन्टलभन्दा बढी सिक्का (पैसा) पाथीभरा क्षेत्रमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले सहज रूपले सटही नगरेका कारण सिक्का थन्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    दिनदिनै थपिने ठूलो परिमाणको सिक्का सदरमुकाममा थन्क्याउने ठाउँ नभएपछि पाथीभरा क्षेत्रमै राखिएको छ । सटही हुने निश्चित नभएकाले सदरमुकाम ल्याइएको छैन । पाथीभरामा भक्तजनले भाकल बुझाउन भन्दै पाथीले, मानाले भरेर सिक्का चढाउने गरेका छन् । पाथीभराका पुजारीका अनुसार यस्ता भक्तजन छैनन् जसले सिक्का पैसा चढाउँदैनन् । राष्ट्र बैंकले भने कम्पनीले पैसा सफा गरेर बुझाउनुपर्ने प्रस्ताव गरेको छ । भगवान्को नाममा भुइँमा फालिने सिक्कामा फोहोर लाग्छ ।

    राष्ट्र बैंकले त्यसलाई सरफ पानी र रिठ्ठाको धूलो मिलाएर सफा गरेर सुकाउनुपर्ने र सुकेपछि धानको ढुटो लगाएर फेरि सफा गरी मात्रै बुझाउनुपर्ने प्रस्ताव गरेको छ । बैंकका तत्कालीन पूर्वाञ्चल क्षेत्रीय व्यवस्थापक दीपकबहादुर थापाले डेढ वर्षअघि सफा नगरेको सिक्का लिन नसकिने प्रस्ट्याएका थिए । राष्ट्र बैंकको शाखा नभएको ताप्लेजुङमा नेपाल बैंक लिमिटेडबाट पैसा साट्नुपर्छ । बैंकले हालसम्म पनि थापाको त्यही कुरालाई दोहोर्‍याएको छ ।  थापाले पाथीभरा सम्बद्ध संस्था/समितिका पदाधिकारीलाई नेपाल बैंक लिमिटेडमा भेला गराएरै सुझाएका थिए ।

     

    तर क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराई यी सबै गर्दा साटेर लाभ नहुने बताउँछन् । ‘बैंकबाट बाहिर निस्किएको पैसामा फोहोर लाग्छ । त्यसलाई व्यवस्थापन गर्ने र सटही गरिदिने जिम्मा बैंकको हो,’ उनले भने, ‘हाम्रो दाबी, जस्तो अवस्थामा पैसा संकलन गरिएको छ त्यस्तै लगिदिनुपर्छ ।’

    गतवर्ष ७ लाख रुपैयाँ सटही गर्दा ५ लाख बढी खर्च भएको समितिले जनाएको छ । भट्टराईका अनुसार पाथीभराबाट मान्छेले बोकेर भालुगौंडेसम्म ल्याउनुपर्छ । ३७ सय मिटरबाट एकजनाले ३५ किलोभन्दा बढी बोक्न सक्दैनन् । सिक्का पैसा बोक्न असजिलो हुन्छ । सदरमुकाममा गोदाम व्यवस्थापन, सफा गर्ने कच्चा पदार्थ, जनशक्ति जस्ता कुराले पैसा टल्काउन धेरै खर्च हुन्छ ।

    बैंकले भने धोएर सफा बनाएपछि तौलका आधारमा हिसाब गर्ने गरेको छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनी रहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ ।

    भिज्न र माटोमा पर्न नदिई राखे नबिग्रने बैंकको दाबी छ । तर तीर्थालुले चढाएकामा त्यो सम्भव छैन । ४० क्विन्टलमा खोट लागेको छुट्याउँदा १० लाख रुपैयाँको हाराहारीमा हुने बैंकका अधिकारीको अनुमान छ । सबैभन्दा बढी १ का सिक्का छन् ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार